भारतीय पेट्रोलियममन्त्री धर्मेन्द्र नेपालमा

भारतीय पेट्रोलियममन्त्री धर्मेन्द्र नेपालमा


कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द्र प्रधानबीच आज भएको भेटवार्तामा दुईदेशीय पाइपलाइन विस्तारको प्रगतिका विषयमा छलफल भएको छ ।

कार्यबाहक प्रधानमन्त्री पोखरेलको सिंहदरबारस्थित रक्षा मन्त्रालयको कार्यालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तार कार्यलाई तीव्रता दिन भारत सरकार तयार रहेको र केही प्राविधिक विषय टुंगो लगाएर काम अघि बढाइने मन्त्री प्रधानले अवगत गराए ।

सो विषयमा दुई सरकारबीच सहसचिवस्तरीय बैठक बसी प्राविधिक विषयमा टुंगो लाग्नेछ । कार्यबाहक प्रधानमन्त्री पोखरेलले पाइपलाइन विस्तारका क्षेत्रमा रहेका रुख कटानका विषयमा पनि छलफल भएको जानकारी दिए ।

यसैगरी उनीहरूबीच भारत सरकारको सहयोगमा बन्ने हेटौँडा पोलिटेक्निक इन्स्टिच्युटको निर्माण चाँडो पूरा गर्ने विषयमा पनि छलफल भएको थियो । मन्त्री प्रधान आजै नेपाल आएका हुन् ।