नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो


धितोपत्र बजारमा आज सेयरको मूल्य दोहोरो अंकले घटेको छ । मंगलबार सामान्य अंकले बढेको बजार आज भने दोहोरो अंकले घटेर नयाँ बिन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १० दशमलव ७६ बिन्दुले घटेर एक हजार २३० दशमलव ६० बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचकसमेत २ दशमलव ३९ बिन्दुले घटेर २६१ दशमलब १ बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचक मात्रै नभई कारोबार रकममा समेत आज गिरावट आएको छ । कुल १६५ कम्पनीको १४ लाख ३६ हजार ५१२ कित्ता सेयर रु. ३७ करोड ४० लाख ४९ हजार ८७५ मूल्यमा खरिद–बिक्री भएको छ ।

स्टकका अनुसार कुल ११ उपसमूहमध्ये दुई उपसमूहको सेयर भने बढेको छ । बाँकी रहेका नौ उपसमूहको भने सेयर घटेको छ । व्यापार ४ दशमलव २२ र होटेल ५ दशमलव ५६ बिन्दुले बढ्दा बैंकिङ १० दशमलव १२, विकास बैंक ११ दशमलव ५२, जलविद्युत् १५ दशमलव १४, वित्त ३ दशमलव ३३, निर्जीवन बिमा ५१ दशमलव ३८, उत्पादन ६ दशमलव ५२, अन्य ८ दशमलव ७५, माइक्रोफाइनान्स ९ दशमलव ७५ र जीवन बिमा ३७ दशमलव ४५ बिन्दुले घटेको छ ।