‘कलियुगका श्रवणकुमार’ साबित हुँदै वडाअध्यक्ष

‘कलियुगका श्रवणकुमार’ साबित हुँदै वडाअध्यक्ष


– रामभरत साह/जनकपुरधाम

जनकपुरधाम उपमहानगरपालिका–२ का वडाध्यक्ष शिवकुमार साह आफ्ना वडाका ज्येष्ठ आमाहरूका लागि श्रवणकुमार साबित भएका छन् । साहले उक्त वडाका ८२ जना आमालाई आफूले पाउने १ वर्षको तलबभत्ताको रकमबाट दुईवटा बस रिजर्भ गरी पशुपति र मनकामना दर्शन गर्न पठाएका छन् ।

सो अवसरमा एक कार्यक्रमको आयोजना गरी सबैलाई १–१ सेट साडी वितरण गरिएको थियो । पशुपति र मनकामनाको दर्शन गर्नका लागि सहयोगी कार्यकर्ता र खाना बनाउने सामग्रीसमेतको व्यवस्था गरेर पठाएको उनले बताए ।

सञ्चारकर्मीहरूसँग वडाध्यक्ष साहले आफ्नो पहिलो लक्ष्य ज्येष्ठ व्यक्तिहरूलाई ज्येष्ठ नागरिक भत्ता प्रदान गर्नुको साथै वृद्ध आमाहरूलाई धार्मिक यात्रा गराउनु रहेको बताए । उक्त कार्यक्रममा उपस्थितहरूहरूले वडाध्यक्ष साहको मुक्तकण्ठले प्रशंसा गरेका थिए । कार्यक्रममा वडाका विशेष मानिसदेखि व्यापारी, समाजसेवी र ठूलो मात्रामा महिलाको उपस्थिति रहेको थियो ।

वडाध्यक्ष शिवकुमार साहले १ सय २५ जना वृद्धाहरूलाई यसभन्दा पहिला जेठमा पनि भारतका विभिन्न तीर्थहरू झारखण्ड प्रदेशका बाबाधाम, वासुकीनाथ र बिहार राज्यका राजगृहको दर्शन भ्रमण गराइसकेका छन् ।

मेयर लालकिशोर साहले आफ्नो कार्यकालको १ वर्ष पूरा भएको उपलक्ष्यमा जनकपुर उपमहानगरपालिकाका ४४ जना अपाङ्गलाई कार्यालय परिसरमै एक कार्यक्रमको आयोजना गरी ह्विलचेयर र वैशाखी वितरण गरेका छन् ।