घोराहीमा २७ करोडको लागतमा सभागृह निर्माण गरिँदै

घोराहीमा २७ करोडको लागतमा सभागृह निर्माण गरिँदै


सरकारले शहरी विकास भवन निर्माण विभाग डिभिजन कार्यालयमार्फत घोराहीमा बहुउद्देश्यीय सभागृह निर्माण गर्न थालेको छ । घोराही– १४ नयाँ बजारमा रु. २६ करोड ७७ लाखको लागतमा सो सभागृह निर्माण गर्न लागिएको हो ।

सभागृह निर्माणको संयोजन उद्योग वाणिज्य संघ दाङले गरिरहेको छ । हालसम्म सो सभागृहको ३० प्रतिशत काम सकिएको उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले जानकारी दिए । सभागृह निर्माण बंगलामुखी गौरी, पार्वती जेभी ललितपुरले गरिरहेको छ । हजार व्यक्ति अटाउने सो भवन तीन तलाको हुनेछ ।

सभागृह निर्माणका लागि उद्योग वाणिज्य संघले ०६९ सालको महोत्वसबाट रु. ५१ लाख तथा ०७२ सालको महोत्सवबाट रु. २५ लाख संकलन गरेको थियो । सभागृह निर्माण ३० महिनामा सक्ने सम्झौता भएको थियो । उन्नाइस कट्ठा १७ धुरमा फैलिएको उक्त सभागृहको शिल्यान्यास ०६९ सालमा गरिएको हो । सभागृह निर्माणको सम्झौता ०७४ असार ३० गते भएको हो । सभागृह नहुँदा ठूला कार्यक्रम आयोजना गर्न जिल्लाबाहिर जानुपर्ने बाध्यता छ ।