संघीयता सफल हुने गरी काम गर्नुस् : मुख्यमन्त्री राई

संघीयता सफल हुने गरी काम गर्नुस् : मुख्यमन्त्री राई


प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय तहमा निर्वाचित पदाधिकारीको काँधमा संघीयताको सफल कार्यान्वयन गर्दै जनतालाई समृद्धिको बाटोतर्फ अघि लैजाने महत्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् ।

मुख्यमन्त्री राईले गाउँपालिका महासंघ नेपालको प्रदेश १ को इटहरीमा आज आयोजित प्रथम अधिवेशनको उद्घाटन गर्दै संघीयता सफल तुल्याउने जिम्मेवारीलाई ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री राईले संघीय, प्रादेशिक सरकारदेखि स्थानीय तहसम्म धेरै ऐन–कानुन एवं विधिविधान बनाउन बाँकी रहेको विषयतर्फ सचेत गराउँदै मौजुदा उपलब्धिलाई अधिकतम सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गरे । प्रदेश सामाजिक विकासमन्त्री जीवन घिमिरेले जननिर्वाचित प्रतिनिधिबाट हुने लापरबाही वा कमजोरी गम्भीर हुने भएकाले सकेसम्म त्रुटि नहोस् भनेर जनताकै माझमा बसेर काम गर्ने बानीको विकास गर्नसमेत गाउँपालिका महासंघका पदाधिकारीलाई आग्रह गरे ।

गाउँपालिका महासंघ नेपाल प्रदेश १ का संयोजक तारानाथ काफ्लेको अध्यक्षतामा भएको अधिवेशन समारोहमा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी, नेकपाका प्रदेश इन्चार्ज देवराज घिमिरे, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीलगायतले बोलेका थिए । अधिवेशनमा प्रदेश १ अन्तर्गत १४ जिल्लाका ८८ स्थानीय तहका निर्वाचित प्रमुख तथा उपप्रमुखको सहभागिता छ । अधिवेशनले गाउँपालिका महासंघ प्रदेश १ को नयाँ कार्यसमितिको चयन गर्ने कार्यक्रम छ ।