एडीबीद्वारा नेपालका लागि तेह्र अर्ब ऋण स्वीकृत

एडीबीद्वारा नेपालका लागि तेह्र अर्ब ऋण स्वीकृत


एसियाली विकास बैंक (एडीबी)ले समुदायद्वारा व्यवस्थित नेपालका २० वटा शहरी क्षेत्रका नगरपालिकामा व्यवस्थित पानी आपूर्ति तथा सरसफाइमा पहुँच सुधार गर्न १३ अर्ब रुपैयाँभन्दा बढी ऋण स्वीकृत गरेको छ ।

बैंकको प्रधान कार्यालय मनिलामा आज सम्पन्न बैंक कार्यकारी समितिको बैठकले उक्त रकम ऋणस्वरूप उपलब्ध गराउन स्वीकृति जनाइएको हो । बितेका १८ वर्षमा एडीबीले ७० वटा साना शहरमा समुदायद्वारा व्यवस्थित पानी आपूर्ति तथा सरसफाइ आयोजना सफलतापूर्वक सम्पन्न गर्दै आएको छ ।

उक्त ऋणस्वरूप सञ्चालन हुने नयाँ परियोजनाअन्तर्गत देशका २० वटा शहरी क्षेत्रमा एक हजार ६ सय मिटर पाइपलाइन बिछ्याउने, १५ वटा जल प्रशोधन केन्द्र निर्माणमा सहयोग गर्नुका साथै आठ हजार सार्वजनिक शौचालय निर्माण गरिनेछ । त्यसैगरी, दुईवटा ढल निकास र ३० किलोमिटर लामो ढल निकासको नाला पनि निर्माण गरिनेछ ।