पशुपतिमा निःशुल्क ‘लकर’ र सफा टेम्पो सेवा

पशुपतिमा निःशुल्क ‘लकर’ र सफा टेम्पो सेवा


पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा बहुमूल्य सामान लिएर जाने दर्शनार्थीले सुरक्षित रूपमा राख्ने ‘लकर’ को सेवा पाउने भएका छन् ।

पशुपति क्षेत्र विकास कोषले माछापुच्छ«े बैंकसँगको सहकार्यमा आजदेखि ‘लकर’ सेवा शुरु गरेको हो । सेवाको शुरु गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले मन्दिर दर्शन गर्न आउने भक्तजनलाई दिनभर यही क्षेत्रमा घुम्न सक्ने गरी आकर्षित बनाइनुपर्ने बताए । ‘मन्दिर क्षेत्रमा पर्याप्त मात्रामा उद्यान, सरसफाइको व्यवस्था हुनुपर्छ, स्मार्ट शौचालय बनाइनुपर्छ, पशुपति क्षेत्रको मौलिक स्वरूप नबिग्रने गरी पुनर्निर्माण हुनुपर्छ,’ मन्त्री अधिकारीले भने ।

यो सेवाको शुरुवात भएसँगै अब दर्शनार्थीले मन्दिरभित्र प्रवेश गर्दा गरगहना, मोबाइल, नगदलगायत बहुमूल्य सामग्री हराउने डरबाट मुक्ति पाउनेछन् । यो सेवा उपयोग गरेबापत भक्तजनले कुनै पनि शुल्क तिर्नु नपर्ने कोषले जनाएको छ । यो सेवा शुरु भएसँगै भक्तजनले अब मोबाइल, झोला, क्यामेराजस्ता मन्दिर क्षेत्रभित्र निषेध गरिएका सामान लिएर जान पाउने छैनन् ।

सेवा शुरु गर्न बैंकले ५१० लकर उपलब्ध गराएको छ । बैंकका अध्यक्ष रोशन केसीले कोषका सदस्यसचिव डा. प्रदीप ढकाललाई लकरको साँचो हस्तान्तरण गरे । लकर सेवा भुवनेश्वरी मन्दिरअघिको बरुणधारामा राखिएको छ । जुत्ताचप्पल राख्ने स्थल पनि यहीँ बनाइने कोषले जनाएको छ ।

विद्युतीय टेम्पो सेवा

पशुपतिको मूल मन्दिर क्षेत्रमा सवारीसाधन निषेध गरेपछि अशक्त, वृद्धवृद्धालाई दर्शन गर्न जान समस्या भएकाले आजैदेखि दुईवटा विद्युतीय टेम्पो पनि सञ्चालनमा ल्याइएको छ । लक्ष्मी बैंकसँगको सहकार्यमा यो सेवा शुरु गरिएको कोषका सदस्यसचिव डा. ढकालले जानकारी दिए ।

अशक्त, अपांगता भएका व्यक्ति र वृद्धवृद्धाले निःशुल्क विद्युतीय टेम्पोको सेवा लिन सक्नेछन् । सफा टेम्पो सेवा चार शिवालयबाट दक्षिणढोकासम्म सञ्चालन गरिने कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले बताए । सफा टेम्पो लक्ष्मी बैंकका पूर्वअध्यक्ष राजेन्द्र खेतान र प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले संयुक्त रूपमा कोषलाई हस्तान्तरण गरेका थिए ।

मूल मन्दिर क्षेत्रमा भूकम्पले भत्किई पुनर्निर्माण सम्पन्न भएको कुलानन्द झा सत्तल, शंकराचार्य मन्दिर र घ्याम्पेपाटीको पनि आजै मन्त्री अधिकारीले शुभारम्भ गरे । भूकम्पले पशुपति क्षेत्रका ९५ सम्पदा पूर्ण रूपमा क्षति भएका थिए । क्षति भएकामध्ये हालसम्म १८ सम्पदा बनिसकेको छ भने २६ वटाको पुनर्निर्माण जारी रहेको कोषले जनाएको छ । विश्वरूपलगायत ठूला सम्पदा पुनर्निर्माणको बजेट व्यवस्था मिलाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग वार्ता भइरहेको सदस्यसचिव डा. ढकालले जानकारी दिए ।