केभसिटी मिडिया प्रा.लि.द्वारा आयोजित ‘प्रथम केभसिटी मिडिया कप भलिबल प्रतियोगिता २०७५’ को तयारी पूरा भएको छ । यही साता शुक्रबार र शनिबार पोखरामा हुने उक्त प्रतियोगिताको आवश्यक तयारी पूरा भएको कार्यक्रमका संयोजक विजन अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा दर्जनभन्दा बढी टिमको सहभागिता रहनेछ । नेपालमा पहिलोपटक मिडियाकर्मीबीच हुन लागेको उक्त प्रतियोगिता स्वास्थ्य र सद्भावका लागि आयोजना गरिएको प्रबन्ध निर्देशक भीम थापाले बताए । उनका अनुसार प्रतियोगिताले खस्कँदो भलिबलको स्तरोन्नति र मिडियाकर्मीबीच थप आत्मीयताको विकास गर्नेछ ।
प्रतियोगिताको विजेतालाई नगद ३५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रा.लि.का अध्यक्ष दुर्गाप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार उपविजेतालाई नगद २२ हजार २ सय २२ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगिताको बेस्ट प्लेयरलाई नगद ३ हजार ३ सय ३३, बेस्ट स्काइकर, बेस्ट लिफ्टर, बेस्ट सर्भर, बेस्ट क्विकरलाई नगद १ हजार १ सय ११ तथा अनुशासित टिमलाई नगद २ हजार ५ सय प्रदान गरिनेछ ।
सहभागी टिमहरूलाई प्रोत्साहन तथा सम्मानस्वरूप प्रमाणपत्र प्रदान गरिनेछ । राष्ट्रिय माविको खेलमैदान पुरानो टुँडिखेलमा हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थापाले बताए ।
प्रतियोगिता पोखरा महानगरपालिका तथा अमेरिमा बस्दै आएका कृष्ण सुनारको विशेष सहयोग, पोखरा महानगरपालिका वडा नं. १६ र १९ को सहयोग, जिल्ला भलिबल संघ कास्की, भलिबल ट्रेनिङ सेन्टर कास्की र राष्ट्रिय माविको प्राविधिक सहयोगमा सम्पन्न गरिने बताइएको छ ।
प्रतिक्रिया