सिरहा नगरपालिकाको बजेट ७६ करोड

सिरहा नगरपालिकाको बजेट ७६ करोड


सिरहा नगरपालिकाले चालू आर्थिक वर्ष ०७५–७६ का लागि रु. ७५ करोड ९१ लाख आयव्यय सार्वजनिक गरेको छ ।

नगरसभाबाट लिएको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्न शनिबार आयोजित कार्यक्रममा नगर उपप्रमुख डा. नमिता यादवले चालू आवको लागि सो बजेट पारित गरेको सार्वजनिक गरे । पुँजीगततर्फ वडा कार्यालयतर्फ रु. १५ करोड ९० लाख, नगरपालिकातर्फ रु. १२ करोड ८२ लाख, चालूतर्फ वडा कार्यालयतर्फ रु. दुई करोड १२ लाख, नगरपालिकातर्फ रु. १० करोड ६३ लाख, विषयगततर्फ रु. २४ करोड ६६ लाख र सामाजिक सुरक्षातर्फ रु. नौ करोड ७८ लाख विनियोजन गरिएको छ ।

नगरपालिकाले चालू आवको तेस्रो महिनामा सार्वजनिक गरेको नीति, कार्यक्रम र बजेटमा राजस्व संकलनबाट रु. दुई करोड चार लाख ५४ हजार, गत आवबाट जिम्मेवारी सरेर आएको रु. १७ करोड २५ लाख ४४ हजार, नेपाल सरकारबाट ससर्त, चालू पूँजीगत अनुदान रु. २४ करोड ६६ लाख, संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु. १९ करोड ६७ लाख, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु. एक करोड, ज्येष्ठ नागरिक दीर्घसेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रमको रु. नौ करोड ७८ लाख तथा राजस्व बाँडफाँडबाट रु. एक करोड ५० लाख आयको अनुमान गरिएको छ ।