योजना कार्यान्वयन साझा सहमतिका आधारमा गरिने

योजना कार्यान्वयन साझा सहमतिका आधारमा गरिने


प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा सञ्चालन हुने पाँचवर्षे आवधिक योजनालाई अब साझा सहमतिका आधारमा गुरुयोजना तर्जुमा गरी स्थानीय तहमा क्रमशः कार्यान्वयन गर्दै लैजाने नीति रहेको बताएका छन् ।

मुख्यमन्त्री पौडेलले प्रदेश ३ को नीति तथा योजना आयोगद्वारा आज हेटौँडामा आयोजित प्रदेशको आवधिक विकास आयोजनाको आधारपत्र तर्जुमासम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन गर्दै विगतमा राष्ट्रिय योजना आयोगबाट निर्देशित योजनालाई अब सुधार गरी प्रदेशस्तरबाटै जनभावनाअनुरूप कार्यान्वयन गर्नेतर्फ नीति तथा योजना आयोगको ध्यान जानुपर्ने बताए ।

आवधिक योजनालाई जनप्रतिनिधिको सुझावअनुरूप छनोट गरी जनताको घरदैलोमा पुऱ्याउन व्यावहारिक र दक्ष जनशक्ति उपलब्ध गराउँदै प्रदेश सरकारले बृहत् योजनालाई बंैकिङको रूपमा राख्नुपर्ने र आवश्यकताअनुसार कार्यान्वयन गर्दै लैजान उनले सुझाव दिए ।

सो अवसरमा प्रदेश ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले प्रदेशमा अब वैज्ञानिक सोच–चिन्तनद्वारा आवधिक योजनाको समीक्षा गरी तत्काल दिगो व्यवस्थापन गर्न सकिने राष्ट्रिय गौरवको आयोजनालाई सन्तुलित ढंगबाट परिचालन गर्न र आवश्यक नीति, योजना र अनुगमनमा प्रदेश सरकारले निरन्तरता दिनुपर्ने सुझाव दिए । सोमबारसम्म चल्ने सो कार्याशाला गोष्ठीमा प्रदेश ३ का मन्त्रीहरू, विभिन्न मन्त्रालयका सचिव, नीति तथा योजना आयोगका पदाधिकारी, योजनाविद्, मकवानपुरबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलगायतको सहभागिता प्रदेश नीति आयोगका सदस्य श्यामकुमार बस्नेतले जानकारी दिए ।