अँध्यारोबाट उज्यालोतिर : दार्शनिक दृष्टिकोण

अँध्यारोबाट उज्यालोतिर : दार्शनिक दृष्टिकोण


वेदका केही अत्यन्त महत्वपूर्ण वाक्यहरू मध्ये ‘तमसो मा ज्योतिर्गमय:’ अर्थात् ‘हामीलाई अन्धकारबाट प्रकाशतिर लैजाऊ’ भन्ने पनि रहेको छ । प्रत्यक्षमा अन्धकारबाट प्रकाशतिर लैजाऊ भनिए तापनि यसको मुख्य अर्थचाहिं अज्ञानबाट ज्ञानतिर प्रवेश होस् भन्ने नै हो ।

यो महावाक्य पढ्दै गर्दा मेरो चिन्तनमा अर्को पक्ष जिज्ञासाका रूपमा उपस्थित भएको छ । असलमा, जुन प्रकाश (Light) को विकास र विस्तारका लागि मान्छेले मरिहत्ते गरिरहेको छ, मूलतः यो ‘घटना’द्वारा उत्सर्जित प्राकृतिक अवस्था हो । उदाहरणका लागि सूर्यभित्र निरन्तर चलिरहने नाभकीय प्रक्रियाका कारण प्रकाश उत्सृजित भैरहेको छ । यही तत्थ्य ब्रह्माण्डका अन्य पिण्डमा पनि लागु हुन्छ भन्ने आधुनिक भौतिकशास्त्रको अभिमत छ ।

तार्किक र व्याबहारिक दृष्टिले हेर्दा अन्धकारका तुलनामा प्रकाश प्राथमिक हुन आउँछ । प्रकाशसृजित अवस्था (time bound accidental)को उपलब्धि हो भने अँध्यारो (Darkness) ब्रह्माण्डको प्राकृतिक अवस्था हो । अन्धकारका लागि प्रकाशको कुनै आवश्यकता छैन तर अन्धकारविना प्रकाशको कुनै अस्तित्व छैन । प्रकाश अन्धकारको उप-उत्पादन (Byproduct) हुन सक्छ । आजभोलि भौतिकीजगतमा अँध्यारोलाई कालोद्रव्य (Dark matter)को सैद्धान्तिक अवधारणा बारे छलफल हुँदैछ र सम्पूर्ण द्रव्यमान (Mass)को ९० प्रतिशत पदार्थ कालो हुन सक्ने अनुमान गरिएको छ ।

दार्शनिक दृष्टिकोणले विचार गर्दा ब्रह्म भन्नु नै ‘अँध्यारो’ हुन सक्छ । किनभने, ब्रह्मको शाब्दिक अर्थ विशाल, फैलिएको र जताततै भएको भन्ने हुन्छ । अँध्यारोका सवालमा आजसम्मको विज्ञानले दृष्य-अदृष्य ब्रह्माण्ड (Observable universe and non-observable universe) को सीमाबाहिर पनि अन्धकार नै रहेको अनुमान गर्छ । वैदिक दर्शनले ब्रह्मलाई सबैथोक मान्ने हुँदा अन्धकारलाई नै ब्रह्म भन्नुपर्ने हो कि भन्ने तार्किक दृष्टिकोण उपस्थित हुन्छ ।

हो, एउटा जीवित र क्रियाशील मान्छेका लागि वा जीवनयुक्त प्राणीको दैनिक क्रियाकलापका लागि ‘तमसो मा ज्योतिर्गमय:’ निकै महत्वपूर्ण अवस्था हो तर मान्छेसहित पृथ्वीको अवसानपछि यदि कुनै विषयवस्तुको अस्तित्त्व रहन्छ भने त्यो अन्धकार नै हो । आधुनिक विज्ञानले कृष्ण-विवर (Black-hole) र तिनको दानवी स्वरूप विषयमा निकै डरलाग्दो जानकारी दिन्छ । तार्किक रूपमा ‘प्रकाश फर्केर औं नसक्ने कुनै पनि अवस्था’को विज्ञानले अस्तित्वको अनुमान गर्न मिल्दैन । सम्पूर्ण विज्ञान प्रकाश र प्रकाशको गतिमा आधारित छ । तार्किक दृष्टिकोणले कृष्ण-विवरहरू हावादारी अनुमान ठहरिन्छन् । तथापि, कृष्ण-विवरहरू पनि ‘डरलाग्दो-अँध्यारा शक्ति हुन्’ भन्ने तत्थ्यमा कुनै विवाद छैन । तर, प्रश्न उठ्नैपर्छ कि ती प्रकाशित नभएर कृष्ण (अँध्यारा) किन छन् ?

प्राणीजगतका लागि प्रकाश केवल व्याबहारिक सत्य हो, आध्यात्मिक सत्य होइन । अँध्यारो नै वास्तविक अवस्था हो । प्रकाशसंग गमय शब्दको प्रयोग उचित होला तर अँध्यारोसंग गमय शब्दको कुनै प्रयोजन छैन । मृत्युपछिको स्वाभाविक सन्नाटा नै ‘अन्धकार’ बाहेक केही हुनै सक्दैन । आत्माको अमरतामा विश्वास गर्नेहरूले पनि मान्नैपर्छ कि वैकुण्ठ, स्वर्ग (हेवन) आदि ठाउँहरू प्रकाशयुक्त छन् तर ती ठाउँहरूको सीमा सकिएपछि अन्धकारको विकल्प छैन । दार्शनिकलाई प्रश्न सोध्ने अवकाश छ कि बिगब्यांगको एक सेकेण्डअगाडि विश्वको स्वरूप कस्तो थियो ?

त्यसैले मलाई लाग्छ, दार्शनिक अर्थमा ‘तमसो मा ज्योतिर्गमय:’को अर्थ फेरिनुपर्छ । किनभने, अँध्यारोबाट प्रकाशतिर जाउँ भन्ने वाक्यले नै अँध्यारोको स्थिति प्रकाशभन्दा बढी रहेको अर्थात् अन्धकार ‘स्थिति’ भएको र प्रकाश ‘गन्तव्य’ भएको प्रष्ट पार्छ । विज्ञान, आध्यात्म तथा धार्मिक जगतमा अब यस विषयमा छलफल हुनुपर्छ । दर्शनशास्त्रले सधैं जिज्ञासा राख्ने छ र प्रस्तावित गरेका उत्तरहरू नै छलफलका लागि प्राथमिक पाठशाला हुने छन् ।

  • त्रिचन्द्र क्याम्पस