महिला–स्वास्थ्यबारे डाक्टर श्रीप्रसाद अधिकारी

महिला–स्वास्थ्यबारे डाक्टर श्रीप्रसाद अधिकारी


bicharव्यक्तिचित्र
नेपाल सरकारद्वारा सञ्चालित चितवनको भरतपुर अस्पताल र भरतपुरकै पुष्पाञ्जली अस्पतालमा कार्यरत वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारी आफ्नो जन्म नै बिरामीको सेवा गर्नका लागि भएको बताउनुहुन्छ । चितवन भरतपुर नगरपालिका वडा नं. ७ कृष्णपुरमा जन्मिनुभएका डा. अधिकारीले नेपालका विभिन्न अस्पताल र स्वास्थ्यकेन्द्रमा सेवा गर्ने सिलसिलामा हुम्ला जिल्ला स्वास्थ्य कार्यालयमा डेढ वर्ष (नेपाल सरकारअन्तर्गत) नवलपरासी बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्रमा १ वर्ष (नेपाल सरकारअन्तर्गत) र भरतपुर अस्पतालमा तीन वर्ष बिताइसक्नुभएको छ । प्रारम्भिक शिक्षा राष्ट्रिय प्राथमिक पाठशाला कृष्णपुरबाट हासिल गर्नुभएका उहाँले प्रेमबस्ती माध्यमिक विद्यालय, अमृत साइन्स कलेज काठमाडौं हुँदै साउथ वेस्टर्न युनिभर्सिटी फिलिपिन्सबाट एमबीबीएस र काठमाडौंको टिचिङ हस्पिटलबाट एमडी गर्नुभएको छ । स्त्रीरोग र प्रसूतिसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले सरल स्वभावका मृदुभाषी डा. श्रीप्रसाद अधिकारीसँग गरिएको कुराकानीको सार प्रस्तुत गरिएको छ ।
चिकित्सा क्षेत्रमा लाग्न कसरी प्रेरित हुनुभयो भन्ने जिज्ञासा राख्दा डा. अधिकारीले आफू सानो हुँदा चितवनमा डाक्टरको निकै कमी रहेको र डाक्टर भेट्दा भगवान् भेटेजस्तो अनुभूति हुने गरेको सम्झना उप्काउँदै डाक्टरले पाएको सम्मान वा समाजले दिएको इज्जत देख्दा आफूलाई पनि ठूलो भएपछि डाक्टर बन्ने रहर पैदा भएको बताउनुभयो । आफू पढाइमा पनि राम्रै रहेको अनि बुबाआमाको इच्छा पनि छोरालाई डाक्टर बनाउने भन्ने नै रहेको उल्लेख गर्दै उहाँले सानैदेखि आफूलाई ठूलोबुबाले ‘डाक्टर छोरा’ भनेर बोलाउने गर्नुभएको खुलासा गर्नुभयो । यसरी सानैदेखि एक चिकित्सक भई नेपालमै बसेर गाउँका जनताको सेवा गर्ने इच्छा उहाँमा पलाएको रहेछ ।
चिकित्सकको प्रमाणपत्र लिएर पहिलोपटक बिरामी जाँच्दाको अनुभव सुनाउँदै डा. अधिकारीले भन्नुभयो, ‘अवश्य पनि परिश्रमको फल मीठो हुन्छ, लामो समयको अध्ययनपछि डाक्टर भएर सेतो कोट तथा काँधमा स्टेथेस्कोप भिरेर बिरामी जाँच्दा गर्व महसुस भएको थियो ।’
चिकित्सकका रूपमा पनि उहाँको चाहना त मुटुरोग विशेषज्ञ बन्ने रहेछ । तर, जब एमबीबीएस सकेर हुम्लाजस्तो दुर्गम क्षेत्रमा गएर उहाँले डेढ वर्ष काम गर्नुभयो, तब उहाँलाई थाहा भएछ कि नेपालमा धेरै महिला प्रसूतिसम्बन्धी समस्याबाट पीडित रहेछन् । गरिबी तथा शिक्षाको कमीले गर्दा धेरै महिलाले बच्चा जन्माउन नसक्दा अकालमै ज्यान गुमाउनु परेको देखेपछि उहाँले कर्डियोलोजिस्ट (मुटुरोग विशेषज्ञ) बन्ने सोचाइ परिवर्तन गरी एउटा दक्ष प्रसूति तथा स्त्रीरोग विशेषज्ञ भई काम गर्ने सोच बनाउनुभएको रहेछ ।
