बलात्कारीलाई फाँसीको सजाय दिन सरकारसँग माग

बलात्कारीलाई फाँसीको सजाय दिन सरकारसँग माग


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेतृले नै बलात्कारजस्ता जघन्य अपराधका घटनाका पीडकलाई फाँसीको सजाय दिने व्यवस्था गर्न गृहमन्त्री रामबहादुर थापासँग माग गरेका छन् ।

गृहमन्त्री थापासँग सामूहिक भेट गरी उनीहरूले महिला तथा बालबालिकामाथि हुने हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिन आवश्यक कदम पनि चाल्न माग गरे ।

शुक्रबार बिहान उनीहरूले पीडितलाई न्याय र पीडकलाई फाँसीको सजाय दिने व्यवस्था गर्न माग गर्दै गृह मन्त्रालय पुगेर गृहमन्त्री थापालाई ध्यानाकर्षणपत्र पनि बुझाए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ तथा प्रदेश ३ की सांसद अष्टलक्ष्मी शाक्यले महिला तथा बालिकामाथि हुने गरेका हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी ठोस कदम चाल्न गृहमन्त्री थापालाई ध्यानाकर्षणपत्र बुझाएको बताइन् । सो अवसरमा शाक्यले सरकारले महिलामाथि हुने जघन्य अपराधका घटना नियन्त्रण गर्न नसकेकोले आफैँ लज्जित हुने अवस्था आएको गुनासो पनि गरिन् ।

महिला नेतृहरूसँग गृहमन्त्री थापाले महिला र बालबालिकामाथि यस्ता प्रकारका घटना हुन नदिन सरकार जिम्मेवार ढंगले लागिपरेको बताए । महिला तथा बालिकामाथि हुने हत्या, बलात्कारलगायतका ९० प्रतिशत घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिएको र निर्मला पन्तलगायतका घटनाका दोषीलाई पनि छिट्टै कानुनी कठघरामा उभ्याउने आश्वासन सो अवसरमा गृहमन्त्री थापाले दिए ।