आईजीपीको टुङ्गो लाग्नै लाग्यो

आईजीपीको टुङ्गो लाग्नै लाग्यो


काठमाडौं । श्री ५ को सरकारले भावी प्रहरी महानिरीक्षकका रुपमा अतिरिक्त प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलको नाम तय गर्न लागेको बुझिएको छ । खरेलले ज्येष्ठता क्रमका आधारमा महानिरीक्षकमा बढुवा हुनुपर्ने दाबी प्रस्तुत गर्दै आउनुभएको थियो । अर्का अतिरिक्त प्रहरी महानिरीक्षक ध्रुव प्रधानले पनि आफू खरेलभन्दा जुनियर नरहेको, एकैदिन नियुक्त हुँदै एकैदिन बढुवा हुँदै आएको तथा प्रहरी सेवाभित्र आफूले नितान्त मौलिक र निर्विवाद भूमिका निर्वाह गर्दै आएको कारणले आफै महानिरीक्षक हुने कुरामा विश्वास राख्दै आउनुभएको छ ।

यद्यपि यस सम्बन्धमा सरकारले औपचारिक निर्णय गरिसकेको भने छैन । तर, पुसको पहिलो सातामा एमाले–चन्द समूहद्वारा अविश्वास प्रस्ताव ल्याइएको समयमा दुई प्रहरी अधिकृतहरूको भूमिकामध्ये खरेलको भूमिका सहयोगी रहेको कारण सरकारले खरेललाई नियुक्त गर्ने मन बनाएको बुझिएको छ । समाचार सूत्रका अनुसार सांसद अपहरण गरिएको भन्ने कुरा संसदमा उठेपछि ध्रुव प्रधानले उक्त कुराको सत्यतथ्य पत्ता लगाउन कारवाही गर्ने तत्परता देखाउनुभएको थियो भने खरेलले त्यसलाई ‘राजनीति’ भन्दै छाडिदिनुभएको थियो ।

त्यस घटनामा प्रधानमाथि कतिपय गुप्त सूचना विपक्षीलाई उपलब्ध गराएको आरोपसमेत लागेको थियो । यस सम्बन्धमा प्रधानसँग प्रतिक्रिया माग्दा उहाँले भन्नुभयो– ‘म विशुद्ध प्रहरी हुँ, मैले सधैं एउटा इमान्दार प्रहरीको भूमिका निर्वाह गर्दै आएको छु, जहाँसम्म विपक्षीलाई सूचना उपलब्ध गराएको भन्ने कुरा छ, त्यो यस महत्वपूर्ण घडीमा मेरो चरित्रहत्या गर्ने जालसाजी मात्रै हो । त्यस्तो काम मबाट सपनामा पनि हुन सक्दैन । सांसद अपहरण नै भएको भन्ने कुरा संसदमा उठेपछि मलाई मेरो आधिकारिक निकायसँग खोजबिन गर्ने आदेश आयो, मैले त्यही आदेशअनुसार सुझबुझपूर्ण भूमिका निर्वाह गरेको हुँ । त्यसो गर्नु नै मेरो गल्ती हो भने भन्नु केही छैन ।’

त्यसैगरी सो सम्बन्धमा अच्युतकृष्ण खरेलसँग सम्पर्क गर्दा उहाँले भन्नुभयो– ‘इतिहासमा कसको के भूमिका छ भन्ने कुरा मैले मेरै मुखबाट भन्नुपर्छ भन्ने ठानेको छैन । सबै कुरा घाम जत्तिकै छर्लङ्ग छ । प्रहरी भनेको जो सरकारमा हुन्छ उसैले मुलुक र जनताको हितका लागि प्रयोग गर्ने साधन हो, तर त्यो राज्यको हितमा हुनुपर्छ भन्ने हाम्रो मान्यता रहिआएको छ । प्रहरीले कहाँ, कुनबेला के गऱ्यो वा गर्छ भन्ने कुरा सार्वजनिक गर्नुपर्ने विषय होइन । म यति मात्र भन्न सक्छु– मैले एक प्रहरी अधिकारीका रूपमा आफ्नो भूमिका सदैव इमानदारीपूर्वक निर्वाह गर्दै आएको छु ।’

(घटना र विचार साप्ताहिक, २०५३ माघ २ गते बुधबार)