राष्ट्रिय खेलाडी बन्न
धेरै रगत र पसिना सुकाएँ
खरको झुप्रोमा बिरामी आमालाई चटक्कै छोडी गन्तव्यहीन यात्रामा निस्किएकी थिइन् उनी । माथि हेर्यो आकाश, तल हेर्यो धर्ती योबाहेक उनको साथ कोही थिएन । तर, संयोगले उनलाई काठमाडौं पुर्यायो । काठमाडौंमा अर्काको घरमा जुठो भाँडा माझ्दामाझ्दै उनको भविष्यको ढोका खुलेको थियो । भोको पेटमा दिनरात रगत-पसिना सुकाएर उनले सुनौलो भविष्यको सपना देखेकी थिइन् । पछि विभिन्न आरोह-अवरोहलाई पार गर्दै आफ्नो सपना साकार पारेर मुलुकको मान, सम्मान र प्रतिष्ठालाई अन्तराष्ट्रमा पुर्याउन सफल भएकी थिइन् । उनै नेपालकी चर्चित राष्ट्रिय भलिबल खेलाडी कोपिला उप्रेतीसँग घटना र विचारका लागि श्रीविक्रम भण्डारीले गरेको कुराकानी ः-
० तपाईं कसको प्रेरणाले खेलकुदमा लाग्नुभएको हो ?
– म कसैको प्रेरणाले खेलकुदमा लागेकी होइन । घरको दयनीय अवस्थाले घर छोड्दा संयोगले खेलाडी बनेकी हुँ । मैले खेलाडी बन्न धेरै रगत र पसिना सुकाएकी छु । निकै हन्डर र ठक्कर खाएकी छु ।
० त्यसो भए कसरी खेलाडी बन्नुभयो त ?
– यसको लामो कहानी छ । मेरो घरमा २० जनाको परिवार भएकोले खानलाई समेत धौधौ थियो । अझ बुबा कान्छीआमासँग बसेपछि हाम्रो आर्थिक अवस्था निकै दयनीय बनेको थियो । आमाले हाम्रो सातजनाको परिवारलाई जसोतसो गरी एक छाक ख्वाएर पालेर राख्नुभएको थियो । आमाको यस्तो दुःख देख्न नसकेर उहाँको बोझ कम गर्न मैले घर छोडेकी थिएँ । त्यसबेला मेरो लक्ष्य केही थिएन । खेलाडी बन्ने कुरा त कल्पनाबाहिरको थियो तर भाग्यले खेलाडी बनाइदियो ।
० खेलाडी बन्नलाई कसैले मार्गदर्शन त गरेको होला नि ?
– मार्गदर्शनभन्दा पनि एकजना शुभचिन्तकले मेरो हाइट देखेर भलिबल तथा बास्केटबलको खेलाडी बन्न सल्लाह दिनुभएको थियो । म कामदारको रूपमा काठमाडौंमा बस्दा पानी भर्ने बेलामा उहाँसँग भेट भएको थियो । पछि उहाँले नै ढोरपाटन लगेर मुख्य प्रशिक्षक मानवीर छन्त्यालसँग भेट गराइदिनुभएको थियो । छन्त्यालले मलाई देख्नासाथ तिमी एक दिन चर्चित राष्ट्रिय खेलाडी बन्छ्यौ भन्नुभएको थियो ।
० किन भलिबल खेललाई नै रोजेको त –
– वास्तविक रूपमा भन्नुपर्दा त्यसबेलासम्म मलाई कुनै पनि खेलको बारेमा जानकारी थिएन । गाउँघर र स्कुलमा भलिबल खेलेको देखेका कारण म यो खेलप्रति आकरि्षत भएकी हुँ ।
० अर्काको घरमा काम गर्ने तपाईंले कसरी भलिबलको ट्रेनिङ लिनुभयो त –
– यसबारेमा कुरा गर्न त मन थिएन तर तपाईंले सोधिसकेपछि केही कुरा अवश्य बताउँछु । म अर्काको घरमा काम गर्न बसेकी मान्छे, भलिबलको टे्रनिङ गर्न थालेपछि कस्तो अवस्थाको सिर्जना भएको होला तपाईं सोझै अड्कल काट्न सक्नुहुन्छ । काम गर्न बसेको मान्छेले काम गर्न छोडेर खेलेर खान थालेपछि के होला । एक दिन, दुई दिन मात्र नभई महिनौँ यसरी बित्दा मलाई घरबाट निकालिएको थियो । वास्तवमा यो कुरा सही पनि थियो म उनीहरूको परिवारको सदस्य नभई काम गर्न बसेकी मान्छे थिएँ । काम नगरेपछि यस्तो हुनु स्वाभाविकै हो ।
० त्यसपछि आफ्नो खेलजीवनलाई कसरी अगाडि बढाउनुभयो त –
– छोटो प्रशिक्षणमै म भलिबल खेलतर्फ आकरि्षत भइसकेकी थिएँ । मनमा अनेक सपना पनि बुन्न थालेकी थिएँ । तर काम गर्ने घरबाट एक्कासि निस्कनुपर्दा ममाथि ठूलो बज्रपात परेको थियोे । घर फर्कुंजस्तो लागे पनि आखिर त्यहाँ गएर के गर्ने भन्दै जे भए पनि काठमाडौंमै सङ्घर्ष गर्ने निर्णय गरेँ । कीर्तिपुरको एक अँध्यारो छिँडीमा डेरा लिएपछि एक छाक खाएर मैले तीन महिना ढोरपाटनमा भलिबलको टे्रनिङ लिएँ ।
० कामकाज केही थिएन, कसरी आर्थिक तालमेल मिलाउनुभयो ?
