नेविसंघले गऱ्यो कञ्चनपुर बन्द

नेविसंघले गऱ्यो कञ्चनपुर बन्द


दुई महिनाअघि बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको वास्तविक हत्यारा पत्ता लगाएर सार्वजनिक गर्न माग गर्दै आज (मंगलबार) नेपाल विद्यार्थी संघले कञ्चनपुर बन्द गरेको छ ।

सरकारले पन्तको हत्यारा पत्ता लगाई सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै नेविसंघले कञ्चनपुर बन्दको आह्वान गरेको हो । नेविसंघका कार्यकर्ताले बिहान ७ बजेदेखि नै पूर्वपश्चिम महेन्द्र राजमार्गलगायत जिल्लाका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका छन् ।

नेविसंघ गरेको बन्दको असर शिक्षण संस्था, कलकारखाना, उद्योग, बजार सबै क्षेत्रमा परेको छ । बन्द बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म रहने बन्दकर्ताले जनाएका छन् ।

बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताले सरकारी कार्यालयमा तोडफोड पनि गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालय र सरकारी वकिल कार्यालयमा तोडफोड गरिएको छ । तोडफोडका कारण कार्यालयभित्र राखिएका फर्निचरमा समेत क्षति पुगेको छ ।

बन्दकर्ताले बा.२ झ २७१५ नम्बरको सरकारी गाडीको फुटाएका छन् । सरकारी वकिलको कार्यालय तोडफोड गरिरहेको तस्बिर खिचिरहेका सञ्चारकर्मीमाथि पनि आन्दोलनकारीले हातपात गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी कार्यालय, सवारीसाधन र पत्रकारमाथि आक्रमण गर्नेको खोजी भइरहेको जानकारी दिएको छ ।