सरकारी छाप कीर्ते गर्ने शेख प्रहरी नियन्त्रणमा

सरकारी छाप कीर्ते गर्ने शेख प्रहरी नियन्त्रणमा


राजविराज । मालपोत कार्यालयको छाप घर कोठामै राखी विभिन्न किसिमका सरकारी कागजपत्रहरु कीर्ते गर्ने गरेको आरोपमा सप्तरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । यसरी पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप न.पा. वडा नं. ११ गोरपार कुजराही गाउँ घर भएका वर्ष ३१ को मो. सल्लम शेख रहेका छन् ।

लेखापढी समेतको काम गर्ने मोहम्मद हकिमको छोरा शेखले मालपोत कार्यालयको छाप समेत घर कोठामै राखी विभिन्न प्रयोजनका सरकारी कागज पत्र कीर्ते गर्ने गरेको सुचनाको आधारमा २०७४ चैत्र २५ गते इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीबाट खटीएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा त्यतीबेला उनी फरार भएका थिए ।

पाँच महिना भन्दा बढी समयदेखि फरार रहेका शेखलाई गत शुक्रबार सप्तरी सदरमुकाम राजविराजबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भावेश रिमालले बताए । पक्राउ परेका शेखमाथि सरकारी छाप दस्तखत कीर्ते मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जानकारी समेत उनले दिए ।

शेखको घरमा प्रहरीले छापामारी गर्दा विभिन्न व्यक्तिहरुको नेपाली नागरीकताको प्रमाण पत्र, सक्कल जन्मदर्ता प्रमाणपत्रहरु, विभिन्न व्यक्तिको जग्गाधनी दर्ता प्रमाण पत्र, विभिन्न व्यक्तिहरुको जग्गा रजिष्ट्रेशन लिखत कागज, विभिन्न व्यक्तिहरुको नागरीकताको फोटोकपी, निर्वाचन आयोग फोटोसहितको मतदाता नामावली, नागरीकताको अनुसुची फारम, जन्मदर्ता प्रमाण पत्र, विवाह दर्ताको प्रमाण पत्र, मृत्यु दर्ताको प्रमाण पत्र, बसाइँसराई दर्ताको प्रमाणपत्र लगायतका खाली प्याडहरु बरामद भएको प्रहरीले जनाएको छ ।