– मैले यो प्रश्न कोपिलालाई गर्दा उनका आँखामा आँसु छचल्किएका थिए । उनको स्वर मधुरो भएको थियो । तै पनि उनले खेल्ने चाहनाले सबै परिपूर्ति भएको बताएकी थिइन् । आफूसँग गाडीभाडासम्म नभएको र दुःखको आहालमा डुबेर प्रशिक्षण गरेको सुनाइन् । प्रशिक्षणको क्रममा आर्थिक अभावका कारणले राम्रोसँग डाइट खान नपाउँदा बिरामीले थला पर्दा झन्डै मरेको बताइन् ।
० यस्तो अवस्थामा कसरी खेललाई निरन्तरता दिनुभयो त ?
– मलाई यहाँसम्म पुर्याउन थुप्रै व्यक्तिको हात रहे पनि मुख्य प्रशिक्षक शान्ति गुरुङ र ग्यालेक्सी स्कुलकी प्रिन्सिपल गीता राणाको विशेष योगदान रहेको छ । गुरुङले मेरो आर्थिक अवस्थामा सुधार ल्याउन परिषद्बाट मासिक तीन हजार रुपैयाँको व्यवस्था गरिदिनुभएको थियो भने राणाले आफ्नो स्कुलमा मलाई भलिबल प्रशिक्षकमा नियुक्ती दिनुभएको थियो । त्यसपछि मैले आनन्दका साथ खेल्न थालेकी थिएँ र मानसिक तनावबाट मुक्त भएकी थिएँ ।
० तपाईंले कहिलेदेखि भलिबलका प्रतियोगिता खेल्न थाल्नुभयो ।
– प्रशिक्षणका क्रममा थुप्रैपटक फ्रेन्डसिप म्याच खेले पनि २०६२ सालमा पहिलोपटक राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएकी थिएँ । उक्त १३औँ राष्ट्रिय भलिबल प्रतियोगितामा मैले सार्वजनिक संस्थानबाट खेलेकी थिएँ । आफ्नो पहिलो प्रतियोगिताबाटै बेस्ट खेलाडीको पुरस्कार जितेपछि म प्रशिक्षकहरूको नजरमा पर्न सफल भएकी थिएँ । त्यो दिन मजस्तो सामान्य परिवारबाट आएकी केटीले राष्ट्रियस्तरमा आफूलाई चिनाउन पाउँदा निकै खुसी लागेको थियो ।
० अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न पाउनुभयो कि भएन ?
– मैले श्रीलंकामा भएको १०औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा प्रतिस्पर्धा गरिसकेकी छु । उक्त प्रतियोगितामा नेपालले कास्यपदकसमेत जितेको थियो । पहिलोपटक अन्तर्राष्ट्रियस्तरमा सफलता पाउँदा र राष्ट्रिय खेलाडी बन्ने सपना पूरा हुँदा निकै खुसी लागेको थियो । त्यो दिन म आफ्नी बिरामी आमालाई छोडेर आएको सम्झना गर्दै खुवै रोएकी थिएँ ।
० राष्ट्रिय खेलाडी बन्दा कस्तो महसुस गर्नुभएको थियो ?
