माधव नेपालद्वारा सरकारको कडा आलोचना

माधव नेपालद्वारा सरकारको कडा आलोचना


पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुकेको बताएका छन् ।

सत्ता पक्ष दलको प्रमुखको हैसियतले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जनता भ्रष्टाचारमुक्त प्रशासन चाहन्थे, तर सात महिनामा जनतालाई सुशासनको अनुभूति हुन नसकेको बताए ।

उनले विकास निर्माणमा ठेकेदारले गुणस्तरहीन काम गरेको तथा जनताको जनजीविकासँग जोडिएको गाँस, बास कपास, शिक्षा, स्वास्थ्य र सुरक्षामा सन्तोषजनक उपलब्धि प्राप्त हुन नसकेको बताए ।

चालू दोस्रो अधिवेशनको ७९औँ बैठकलाई सम्बोधन गर्दै नेता नेपालले ‘विकास निर्माणमा आबद्ध ठेकेदार बेपत्ता हुनु, कालोसूचीमा परेका भ्रष्टहरू पुरस्कृत हुनु र महिला हिंसा बढ्दै जानु’ सरकारप्रतिको जनविश्वास गुम्दै गएको बताए ।

संसदका बैठकमा सांसदहरूले सरकारको कामकारबाहीप्रति गरेका ध्यानाकर्षणका विषय सफलतापूर्वक कार्यान्वयन हुन नसक्नुले पनि सरकारप्रति जनताको नकारात्मक प्रभाव बढ्दै गएको उनको गुनासो थियो । उनले केही विकासविरोधीले विमानस्थल, जलविद्युत परियोजना र सडक निर्माण गर्न अवरोध पुऱ्याएको आरोप लगाए ।