उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव भिसा समस्याका कारण अमेरिका जानबाट वञ्चित भएको बुझिएको छ । क्षयरोगसम्बन्धी एक अन्तराष्ट्रिय कार्यक्रममा सहभागी हुन छोरासहित अमेरिका जान खोजेका स्वास्थ्यमन्त्री यादवलाई अमेरिकाले भिसा नै नदिएको खुलासा भएको हो ।
विभिन्न देशका प्रधानमन्त्री तथा मन्त्रीसहितको उक्त कार्यक्रममा नेपालबाट स्वास्थ्यमन्त्री जाने तयारी थियो । तर भिसा नपाएपछि उनी रोकिएको र मन्त्रालयका कर्मचारी मात्रै सहभागी हुन पाएको जनाइएको छ । सो कार्यक्रममा मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेललगायतका कर्मचारीले सहभागिता जनाएका हुन् ।
मन्त्री यादवले अमेरिकाको भिसा नपाउनुको कारण भने उनको पासपोर्ट दिल्लीमा रहनु रहेको छ । दिल्लीबाट सो पासपोर्ट मगाउँदासम्म यता ढिला भइसकेको बताइएको छ । उनका प्रेस सल्लाहकार महेश चौरासियाका अनुसार, दिल्लीबाट मन्त्री यादवको पासपोर्ट ढिलो आइपुगेका कारण भिसा पाउन समस्या भएको हो ।
पासपोर्टका कारण भिसा समस्या आएपछि मन्त्री यादवले ‘भिसा नोट’ गराएर भिसा लिन चाहेका थिए । उनले त्यसका लागि परराष्ट्र मन्त्रालयमा समेत सम्पर्क गरेका थिए तर परराष्ट्रमन्त्री, सचिव र वरिष्ठ सहसचिव सबै मन्त्रालयबाहिर भएको कारण भिसा नोट समेत तयार हुन सकेन ।
प्रतिक्रिया