– आफ्नो सपना पूरा भएको दिन खुसी हुनु स्वाभाविकै भए पनि मेरोजस्तो स्थिति भएका खेलाडीलाई राष्ट्रिय खेलाडी बन्न कति गाह्रो हुँदोरहेछ त्यसलाई समेत आत्मसात् गरेकी थिएँ ।
० महिला खेलाडीहरूमाथि यौन दुराचार हुने गरेका छन्, तपाईंले त्यो अवस्थाबाट गुज्रिनुपर्यो कि परेन ?
– म त्यसबेला गरिब र थाङ्ने भएर होला कसैले मलाई त्यस्तो व्यवहार गरेको थाहा छैन । यदि मैले यस्तो कुराप्रति ध्यान दिएको र सहमति गरेको भए सायद त्यति दुःख पाउँदैनथे होला । यो सबै आफूमा भर पर्ने कुरा हो ।
० राम्री पनि हुनुहुन्छ, अहिले चर्चित राष्ट्रिय खेलाडीसमेत बनिसकेको अवस्थामा मन पराउनेहरू त थुप्रै होलान् नि ?
– मन पराउने त थुप्रै छन् होलान्, तर आफूले पनि त मन पराउनुपर्यो नि । मैले आफ्नो जीवनसाथीको बारेमा सोचिसकेकी छु ।
० प्रसङ्ग बदलौँ, महिला भलिबलको भविष्य कस्तो देख्नुभएको छ ?
– महिला भलिबल खेलाडीहरू निकै प्रतिभाशाली भएकाले मैले योे खेलको भविष्य निकै उज्ज्वल देखेकी छु । भलिबल सङ्घ र सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद्को निष्क्रियताले गर्दा खेलाडीले आफ्नो प्रतिभा देखाउन नपाएकाले सङ्घ र राखेप सक्रियताका साथ लाग्नुपर्ने देखेकी छु ।
० भलिबलले योभन्दा बढी सफलता प्राप्त गर्न के गर्नुपर्ला जस्तो लाग्छ ?
– भलिबल खेल टिम गेम भएकोले यहाँ एउटाको मिहिनेतले मात्रै केही हुँदैन । सबै खेलाडीले उत्तिकै मिहिनेत गर्नुपर्छ । अन्तर्राष्ट्रियस्तरमा सफलता पाउन नियमित रूपमा प्रतियोगिता हुनुपर्यो । प्रतिभावान खेलाडीको छनोट हुनुपर्यो । उचित किसिमको प्रशिक्षण र डाइटको व्यवस्था हुनुपर्यो । अन्तर्राष्ट्रियस्तरमा पदक विजेता खेलाडीलाई रोजगारीको व्यवस्था हुनुपर्यो र सङ्घ सक्रिय भएर लाग्नु पर्यो ।
० खेलाडी छनोटमा पनि धाँधली हुन्छ भन्छन् नि, यसमा तपाईंको के भनाइ छ ?
– खेलाडी छनोटमा धाँधलीभन्दा पनि नेपालमा आफन्तवाद हावी छ, त्यसो हुनुभएन । प्रतिभावान खेलाडीलाई अवसर दिनुपर्यो । खेलाडी पलायन हुनबाट बचाउनुपर्यो, त्यो जिम्मेवारी सङ्घले वहन गर्नुपर्छ ।
० अहिले तपाईं पुलिस क्लबबाट खेल्नुहुन्छ, कस्तो लागिरहेको छ त्यहाँको माहौल ?
