भक्तपुरको बिरुवामा दिउँसै चोरी

भक्तपुरको बिरुवामा दिउँसै चोरी


भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवामा हिजो (बुधबार) दिउँसै चोरी भएको छ । स्थानीय राजेन्द्रप्रसाद घिमिरेको घरमा दिउँसो ११ देखि १२ बजेको बीचमा चोरी भएको हो ।

चोरले घरको मूल ढोका फोरेर ७० हजार नगदका साथै १० तोला सुन लगेको थियो । घरमा कोही नभएको समयमा परिचित व्यक्तिबाटै सो चोरी भएको आशंका घरधनीको छ । घिमिरे अफिस गएका, छोरा कलेज गएका र घरमा रहेका महिला पनि सानो बच्चालाई लिएर स्थानीय स्वास्थ्य चौकीमा खोप लगाउन ११ बजे निस्किएर १२ बजे घर फर्कंदा चोरी भइसकेको बताइएको छ ।

निर्माणाधीन रहेको सो घरमा उनीहरू तल्लो तलामा रहने गरेका थिए भने माथिल्लो तला निर्माण भइरहेको छ । घरका सबै सदस्यको निगरानी राखेरै चोरी गरिएको आशंकाका आधारमा चोरी गर्ने व्यक्ति चिनजानकै हुनुपर्ने घरधनीको ठहर छ ।

घटनाको सम्बन्धमा महानगरीय प्रहरी प्रभाग सिरुटार र महानगरीय प्रहरी ठिमीले अनुसन्धान गरिरहेका छन् ।

चाडपर्व नजिकिएसँगै चोरी हुनुले स्थानीय त्रासमा रहेका छन् । राति मात्र होइन दिउँसो पनि प्रहरीको सक्रियता बढाउनुपर्ने स्थानीयले माग गरेका छन् भने प्रहरीले पनि स्थानीयलाई घरमा आफू बाहिर जाँदा झ्याल ढोका राम्रोसँग लगाउन, आफू घर नर्फिउन्जेल छिमेकीलाई हेरविचार गरिदिन भन्दै आफू पनि सजग रहन आग्रह गरेको छ ।