पाठक मञ्च

पाठक मञ्च


pathakmanch‘दरबार’की नन्दाको दुःखेसो
साप्ताहिक घटना र विचारको ०७० चैत १२ र ०७१ वैशाख ३ गते मेरोबारेमा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यान आकर्षित भएको छ । सो समाचारमा तत्कालीन राजाको नारायणहिटी दरबार बहिर्गमनका बेला बाघ, मृगलगायतका वन्यजन्तुका छाला, हात्ती, बाघ, जरायोलगायत जन्तुका हड्डी तथा अङ्ग–प्रत्यङ्ग, बहुमूल्य रुद्राक्ष, सुनका इँटाजस्ता सामानहरू चारवटा गाडीमा लगेर बाहिर थन्काइएको छ रे । दुईवटा ट्रकमध्ये एक ट्रक चाँदी छाउनी र एक ट्रक निर्मलनिवासमा म नन्दा मल्लको प्रयासले लगिएको रे । साथै मेरो चपली गाविसमा २३ रोपनीमा ६ वटा घर र बसुन्धराको ११ रोपनीमा चारवटा घर भन्ने समाचारमा उल्लेख गरिएको छ । यी सबै समाचारप्रति मेरो गम्भीर ध्यान आकर्षण भएको छ र समाचार भ्रामक एवम् मप्रति अनाहकमा दुश्मनी गर्न खोज्ने तŒवबाट प्रायोजित तथा कपोलकल्पित रहेको प्रस्ट्याउन चाहन्छु ।
आज यो मुलुकमा राजतन्त्रको अन्त्य र लोकतन्त्र आएको आठ वर्ष बितिसक्दा पनि हाम्रा पत्रकारहरूको दरबारप्रति हेर्ने पूर्वाग्रही नजरमा परिवर्तन भएको रहेनछ । दरबारमा कुनै समयमा सानो जागिर गर्ने महिलामाथि बेलाबेलामा छापाहरूमा अकुत सम्पत्ति र अवैध चिजहरूसँग जोडेर व्यक्तिगत चरित्रहत्या गर्ने नियतले जुन छापाहरूमा छापिएका छन् त्यसप्रति दुःखका साथ म खेद प्रकट गर्दछु । मेरो व्यक्तिगत आर्जन र पैतृक सम्पत्तिलाई दरबारसँग जोडेर जसरी छापामा आएका छन्, त्यो वैध वा अवैध के हो सम्बन्धित निकायले छानबिन गरेमा मेरो पूर्ण रूपले समर्थन रहनेछ । तर, ‘खास दरबारिया’ वा कथित लोकतन्त्रवादीहरूको सम्पत्तिप्रति चासो नै नदेखाई एउटी महिलालाई दरबारसँग जोडेर महिलाको चरित्र हत्या गर्ने काम भएको छ । त्यो पत्रिकाको धर्म होइन, पत्रकारको काम त यथार्थ कुरालाई बाहिर ल्याउने हो । पत्रकारले अहिले पनि महिलाको सम्पत्ति आर्जन गर्ने स्वतन्त्रतालाई वञ्चित गर्न खोजेको हो कि ? पत्रकारहरूको महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नभएको हो कि ? त्यसैगरी जुन ११ रोपनीमा बनेको बंगला र २३ रोपनीमा ६ वटा घरहरू भन्ने कुरा समाचारमा छापिएको छ, यसप्रति म आफैँ आश्चर्यचकित छु । किनकि, यो मेरो हैसियतभन्दा धेरै परको कुरा हो । जुन कुराहरू सम्पत्ति शुद्धीकरण आयोगमा विचाराधीन छ । जसलाई अझ बढी प्रभावित पार्नका लागि पत्रकारले लेख्न खोजेको त होइन भन्ने लागेको छ । त्यसैगरी, विभिन्न आर्थिक कारोबार हुँदै छ भनी सम्बन्धित निकायका प्रमुखहरूलाई मुछ्ने काम भएको छ, त्यो पनि निराधार हो । केही महिनाअगाडि एउटा दैनिक पत्रिकाले आमाघर संस्थाकी अध्यक्षलाई पनि चरित्रहत्या गर्ने काम गरेको थियो । त्यो एउटा उदाहरण मात्र हो, बिनाप्रमाण कुनै एउटा व्यक्तिले घरायसी रिसइवीको कारणले गर्दा गलत सूचना दिएको भरमै पत्रिकाले यसरी लेख्ने हो भने पत्रिकाको विश्वसनीयतामा शङ्का उठ्न सक्छ, मर्यादामा आँच आउँछ, हेर्ने दृष्टिकोणमा फरक हुन्छ ।
हो, कुनै समयमा म दरबारभित्र काम गर्ने सानो तहकी एक कर्मचारी थिएँ । सानो कर्मचारीलाई कुनै पनि सङ्घसंस्थाले काम गर्दा कति जिम्मेवारी दिन्छ भन्ने कुरा ममाथि समाचार लेख्ने पात्रले बुझ्नुपर्ने हो । जुन अवैध सम्पत्ति दरबारबाट मलाई चोरी गरेको भन्ने आरोप लगाइएको छ, ती सबै सम्पत्ति दरबारभित्र थिए वा थिएनन्, मैले देख्न पनि सकिनँ । यसैगरी मेरो नाममा तीनवटा गाडी छन् भन्ने कुरा आएको छ, ती सबै कपोलकल्पितबाहेक अरू केही हुन सक्दैन ।
तसर्थ समाचारमा उल्लेख भएका कुरा भ्रम सिर्जना गर्ने र रिसइवी वा डाहले छटपटिएको पात्रले सञ्चारकर्मीलाई झुक्याएर प्रकाशन गराएको हो भन्ने लाग्छ । यसरी लेखिएको समाचारबारे मेरो इज्जत र पत्रिकाको विश्वसनीयतालाई मध्यनजर गरी खण्डनका लागि अनुरोध गर्दछु ।
– नन्दा मल्ल, बसुन्धरा, काठमाडौं

बियर होइन पिएको जुस हो
घटना र विचार साप्ताहिको गत अंकमा कृषिमन्त्री हरि पराजुलीका बारेमा प्रकाशित समाचारमा उल्लेख भएको ‘मन्त्रीले बियर पिएको’ अंश शत प्रतिशत गलत छ । किनकि, घटनास्थलमा म आफैँ पनि साथमै थिएँ । त्यतिबेला मन्त्री पराजुलीले जुस मात्र पिउनुभएको हो । केही सहभागी मित्रहरूले उहांलाई ‘सिवास रिगल’ ह्वििस्की पिउन प्रस्ताव गरेका थिए, तर मन्त्री पराजुलीले ह्वििस्की पिउन चाहनुभएन । स्तरीय ह्वििस्की छ भनेर अरुले प्रस्ताव गर्दा मन्त्री पराजुलीले ‘बजारमा २÷३ लाख रुपैयाँ पर्ने महँगा ह्वीस्की पनि पाइएलान्, तर मलाई त जुस नै मनपर्छ, जुस नै पिउँछु’ भनेर भन्नुभएको हो । त्यसैलाई आधार बनाएर गलत समाचार सम्पे्रषित भएको रहेछ । घटना र विचार साप्ताहिकजस्तो स्तरीय पत्रिकाले यस्तो गलत समाचार दिनु भएन है ।
– शंकर घिमिरे, भरतपुर–५, चितवन