– अहिले हामी थुप्रै राष्ट्रिय खेलाडी पुलिस क्लबबाट खेल्छौँ । त्यहाँको नियमित प्रशिक्षण र अनुशासनबाट म निकै प्रभावित छु । त्यहाँ सानो तहमा जागिरे भए पनि मैले आफ्नो भविष्य सुनिश्चित भएको महसुस गरेकी छु । अब म त्यहाँबाट पुलिस क्लब र मुलुकका लागि खेल्नेछु ।
उपाधि एपीएफको पोल्टामा
पेप्सी स्ट्यार्न्र्डड चार्र्टड राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई पराजित गरेर उपाधिमाथि कब्जा जमाएको हो । फाइनल खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको पुलिस क्लबले निर्धारित पचास ओभरमा दुई सय १६ रन बनाउन सफल भएको थियो । ब्याटिङका लागि निकै उत्कृष्ट मानिएको उक्त पिचमा पुलिस क्लबका खेलाडीले उत्कृष्ट ब्याटिङको प्रदर्शन गरेका थिए । जसमा मध्यक्रमका ब्याट्सम्यान प्रदीप ऐरीले ६५ रनको पारी खेल्दै पुलिसको स्कोरलाई दुई सयभन्दामाथि पुर्याउन सफल भएका थिए । प्रदीपले ६१ बलको सामना गर्दै पाँच छक्का र दुई चौकाको मद्दतले उक्त रन बनाएका थिए ।
विजयका लागि दुई सय १७ रनको चुनौती पाएको एपीएफले उक्त चुनौतीको सामाम गर्दै पुलिसमाथि आठ विकेटले विजय हासिल गरेको थियो । एपीएफलाई विजय गराउन कप्तान पारस खड्का र शरद भेषवाकरले उत्कृष्ट पारी खेलेका थिए । कप्तान खड्का र भेषवाकरले तेस्रो विकेटका लागि एक सय ४८ रनको साझेदारी गरेका थिए । आफ्नो विजयी इनिङमा पारसले ८७ बलको सामना गर्दै ९५ रन बनाएका थिए । पारसले उक्त पारीमा १० चौका र तीन छक्का प्रहार गरेका थिए । त्यस्तै अर्का खेलाडी भेषवाकरले टिकाउ पारी खेल्दै ६२ रनको अविजित पारी खेलेका थिए । भेषवाकरले उक्त रन बनाउन एक सय १३ बलको सामना गरेका थिए ।
पहिलोपटक राष्ट्रिय क्रिकेट प्रतियोगिता खेलका दुवै टिमले फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । राष्ट्रिय खेलाडीले भरिपूर्ण दुवै टोलीबीच भएको फाइनल खेल निकै सनसनीपूर्ण बनेको थियो । फाइनलमा बाजी मारेर एपीएफले एक लाख ५० हजार पुरस्कार जितेको थियो भने पुलिस क्लबले एक लाखमै चित्त बुझाउनुपरेको थियो । फाइनल खेलको म्यान अफ दि म्याच पारश खड्का चुनिएका थिए भने म्यान अफ दि सिरिज र उत्कृष्ट बलरको उपाधि एपीएफकै शक्ति गौचनले जितेका थिए । शक्तिले प्रतियोगिताभरि १४ विकेट लिन सफल भएका थिए । त्यस्तै भैरहवाका अन्तिम थापा उत्कृष्ट ब्याट्सम्यान चुनिएका थिए । राष्ट्रिय प्रतियोगिताको दसौँ संस्करणमा विभिन्न दस टिमको सहभागिता रहेको थियो ।
जुडो च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन
पाकिस्तानको इस्लामावादमा भएको छैटौँ दक्षिण एसियाली जुडो च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक सफलता हात लागेको छ । उक्त प्रतियोगितामा नेपाल दुई स्वर्ण, चार रजत र तीन कास्यपदक जित्न सफल भएको छ । नेपालले पुरुष टिम र पुरुष एकलमा स्वर्ण पदक जितेको हो । नेपालले पुरुष टिममा फाइनलमा बंगलादेशलाई पराजित गरेर स्वर्णपदक जितेको थियो । नेपालले सेमिफाइनलमा आयोजक पाकिस्तानलाई पराजित गरेको थियो । त्यस्तै पुरुष एकलको ६० केजी तौल समूहअन्तर्गत भएको खेलमा सरोज महर्जनले नेपाललाई स्वर्णपदक दिलाएका थिए । नेपालले अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा जुडोमा स्वर्णपदक जितेको यो पहिलो अवसर हो । त्यस्तै नेपाल महिला टिमतर्फ पनि रजतपदक जित्न सफल भएको छ । फाइनल भिडन्तमा नेपालका दुई खेलाडी खेल्न नसक्ने भएपछि आयोजक राष्ट्र पाकिस्तानले स्वर्णपदक जितेको जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले बताए । त्यस्तै, महिला ५२ केजी तौल समूहमा सुशीला अधिकारी रजतपदक जित्न सफल भइन् । अधिकारीले पाकिस्तान, बंगलादेश र श्रीलंकालाई पराजित गरे पनि फाइनलमा भारतीय खेलाडीसँग पराजित भएकी थिइन् । यसैगरी महिलातर्फको ६३ केजीमुनिको तौल समूहमा फुपुल्हामु खत्रीले पनि रजतपदक जितेकी थिइन् । यो प्रतियोगितामा प्रमिला खड्का, इन्दिरा राई र राजन जोशीले कास्यपदक जितेका थिए ।
प्रतिक्रिया