महिलामा पाठेघरसम्बन्धी रोग ज्यादा देखिएको किन होला भन्ने जिज्ञासा राख्दा डा. श्रीप्रसाद भन्नुहुन्छ, ‘हाम्रोजस्तो विकासोन्मुख देशमा महिलालाई लाग्ने रोगहरूमध्ये पाठेघरसम्बन्धी समस्या ज्यादा देखिनुका कारणहरू निम्न प्रकार छन् । १. गरिबी (धेरैजसो महिलाले घरमै बच्चा जन्माउने, (हिमाली, पहाडी भेगमा बढी), २. रुढिवादी परम्परा (बच्चा जन्मने क्रममा पेटमा थिच्ने, सालनाललाई पेटमा प्रेसर दिएर निकाल्ने र कतिपय ठाउँहरूमा बच्चा जन्मेपछि पेटमा खुट्टाले थिचेर पाठेघरको रगत निकाल्ने चलन पनि छ जसले गर्दा आङ खस्ने समस्या तथा धेरै रगत बगेर रक्त अल्पता र किटाणुको सङ्क्रमण हुने डर हुन्छ ।), ३. सरसफाइको कमी (सरसफाइको कमीले गर्दा किटाणुको सङ्क्रमण हुने गर्दछ साथै किटाणुको सङ्क्रमणले तल्लो पेट दुख्ने, गन्हाउने पानी बग्ने समस्या निम्त्याउँछ । जसले गर्दा एन्टिबायोटिक्सको सेवन गर्नुपर्ने र कहिलेकाहीँ औषधिको सेवनले ठीक नभएमा पाठेघरको अप्रेसनसमेत गर्नुपर्ने अवस्था आउँदछ ।), ४. सन्तुलित आहारको कमी (सन्तुलित आहारको कमीले गर्दा रक्तअल्पता, किटाणुको सङ्क्रमण साथै आङ खस्ने समस्या आउँदछ ।), ५. शिक्षाको कमी (हाम्रोजस्तो मुलुकमा शिक्षाको कमीले गर्दा महिलाले धेरै बच्चा जन्माउने उमेर नपुगी बिहे गर्ने सानो उमेरमा बच्चा जन्माउने, परिवार नियोजनको साधनको सही उपयोग नगर्ने गर्नाले पाठेघरसम्बन्धी समस्याबाट पीडित हुनुपरेको छ ।)’
यसैगरी महिलामा देखिने यौन रोग भनेको कस्तो रोग हो र यसको उपचार कसरी गरिन्छ भन्ने जिज्ञासा राखियो । यसबारे प्रस्ट्याउँदै उहाँले यौनरोग भन्नाले यौन सम्पर्कबाट हुने समस्यालाई जनाउने बताउनुभयो । त्यसो त महिलालाई मात्र नभई यौनरोग पुरुषहरूलाई पनि लाग्छ, तर महिला बढी संवेदनशील हुने र पाठेघरको सम्बन्ध पेटसम्म पुग्ने भएकाले महिलालाई यो समस्या चाँडो देखापर्ने डा. अधिकारीको कथन छ । यौनरोग लागेका महिलालाई तल्लो पेट दुख्ने, गन्हाउने पानी बग्ने, ज्वरो आउने यौनाङ्ग चिलाउने र पोल्ने गर्दछ भने कतिपय महिलामा स–साना बिमिराहरू, खटिराहरू पनि देखापर्छन् । यस्तो समस्या आएमा महिलाले तुरुन्त चिकित्सकको सल्लाहबमोजिम औषधिको सेवन गर्नुपर्ने उहाँको सुझाव छ । कतिपय अवस्थामा ल्याबटेस्टसमेत गर्नुपर्ने र यौन–पार्टनरलाई पनि औषधि सेवन गराउनुपर्ने उहाँको सुझाव छ ।
कतिपय गर्भवती महिलाले समयअगाडि नै र कतिले धेरै ढिलो बच्चा जन्माउने कारणबारे उहाँ यसरी प्रस्ट्याउनुहुन्छ, ‘अन्तिम महिनावारी भएको दिनबाट नौ महिना सात दिन जोडेपछि बच्चा जन्मने समय अथवा ‘एक्सपेक्टेड डेट’ अर्थात् डेलिभरीको दिन निस्कन्छ, जुन २ सय ८० दिनको हुन्छ । ५० प्रतिशत महिलाले बच्चा समयमा अथवा निश्चित डेटमै जन्माउँछन् भने २५ प्रतिशतले अगाडि र २५ प्रतिशत महिलाले चाहिँ दिएको डेटभन्दा पछाडि जन्माउँछन् । मेडिकल साइन्सले अझै पनि बच्चा जन्मने प्रक्रिया कसरी सुरु हुन्छ भन्ने कुरा प्रमाणित गर्न सकेको छैन । तर, अनुसन्धानकर्ताले विभिन्न हाइपोथेसिस निकालेका छन्, जस्तै : पाठेघर तन्किएर बेथा लाग्ने प्रक्रिया सुरु हुन्छ । अर्को हाइपोथेसिस बच्चाको दिमागको ‘हाइपोथलामस’मा रहेको हर्मोनले गर्दा बेथा लाग्ने प्रक्रिया अगाडि बढ्दछ । कतिपय महिलाहरू जस्तै, पाठेघरको मुख खुला भएका, पिसाबमा सङ्क्रमण भएका, चुरोट पिउने वा ड्रग सेवन गर्नेहरू, पाठेघर वंशाणुगत रूपमा एब्नर्मल भएका महिला पाठेघरको मुखको अप्रेसन गरेका महिलामा बच्चा समय नपुगीकन बेथा लाग्न सक्दछ । ढिला बच्चा जन्मने अवस्थाहरू : १. डेटा क्याल्कुलेसन गलत भएर, २. उमेर धेरै भएका महिलाहरूमा, ३. बच्चाको कारण (एब्नर्मल बच्चा भएमा), ४. वंशाणुगत ।’
