बानेश्वरको संगम स्विट्समा नीरको प्रयोग

बानेश्वरको संगम स्विट्समा नीरको प्रयोग


खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाइमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेको छ । अनुगमनका क्रममा आज फेला परेको सो पाउडर सेतो कपडामा प्रयोग गरिने वस्तु (नीर) भएको प्रमाणित भएको छ ।

स्थानीय बानेश्वरमा संगम शर्माले सञ्चालन गरेको संगम स्विट््स एन्ड स्न्याक्स प्रालिको मिलन चोक गोदाममा उक्त पाउडर फेला परेको हो । मिठाइमा हाइड्रो–१ नामको अखाद्य वस्तु मिसावट भएको फेला परेका कारण शर्मालाई खाद्य ऐन २०२३ र नियमावली ०२७ अनुसार कानुनी कारबाही गरिने खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए ।

खाद्यान्नमा अखाद्य वस्तु मिसावट गरेको प्रमाण फेला परेमा सो ऐन र नियमावलीमा कम्तीमा पाँच वर्ष कैद वा रु. पचास हजार जरिवाना वा दुवै सजायको व्यवस्था छ । खाद्य स्वच्छता कायम गर्ने उद्देश्यले खाद्य अनुसन्धान अधिकृत सुवेदीको नेतृत्वमा अनुगमन गर्न गएको समूहले आज सो गोदाम बन्द गरेको छ । अनुगमनमा उपभोक्ता अधिकारकर्मी, जिल्ला प्रशासन कार्यालय र पत्रकारको पनि सहभागिता थियो ।

त्यसैगरी शर्माको बानेश्वरस्थित पसलमा भेटिएको अखाद्य पाँच लिटर घिउ नष्ट गरिएको छ । घिउमा पोल्यारिटीको मात्रा ३९ रहेकाले नष्ट गरिएको हो । स्वस्थ घिउमा पोल्यारिटीको मात्रा अधिकतम २५ हुनुपर्छ ।