भारोत्तोलन खेलबाट राष्ट्रलाई सर्वाधिक पदक दिलाउन सफल भारोत्तोलनका पूर्वप्रशिक्षक, नेपाल भारोत्तोलन संघका पूर्वउपाध्यक्ष ओलम्पियन सुनीललाल जोशीको स्मृतिमा आयोजना हुन लागेको ‘दोस्रो नेपाल्स स्ट्रंगेस्ट २०१८’ सुनीललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगिता असोज १७ र १८ गते बुधबार र बिहीबार हुने भएको छ ।
आफ्ना आदरणीय गुरु सुनीललाल जोशीको सम्झनामा नेपाल भारोत्तोलन संघको तत्वावधान तथा काठमाडौं जिल्ला भारोत्तोलन संघको आयोजनामा पुरुष तथा महिला सिनियर तथा जुनियर प्रतियोगिता गर्न लागिएको काठमाडांै जिल्ला भारोत्तोलन संघका अध्यक्ष विजेन्द्रविक्रम शाहले पत्रकार सम्मेलनमा जानकारी गराए । यो प्रतियोगिताले खेलाडीहरूमा खेलप्रति अभिरुचि वृद्धि गर्नुका साथै भारोत्तोलन खेलको विकास र विस्तारमा टेवा पुग्ने अध्यक्ष शाहले बताए ।
अग्नि ब्याङ्क्वेट, कुमारीपाटी, ललितपुरमा हुने प्रतियोगितामा पुरुष सिनियर तथा जुनियरतर्फ ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र १०५ केजीमाथि ८ तौल समूह र महिला सिनियर र जुनियरतर्फ ४८, ५३, ५८, ६३, ६९, ७५ र ७५ केजीमाथि ७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । उक्त प्रतिस्पर्धामा ३ विभागीय टोली नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी तथा जिल्लाका गरी करिब १०० जना खेलाडीले कुल ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ र एसियन भारोत्तोलन महासंघको नियमानुसार खेलाइने प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, सिनियर महिला तथा पुरुष दुवैतर्फ सबैभन्दा बढी भार बहन गर्ने खेलाडीलाई दोस्रो बलशाली महिला तथा पुरुष २०१८ उपाधिका साथै प्रमाण पत्र, ट्रफी र नगद प्रदान गरिनेछ ।
त्यस्तै, सिनियर तथा जुनियर महिला तथा पुरुष दुवैतर्फ उत्कृष्ट भारोत्तोलकलाई उत्कृष्ट भारोत्तोलक उपाधिका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी सिनियरतर्फ राष्ट्रिय कीर्तिमान कायम गर्ने पुरष र महिला खेलाडीलाई नगद तथा प्रमाणपत्र तथा जुनियरतर्फ उदीयमान महिला तथा पुरुष खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष शाहले जानकारी गराएका छन् । जुनियरतर्फ २० वर्षमुनिका खेलाडीहरूले सहभागिता जनाउनेछन् ।
जिल्लाबाट प्रतियोगितामा सहभागी हुन आउने खेलाडीलाई खाने तथा बस्ने व्यवस्था बाबा गेस्टहाउस, कलंकीमा आयोजकले व्यवस्था गरेकोसमेत अध्यक्ष शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया