सांसद अमरेशद्वारा समितिको बैठक बहिष्कार

सांसद अमरेशद्वारा समितिको बैठक बहिष्कार


नेपाली काङ्ग्रेसका युवा नेता एवम् सांसद डा. अमरेशकुमार सिंहले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेका छन् । सोमबार सिंहदरबारमा गृहमन्त्रालयको काम–कारवाही सम्बन्धमा छलफल गर्न आयोजित समितिको बैठकमा सुरक्षा निकायका तीन जना प्रमुख र गृहमन्त्रीलाई समेत बोलाइएको थियो ।

तर, बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनाल, सशस्त्रका प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान प्रमुख दिलिप रेग्मी योजनाबद्ध रूपमा अनुपस्थित रहे । गृहमन्त्रालय तथा मातहतको निकायका काम कारवाही सम्बन्धमा छलफल गर्न बोलाइएको बैठकमा सम्बन्धित व्यक्तिहरू नै अनुपस्थित भएपछि सांसदहरूले गम्भीर आपत्ति जनाउँदै संसदको सार्वभौमिकतामाथि चुनौती दिएको आरोप लगाएका थिए ।

त्यसै क्रममा काङ्ग्रेस सांसद अमरेशकुमार सिंहले गृहमन्त्रालय अन्तर्गतका काम पारदर्शी नभएको र आस्थाका आधारमा बढुवा तथा त्यहाँ उपस्थित गृहसचिव प्रेमकुमार राईलाई प्रश्न राख्दा समितिका सभापति शशी श्रेष्ठले बोल्न रोक लगाएकी थिइन् ।

त्यसपछि सांसद सिंहले पत्रकारलाई प्रवेशमा रोक लगाउने र हामी सांसदलाई बोल्न रोक लगाउने हो भने यस्तो बैठकमा साक्षी बस्न मात्र आफू सहभागी नहुने भन्दै बैठक छोडेर बाहिरिएका थिए । सभापति श्रेष्ठले सांसद सिंहलाई बैठक नछोड्न अनुरोध गर्दागर्दै पनि उनले मानेनन् । शशीको व्यवहार गैरप्रजातान्त्रिक र गैरसंसदीय भएको आरोप डा. सिंहले लगाएका छन् ।