- विकाश रौनियार, धादिङ
धादिङको रुवीभ्याली गाउँपालिका-१ स्थित पर्यटकीय तथा धार्मिक महत्व बोकेको मानेरालुम खर्कमा पर्यटक विश्रामघर निर्माण सम्पन्न भएको छ । डिभिजन वन कार्यालय धादिङको आर्थिक सहयोग तथा गोम्फु मानेरालुम सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा निर्माण गरिएको विश्रामघरले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
समुद्री सतहदेखि करिब ४१०० मिटरको उचाइमा रहेको मानेरालुम खर्क प्राकृतिक सौन्दर्य, धार्मिक आस्था तथा सामाजिक महत्वका कारण रुवीभ्याली क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य मानिन्छ । विश्रामघर निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई यात्रा र बसाइमा सहज हुने विश्वास गरिएको छ ।
डिभिजन वन कार्यालय धादिङका प्रमुख रोशना पोखरेलका अनुसार वन तथा प्राकृतिक सम्पदाको संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विश्रामघर निर्माणमा सहयोग गरिएको हो । यस्ता पूर्वाधारले स्थानीय पर्यटनलाई प्रोत्साहन गर्नुका साथै स्थानीय समुदायको आयआर्जनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको उनले बताइन् ।
गोम्फु मानेरालुम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रकाश घलेलेका अनुसार विश्रामघर सञ्चालनमा आएपछि मानेरालुम खर्क पुग्ने पर्यटकलाई थप सुविधा मिल्ने र यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया