सम्भवतः विश्वमा नेपाल मात्र यस्तो मुलुक होला जहाँ जुनसुकै विषयलाई पनि राजनीतिक रंग लगाइदिएपछि त्यसले वैधानिकता प्राप्त गर्दछ । चाहे त्यो माओवादीले चलाएको प्रायोजित द्वन्द्व होस् वा मधेस आन्दोलन नै किन नहोस् । खराबै नियतले चलाइएका कथित राजनीतिक आन्दोलनहरू पनि बकाइदा अनुमोदन हुने गर्नाले नेपालमा मान्छे मार्ने हत्याराहरू उत्साहित हुने गरेका छन् । त्यसैले धम्कीको राजनीति गर्दै जनमानसलाई त्रसित बनाएर आ–आफ्नो सङ्गठन निर्माण गर्ने र आफूलाई क्रान्तिकारी ठान्ने दलहरू एकपछि अर्को गर्दै अस्तित्वमा आउने क्रम जारी छ । असत्यको जगमा हुर्कने कथित विद्रोहहरू समयक्रमसँगै पानीका फोकाजस्तै बिलाएर जान्छन् । त्यसको एउटा गतिलो उदाहरण हो एमाओवादीको वर्तमान उतारचढावको राजनीति ।
प्रतिक्रियावादीहरूको लगानीमा नेपालमा रगतको खोलो बगाएर नेपाली जनतालाई दशौँ वर्षसम्म आतङ्कित बनाउन सफल प्रचण्ड–मण्डली वर्तमानमा भीरको चिचिन्डो अर्थात् घरको न घाटको स्थितिमा पुगेको छ । अझै पनि क्रान्ति र विद्रोहका गफ गर्ने र पिसाबको न्यानोमा रमाउने उनीहरूको परिकल्पनाले विश्राम पाइसकेको छैन । विघटनको सङ्घारमा पुग्नु नै एमाओवादीले गरेको राष्ट्रिय सम्मेलनको मूल कारण हो । भन्नलाई त पार्टी सङ्गठन र सुदृढीकरणको नारा दिइएको छ, तर यथार्थ यो हो कि अब एमाओवादी समाप्तिको दिशातिर लम्किसकेको छ । विराटनगरको राष्ट्रिय सम्मेलनले एमाओवादीलाई थप समस्यामा पार्नेछ । ‘माओवादी’ पुच्छर राखेर जस्तो हर्कत र हविगत देखाइयो त्यसले माओ त्से तुङको बेइज्जत मात्र ग-यो । बीमाओवादीमा पनि पुरानो धङधगी कायमै रहेको वा अझ बढेको छ । त्यसैले उसको स्पष्ट कार्यदिशा वा मार्गचित्र के हो त्यो ऊ आफैँलाई नै थाहा छैन । एमालेले आफ्नो वर्गीय चरित्र आफैँले विश्वास गर्न नसक्ने गरी सिध्याइसकेको छ जसलाई ‘भाइकाङ्गे्रस’भन्दा राम्रो उपमा अरू के दिन सकिन्छ र ? अन्य भुरेटाकुरे कम्युनिस्ट पार्टीहरू ‘आए आँप गए झटारो’ सिवाय अरू केही गर्न सक्ने ल्याकत राख्दैनन् ।
युगाण्डाका कुनै बेलाका शक्तिशाली राष्ट्रपति इदी अमिन यति क्रूर थिए कि आफ्ना शत्रुहरूलाई छानी–छानी क्रूर ढङ्गले मार्न लगाउँथे र तिनका कलेजो झिकी फ्राई गरेर खान्थे । राजनीति गर्नेहरूमा क्रूरताको हद त्यहाँसम्म हुन्छ । हिटलरले ग्यास च्याम्बरमा राखेर लाखौँ यहुदीको बीभत्स हत्या गरे, स्टालिन र माओले पनि आफ्ना विरोधीहरूलाई छानी–छानी सफाया गरेकै हुन् । तिनै राक्षसतुल्य छवि भएकालाई आदर्श मानेर हिँड्ने नेपालका कम्युनिस्टहरू मौका नपाइन्जेल मात्र सोझा हुन्, मौका पाए वा परिस्थिति अनुकूल भए यिनले पनि आफ्नो वास्तविक वा सक्कली राक्षसी अनुहार देखाउनेछन् ।
