बैठकका एजेण्डा बन्दै नेपाल र खनालका असन्तुष्टि

बैठकका एजेण्डा बन्दै नेपाल र खनालका असन्तुष्टि


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले स्वदेश फर्किएको भोलिपल्टै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल गरेका छन् ।

दुई अध्यक्षबीचको छलफलपछि नेकपाको सचिवालय बैठक पर्सि आइतबारका लागि बोलाइएको छ । अध्यक्षद्वय ओली र प्रचण्डको छलफलपछि महासचिव विष्णु पौडेलले आइतबार अपराह्नका लागि सो बैठक बोलाएका हुन् ।

आइतबार बस्ने सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार र झलनाथ खनालका असन्तुष्टिका साथै अन्य विषयमा छलफल हुने भनिए पनि नेपाल र खनालको असन्तुष्टिको विषय नै प्रमुख विषय हुने बुझिएको छ ।

दुवै अध्यक्ष देशमा नभएका बेला पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले चियापानको नाममा गत असोज १२ गते राजधानीको इन्द्रेणी फुडल्यान्डमा स्थायी समितिका सदस्य भेला पार्दै पार्टी सचिवालयले गरेको प्रदेश कमिटीको नेतृत्व सिफारिसप्रति असन्तुष्टि जनाएका थिए । सो भेलामा वरिष्ठ नेता नेपालले तत्काल स्थायी समिति बैठक बोलाउन माग गरेका थिए ।

अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी एकता प्रक्रियामा एकलौटी ढंगले निर्णय गरेको भन्दै नेकपा नेपाल र खनाल असन्तुष्ट छन् ।