समयअगाडि जन्मिएका बच्चा कमजोर हुन्छ भन्ने कुरा पूर्णत: असत्य नभएको जानकारी दिँदै समय नपुगी जन्मिएका बच्चा कसरी कमजोर हुन्छ त भन्ने सन्दर्भमा उहाँ यसरी प्रस्ट्याउनुहुन्छ, ‘फोक्सोमा हुने सफ्र्याक्टान्ट भन्ने तत्वको कमीले गर्दा फोक्सो कमजोर भई श्वास–प्रश्वास प्रक्रियामा समस्या आउँदछ, बच्चाले आमाबाट पाउने रोग प्रतिरोधात्मक तत्वको कमीले गर्दा निमोनिया हुने, मेनिन्जाइटिस र पखाला लाग्ने समस्या देखापर्दछ, जन्डिस (बच्चाको कलेजोको कमजोरीले गर्दा रगतमा बिलिरुबिनको मान बढी देखिन्छ ।) र, रक्तअल्पता, ब्रेनह्यामरेज आदि समस्या पनि त्यस्ता बच्चामा देखापर्न सक्छन् ।’ यस्तै, गर्भवती महिलाको पेट चिरेर बच्चा निकाल्नुपर्ने कारणबारे प्रस्ट्याउँदै उहाँले आमाको उचाइ धेरै सानो तथा बच्चा ठूलो भएमा, लामो समय बेथा लागेर पनि बच्चा जन्मन नसकेमा, आमालाई नर्मल डेलिभरी हँुदा कुनै खतरा भएमा, बच्चा उल्टो बसेमा वा तेस्रो बसेमा, बच्चाको धड्कन गडबड भएमा वा बच्चाले दिसा खाएमा, साल पाठेघरको मुखमा भएमा, नाल टाउकोभन्दा अगाडि आएमा वा खसेमा, कुनै पनि बेला बच्चालाई वा आमालाई खतरा भएमा अप्रेसन गरेर निकाल्नुपर्ने अवस्था निम्तने जानकारी दिनुभयो ।
अहिलेसम्म लगभग तीन–चार हजार महिलाको अप्रेसन गरेर बच्चा निकालिसक्नुभएका डा. अधिकारीसँग अपरेसन गरेर निकालिएका र प्राकृतिक तरिकाले जन्मिएका बच्चाको शारीरिक अवस्थामा हुने फरकपनबारे पनि जिज्ञासा राखियो । डा. अधिकारीका अनुसार यदि पूरा समय पुगेर अप्रेसन गरिएको छ र अन्य भित्री अङ्गमा कुनै समस्या छैन अर्थात् बच्चाले दिसा खाएको छैन, अपाङ्ग छैन र लामो समय बेथा लागेर बच्चाको धड्कनमा गडबडी भएको छैन भने प्राकृतिक तरिकाले जन्मिएको र अप्रेसन गरेर जन्मिएको बच्चाको शारीरिक अवस्थामा खासै फरक हुँदैन । भर्खर जन्मिएका बच्चाहरू सबैलाई निमोनिया हुन्छ भन्ने छैन भन्दै उहाँ अगाडि भन्नुहुन्छ, ‘तर कहिलेकाहीँ विभिन्न कारणले गर्दा निमोनिया हुन सक्दछ । जस्तो कि समय नपुगेर जन्मेका बच्चा, तौल नपुगेर जन्मिएका बच्चा, पेटमा विभिन्न कारणले बढ्न नसकेका बच्चा, आमाबाट सङ्क्रमण भएर जन्मिएका बच्चा, साथै जन्मिसकेपछि विभिन्न कारणवश बच्चाको राम्रो स्याहार गर्न नसकेका, स्तनपान गराउन नसकेका बच्चाहरूमा रोगसँग लड्न सक्ने क्षमताको मी हुन्छ ।’
एक चिकित्सकका रूपमा देश र जनताको सेवा गर्न पाउँदा गौरव लागेको अभिव्यक्ति दिने डा. अधिकारी कहिलेकाहीँ पब्लिक र डाक्टरबीच कम्युनिकेसन वा काउन्सेलिङको अभावका कारण समस्या देखापर्दा तेस्रो समूहले फाइदा उठाउने गरेको अवस्थाप्रति गुनासो गर्नुहुन्छ । यस्तो समस्याको समाधानका लागि चिकित्सक तथा समाजसेवीहरूबाटै पहल हुनुपर्ने उहाँको बुझाइ छ, जसले गर्दा चिकित्सकहरूमा पेसाप्रति वितृष्णा बढ्दैन र विदेश पलायन हुनबाट पनि उनीहरूलाई रोक्न सकिन्छ ।
प्रस्तुति : वीरेन्द्रमणि पौडेल