गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिन आग्रह

गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिन आग्रह


पोखरा महानगरपालिका वडा नम्बर ३२ लाई सबै बालबालिका विद्यालय भर्ना भएको वडा घोषणा गरिएको छ । पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले एक कार्यक्रमका बीच वडाका ५ देखि १२ वर्ष उमेर समूहका सम्पूर्ण बालबालिकाहरू विद्यालय भर्ना भएको घोषणा गरेकी हुन् । वडाका ६ जना विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गरि विद्यालयबाहिर नरहेको घोषणा गरिएको हो । घोषणासभामा कावा प्रमुख गुरुङले ती ६ जना बालबालिकालाई शैक्षिक सामग्री पनि वितरण गरिन् ।

घोषणा कार्यक्रमपछि बोल्दै उनले बालबालिकालाई विद्यालयमा भर्ना भएको घोषणा भन्दा उनीहरूलाई विद्यायमा टिकाउनु चुनौतीपूर्ण रहेको बताइन् । ‘घोषणा ठूलो कुरा हैन, यसको निरन्तरता चुनौतीपूर्ण छ । बालबालिकालाई विद्यालयमा टिकाउन सबैले जिम्मेवारी र दायित्व पुरा गर्नुपर्छ’, काबा प्रमुख गुरुङले शिक्षा महत्वपूर्ण आधार भएको उल्लेख गर्दै कुनै पनि बालबालिका शिक्षाको उज्यालोबाट बञ्चित हुने अवस्था आउन दिन नहुने बताइन् । उनले सबै बालबालिका विद्यालय आएको घोषणासंगै अव गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिनुपर्ने तर्क गरिन् । विद्यालयले बालमैत्री वातावरणमा शिक्षा र उनीको मनोभावनाअनुसार अध्यापन गराउनुपर्ने उनको सुझाव छ ।

सो अवसरमा महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न बालमैत्री कक्षाकोठा निर्माणमा जोड दिँदै सबै बालबालिकालाई विद्यालयमा टिकाउने र बिकाउने शिक्षा प्रदान गर्नेपर्ने बताए । उनले घोषणाले मात्रै नहुने भएकाले दिगो ब्यवस्थापन गर्नुपर्ने पनि बताए भने जनकल्याण सिकाई अध्ययन केन्द्रका अध्यक्ष टिकाराम पंगेनीले सिकाई केन्द्रले अनौपचारीक शिक्षामा ठूलो भूमिका खेलेको उल्लेख गरे ।

वडा नम्वर ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोगन माध्यमिक विद्यालय विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेल, ब्रह्मारुपा माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गालाल पण्डित र विष्णुप्रसाद तिवारी लगायतले बालबालिकालाई विद्यालयमा टिकाउन सबैको सहयोग र साथ चाहिने बताए ।