गैरकम्युनिस्टहरू कुशल राजनीति गर्न असफल भएकाले नेपालमा कम्युनिस्टहरू बढेका हुन् । कम्युनिस्टले राम्रो कार्य गरेकाले यहाँ कम्युनिस्ट बढेका होइनन् । गरिबका लागि राजनीति गरेका हौँ भनेर मुलुकमा अधिक गरिबको सङ्ख्या भएकाले तिनलाई तान्न वा आकर्षण गर्न सजिलो भएको मात्र हो । तर, एउटा कुरामा के प्रस्ट हुन जरुरी छ भने नेपालमा कम्युनिस्टहरू हावी भएसम्म शान्तिको कल्पना नगरे हुन्छ । यिनीहरूको वर्चश्व राजनीतिमा भएसम्म नेपाली जनताले समृद्धि पनि प्राप्त गर्ने छैनन् ।
मूलतः नेपालमा यतिबेला गणतन्त्रवादी र राजतन्त्रवादीबीच लडाइँ चलिरहेको छ । यी दुई नै पक्ष र प्रतिपक्ष हुन् । संसद् वा संविधानसभामा गणतन्त्रवादीहरूको बहुमत गणितीय रूपमा देखिन्छ । सात–आठ वर्षको राजाबिनाको शासनसत्ता हेर्दा गणतन्त्र पूर्णतः असफल भइसकेको छ । अब कमल थापाको राप्रपा नेपालले सदन–सडकमा राजतन्त्रको पुनस्र्थापनाका खातिर आन्दोलनको थालनी गर्ने बेला भइसकेको छ । अबको आन्दोलन जनमतसङ्ग्रहमार्फत टुङ्गो लाग्नुपर्छ । त्यसकारण अब कमल थापाहरूले ढुक्क भएर भत्ता खाएर बस्नुहुँदैन । राजतन्त्र पक्षधरहरूको विशाल मोर्चा बनाएर तीन करोड नेपाली जनतालाई राजतन्त्र मुलुकलाई कतिसम्म आवश्यक छ भनेर बुझाउन थाल्नुपर्छ । नत्र नेपालका सबै नक्कली कम्युनिस्टहरू मिल्नेछन् र यो मुलुकलाई सामूहिक चिहान बनाउनेछन् । अब कमल थापाहरूले सदनबाट राजीनामा दिएर फेरि एकपटक राजतन्त्र स्थापनाका लागि सङ्घर्ष चलाउनुपर्छ ।
वास्तवमा किटेरै भन्नुपर्दा यो मुलुकमा तेस्रो जनआन्दोलनको सख्त जरुरत परिसकेको छ । त्यो जनआन्दोलन राजसंस्थाको पुनस्र्थापनाका लागि हुनुपर्नेछ । राजतन्त्रबिना यो मुलुक अक्षुण्ण र अखण्ड रहन नसक्ने यथार्थ नेपालको वर्तमान राजनीतिक, सामाजिक वातावरणलाई विश्लेषण गरे प्रस्ट हुन्छ । सबैतिरको अस्तव्यस्तता र भद्रगोलले यो एउटा सार्वभौमिकतासम्पन्न मुलुक हो कि विदेशीहरूको प्रयोग गर्ने क्रीडास्थल ? भन्नै नसकिने अवस्था छ । त्यसकारण देशभक्त नेपालीले राप्रपा नेपाल र कमल थापामाथि भरोसा र विश्वास बढाएका छन् । त्यो विश्वास र भरोसालाई यथार्थतामा परिणत गर्न तत्काल कमल थापाहरूले आफ्ना एजेण्डामा अझ बढी प्रस्ट हुन जरुरी छ । नेपाली जनताको मन–मस्तिष्कमा राजतन्त्र आवश्यक नै रहेछ भन्ने बुझाई परिपक्व तवरले बनिसकेको छ । फलाम रातो बनेर तात्तिएको अवस्था छ । आफूलाई जबर्जस्ती गणतन्त्रवादी भन्ने दलहरूको स्थिति नाजुक बन्दै गइरहेको छ । यही नै सही बेला हो राजतन्त्रको पुनस्र्थापनाका लागि अन्तिम धक्का दिने । त्यसैले नेपाल र नेपालीको अस्तित्वका लागि नयाँ संविधान निर्माणका लागि र नेपालको विकासका लागि राजासहितको लोकतन्त्र अर्थात् राजतन्त्रात्मक प्रजातान्त्रिक व्यवस्था यहाँ अपरिहार्य छ । अब यही व्यवस्थाका लागि कथित संविधानसभाको नौटङ्की छोडेर तेस्रो जनआन्दोलनको नेतृत्व लिन कमल थापा अग्रसर हुनैपर्छ । यसका लागि नेपाली जनता साथ दिन तम्तयार भएर बसेका छन् । बेलैमा कमल थापाहरूको बुद्धि फिरोस् ।
प्रतिक्रिया