सधैँजसो राजनीतिक गतिविधि तथा कूटनीतिक भेटघाटमा सक्रिय रहने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छमछमी नृत्य प्रस्तुत गर्दाको दृश्यले धेरै दर्शकको मन जित्यो । रौतहट–काठमाडौँ सम्पर्क समन्वय कमिटीले विजया दशमी, दीपावली तथा छठका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उनले नाच मात्र प्रदर्शन गरेनन्, सांस्कृतिक रुपमा एकताबद्ध हुन सन्देश पनि दिए ।
नेता नेपाललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल तथा नेताहरु प्रभु साह, बंशीधर मिश्र लगायतले साथ दिए । नेताहरुको सामूहिक नृत्यस्थल बनेको मञ्चमा व्यावसायिक फोटोग्राफरका साथै दर्शक दीर्घाबाट क्यामेरा र मोबाइलबाट तस्बिर लिनेको कमी थिएन ।
सोही मञ्चमा एकछिन अगाडि नेकपाका अध्यक्ष प्रचण्ड रहेका भए पनि उनलाई नृत्य देखाउने अवसर जुरेन । प्रचण्ड आजै गोरखा जाने हतारोले गर्दा समारोहलाई सम्बोधन गरेर निस्किएका थिए । ्
मन्तव्य दिँदै प्रचण्डले निरङ्कुश शासन तथा सामन्तवादविरुद्ध चेतना फैलाउन र कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन रौतहटको भूमिको ठूलो योगदान रहेको बताए ।
जनताको चाहनाअनुसार दुई ठूला कम्युनिष्ट पार्टीको एकता युगान्तकारी निर्णय भएको बताउँदै उनल् भने, “सात दशकदेखिको राजनीतिक अस्थिरता अन्त्य भएको छ, अब जनताको आर्थिक विकाससहितको राष्ट्रिय समृद्धिका लागि आधार तय भएको छ ।”
नेता नेपालले विगतदेखि नै त्यहाँका जनताले कम्युनिष्ट चिन्तनलाई संरक्षण गरेको बताउँदै विसं २०१५ को चुनावमा रौतहटले दुई स्थान प्राप्त गरेको स्मरण गरे । उनले पछिल्लो समयमा देशमा बढेको हत्या, हिंसा, बलात्कारका घटनाप्रति दुःख व्यक्त गर्दै अपराधीलाई पहिचान गरी कडा कारवाही गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया