चेस ओलम्पियाडमा नेपालको पहिलो जित

चेस ओलम्पियाडमा नेपालको पहिलो जित


नेपालको पुरुष टोलीले ४३औँ चेस ओलम्पियाडमा पहिलो जित निकालेको छ । जर्जियामा जारी प्रतियोगिताअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले नेदरल्यान्ड एन्टिलाइजलाई २.५–१.५ ले पराजित गरेको हो । जितसँगै नेपालले दुई अंक बनाएको छ । नेपाल पहिलो चरणमा क्यानडासँग ३–१ ले पराजित भएको थियो ।

नेपालका सीएम रिजेन्द्रराज भण्डारीले दोस्रो चरणमा सीएम जीमी लेजाक र विवेक थिङले आर क्यापेलालाई हराए । नेपाल च्याम्पियन मदनकृष्ण कायस्थले बेगलेमन भानसँग बराबरी खेले भने हिमाल लामा बिम ब्लिजास्टासँग पराजित भए । पुरुष टोलीले तेस्रो चरणमा सिंगापुरसँग खेल्नेछ ।

यसैगरी महिलातर्फ नेपाल दोस्रो चरणमा कोस्टारिकासँग ४–० ले पराजित भएको छ । नेपाल च्याम्पियन मोनालिसा खम्बु सुशीला गुरुङ, सिन्दिरा जोशी र सुजना लोहनी चारैजना हार खेप्न बाध्य भए । शून्य अंकमा सीमित नेपाली महिला टोलीले पहिलो चरणमा लात्भियासँग ४–० कै हार खेपेको थियो । तेस्रो चरणमा नेपाली महिला टोलीले गाम्बियासँग प्रतिस्पर्धा गर्नेछ । असोज १९ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा नेपालबाट १० खेलाडीले भाग लिएका छन् ।