रमेश विक, गुल्मी
सरकारले जनताको जीवनस्तरलाई माथि उठाउनुको साटो करको दर बढाएर झन् समस्यामा पारेको आरोप नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य बद्रि पाण्डेले लगाएका छन् । नेपाली कांग्रेस स्थानीय तह विभाग गुल्मीले सदरमुकाम तम्घासमा शनिबार आयोजना गरेको एक कार्यक्रमबीच उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
नेपाली कांग्रेसबाट स्थानीयतहमा निर्वाचित जनप्रतिनिधि र पार्टी तथा भातृसंस्थाका प्रमुख प्रतिनिधिहरुलाई अभिमुखीकरण दिने उद्देश्यले आयोजित सो कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै नेता पाण्डेले दुई तिहाई बहुमत प्राप्त सरकारले जनताको सानाभन्दा साना कामसमेत गर्न नसकेको आरोप लगाए । अहिलेको सरकार गफमा मात्र सीमित रहेको उनको टिप्पणी थियो ।
देशमा हालसम्म भएका सबै राजनीतिक परिवर्तन नेपाली कांग्रेसको देन भएको दाबी पनि उनले गरे । पाण्डेले राजनैतिक परिवर्तन, संवैधानिक परिवर्तन काङग्रेसको उपलब्धि भएको बताउँदै एकात्मक शासन प्राणालीबाट हाल संघीय शासन पद्धतिमा रुपान्तरण गरी कार्यान्वयनको चरणमा हुनु यसैको उदाहरण भएको उल्लेख गरे ।
कार्यक्रमलाई नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्व सांसद रुद्रमणि शर्मा भण्डारी, सचिव खिलध्वज पन्थी, बिष्णु सापकोटा लगायतले सम्बोधन गर्दै अहिलेको अवस्थामा पार्टीलाई सङगठित गर्दै एकताबद्ध भएर लैजानु पर्नेमा जोड दिएका थिए ।
उक्त अभिमुखीकरण कार्यक्रममा जिल्ला न्यायाधिवक्ता लक्ष्मण घिमिरेले मुलुकी ऐन फौजदारी संहिताका विषयमा, जिल्ला अदालतका स्रेस्तादार दुर्गाप्रसाद बस्यालाले संविधानको मौलिक हकका विषयमा, मुलुकी ऐनका विषयमा सीता घिमिरे, स्थानीय सरकार सञ्चालन ऐनका विषयमा बिष्णुप्रसाद बलाल, पार्टी र जनप्रतिनिधिबीचको सम्बन्धका विषयमा नेपाली कांग्रेसका प्रशिक्षण विभाग प्रमुख छन्दबहादुर पहराईले प्रशिक्षण दिएका थिए ।
नेपाली कांग्रेस स्थानीय तह विभाग जिल्ला संयोजक थमनबहादुर खत्रीको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन कांग्रेसका क्षेत्रीय सभापति भगतसिँह खड्काले गरेका थिए ।
प्रतिक्रिया