अरिङ्गालले टोकेर विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मृत्यु

अरिङ्गालले टोकेर विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मृत्यु


जाजरकोटको भेरी नगरपालिका–१२ धारापानी निवासी ३६ वर्षीय तिलक विकको अरिङ्गालले टोक्दा मृत्यु भएको छ । प्रहरीले जनाएअनुसार स्थानीय थर्पुडाँडा प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकको उपचारका अभावमा मृत्यु भएको हो ।

स्थानीयलाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार बिसोने डाँडा भन्ने ठाउँमा शनिबार राति अरिङ्गालको गोलो झार्न गएका बेला उनमाथि अरिङ्गालको बथान खनिएको थियो । अरिङ्गालले आक्रमण गर्दा अन्य साथी भागेर ज्यान जोगाए पनि उनी भाग्न सकेनन् ।

टोकाइबाट गम्भीर बिरामी परेका उनलाई उपचारका लागि रुकुमको चौरजहारी अस्पताल लगिएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएको भन्दै नेपालगञ्ज पठाउँदा बाटोमै मृत्यु भएको हो ।

ज्ञात रहोस्, पछिल्ला दिनमा अरिङ्गाल फ्राइ गरेर खाने उपक्रम बढेर गएको छ । महँगोमा अरिङ्गालको परिकार बिक्री हुने भन्दै रेष्टुरेन्ट व्यवसायीले यसको ब्यापारमा दिलचस्पी दिन थालेका छन् । अरिङ्गाल बेचेर पैसा कमाउन ग्रामिण भेकका वासिन्दा लालायित हुन थालेबाट अरिङ्गाल मासिने र वातावरणीय समस्या पैदा हुन सक्ने आशंका समेत गरिन थालिएको छ ।