देश टुक्य्राउन खोज्नेलाई कारबाही गरिने गृहमन्त्रीको दाबी

देश टुक्य्राउन खोज्नेलाई कारबाही गरिने गृहमन्त्रीको दाबी


गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश टुक्य्राउन खोज्ने राष्ट्रघातीलाई सरकारले कारबाही गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज (आइतबार) सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले दण्डित गर्ने बताए । गृहमन्त्री थापाले वर्तमान सरकार मुलुकको स्वाधीनताको रक्षाको पक्षमा रहेकाले शान्तिसुरक्षा खल्बल्याउने एवं अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारबाही गर्ने बताए । गृहमन्त्री थापाले नेपाली जनताले दिएको जनादेशअनुसार सरकारले जनताको आर्थिक समृद्धिका लागि काम गरिरहेको र विगत ६ महिनामा मुलुकमा शान्तिसुरक्षाको अवस्था सुदृढ भएको बताए ।

मन्त्री थापाले विगतमा देशमा हुने गरेका बम विस्फोटन, बन्द–हडताललगायत जस्ता कार्य नियन्त्रणमा आएको दाबी गर्दै वर्तमान सरकारले जनतालाई शान्तिसुरक्षाको अनुभूति दिएको धारणा व्यक्त गरे । उनले निर्मला पन्त हत्यासम्बन्धी गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेकाले घटनामा संलग्न दोषी चाँडै कारबाहीको प्रक्रियामा ल्याइने बताए । पन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन मन्त्रिपरिषदमा छलफलपछि सार्वजनिक गरिने बताए ।

गृहमन्त्री थापाले वर्तमान सरकारले राम्रो काम गरिरहेकाले पराजित तथा विगतका षड्यन्त्रकारीले अत्तालिएर सरकारलाई विभिन्न किसिमले घेराबन्दी गर्ने काम गरिरहेको धारणा व्यक्त गरे । उनले मुलुकमा अस्थिरता चाहनेले सरकारले राम्रो काम गर्दासमेत सरकार गिराउनेसम्मको षड्यन्त्र गरिरहेको आरोप लगाए । गृहमन्त्री थापा केही दिनअघि हत्या गरिएका सुनसरीको हरिनगरका शिक्षक खुर्सिद आलम अन्सारीका परिवारलाई समवेदना प्रकट गर्न आज विराटनगर आएका हुन् ।