चियाको कपमार्फत ‘तुफान’ ल्याउने माधवको तयारी

चियाको कपमार्फत ‘तुफान’ ल्याउने माधवको तयारी


नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आज स्थायी समितिको भेला डाकेका छन् । पार्टीका दुवै अध्यक्ष देशबाहिर रहेको अवस्थामा आज दिउँसो तीन बजेका लागि उनले सो भेला डाकेका हुन् ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अहिले संयुक्त राष्ट्रसंघको ७३औँ मशासभामा भाग लिन अमेरिकामा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल श्रीमती सीता दाहालको उपचारका लागि सिंगापुरमा छन् ।

एजेण्डा केही नबताइएको सो भेलालाई उनले ‘चियापान’को नाम दिएका छन् । पार्टीका स्थायी समितिका सदस्यलाई निमन्त्रणा दिँदा उनले चियापानका लागि भनेका छन् ।

नेकपाको बलियो सरकार गठन भएको सात महिना पुगिसक्दा पनि सरकारका कामप्रति असन्तुष्ट देखिएका नेपालले बिहीबार संसदमा सरकार सवैयाप्रति आक्रोश पोखेका थिए । भेलाको मुख्य उद्देश्य सरकारका कामकारबाहीको समीक्षाको अनुमान गरिए पनि असोज ५ गते भएको प्रदेश इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवको चयनप्रतिको मुख्य आक्रोश रहेको बुझिएको छ ।

वरिष्ठ नेता नेपाल देशबाहिर रहेका बेला अध्यक्षद्वय ओली र प्रचण्डले आफूखुसी ती पदहरूमा आफ्ना मान्छे चयन गरेको आरोप नेपाल पक्षको छ । माधव नेपाल अफ्रिकाको घानामा रहेका बेला असोज ५ गते अध्यक्षद्वयले ती पदहरूमा विभिन्न व्यक्तिलाई चयन गरेका थिए । नेपाल अफ्रिका जाने बेलामा उनी देश फर्किएपछि मात्र ती पदहरूमा सबै पक्षको सहमतिमा चयन गरिने आश्वासन ओली–प्रचण्डले नेपाललाई दिएका थिए । तर, उनी स्वदेश नफर्किँदै ती पदहरूमा आफूअनुकूलका व्यक्ति चयनको नेपाल पक्षको आरोप छ ।

दुवै अध्यक्ष देशबाहिर जाँदा पनि कसैलाई कार्यबाहकको जिम्मेवारी नदिइएको यो अवस्थामा वरिष्ठ नेता नेपालले डाकेको यो ‘चियापान’लाई राजनीतिक क्षेत्रमा अर्थपूर्ण रूपले हेरिएको छ ।