राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालाई खेलकुदबाट विस्थापित गर्न लामो समयदेखि करसत गर्दै आएका युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले अन्त्यमा गैरकानुनी तवरमा राजनीतिक हतियार प्रयोग गरेका छन् । लामालाई परिषद्बाट नहटाए मन्त्री पदबाट समेत राजीनामा दिने घोषणा गरेका मन्त्री पौडेलले आफ्नो अभीष्ट मन्त्रिपरिषद्बाट पूरा नभएपछि स्वेच्छाचारी ढङ्गले लामालाई पदावधि समाप्त भएको पत्र थमाएर अदालत जान बाध्य पारेका छन् । श्रीलंकाबाट फर्किएपछि मन्त्री पौडेलले खेलकुदका संरक्षक तथा प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर लामालाई हटाउन अनुनयविनय गरेका थिए । सो अवसरमा पौडेलले ‘यसरी म काम गर्न सक्दिनँ, होइन भने राजीनामा दिन्छु’ भनेका थिए । त्यसपछि प्रधानमन्त्री कोइरालाले कानुनमन्त्री नरहरि आचार्यलाई बोलाएर समस्या समाधान गर्न अह्राएका थिए । प्रधानमन्त्रीकै उपस्थितिमा मन्त्री आचार्यले कानुनी र व्यावहारिक रूपमा लामालाई हटाउन नसकिने, लामालाई हटाए यसले गलत सन्देश जाने कुरा मन्त्री पौडेललाई स्पष्ट पारेका थिए । मन्त्री आचार्यले ‘अहिले खेलकुदले सही दिशा लिइरहेको र राम्रो काम गर्नेलाई काम गर्न दिई आफ्नो कार्यकाल पूरा गर्न दिनोस्’ भनेका थिए । त्यसपछि पौडेलले ‘म राजीनामा दिन्छु’ भन्दा प्रधानमन्त्रीले ‘त्यो एमाले पार्टी र तपाईंको व्यक्तिगत कुरा हो, म के गर्न सक्छु’ भनेपछि मन्त्री पौडेल रातोकालो भएर फर्किएका थिए ।
आफ्नो अन्तिम प्रयास पनि असफल भएपछि अर्थात् प्रधानमन्त्री कोइरालाले कुनै चासो नदेखाएपछि मन्त्री पौडेल एमाले अध्यक्ष झलनाथ खनालको शरणमा पुगेका थिए । त्यसपछि अध्यक्ष खनालसहित बसेको एमाले नेताहरूको बैठकले लामालाई हटाउने निर्णय गरेको थियो । सोही निर्णयअनुरूप जेठ २ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री पौडेलले लामालाई हटाउने प्रस्ताव लगेर गएका थिए । सो बैठकमा पनि लामालाई हटाउन प्रधानमन्त्री कोइरालाले कुनै चासो नराखेपछि मन्त्री पौडेलको अन्तिम प्रयास पनि तुहिएको थियो । पटक–पटक सदस्यसचिव लामालाई जेठको पहिलो घाम देख्न नपाउने अभिव्यक्ति दिँदै हिँडेका मन्त्री पौडेलले त्यसपछि पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठको इसारामा स्वेच्छाचारी ढङ्गले गैरकानुन कार्य गर्दै ऐन–कानुनको हुर्मत लिने कार्य गरेका छन् । मन्त्री पौडेलले खेलकुद विकास ऐन, २०४८ को दफा ३ को उपदफा २ को खण्ड ख बमोजिम लामालाई मन्त्रिपरिषद्ले नियुक्ति दिएको जान्दाजान्दै यतिबेला त्यसलाई गलत ढङ्गले व्याख्या गर्दै लामाको पदावधि सकिएको पत्र तयार गरेर लामालाई अदालत जान बाध्य पारेका छन् । पत्रमा मन्त्री पौडेलले दफा ६ को २ अन्तर्गत लामाको नियुक्ति भएको जिकिर गर्दै उनको कार्यकाल सकिएको जानकारी गराएका छन् । लामाको नियुक्ति पूर्वसदस्यसचिव हरिबाबु चौधरीलाई ०६६ भदौ २६ गते दिएको नियुक्तिसँग जोडेर ०७० भदौ २५ गतेसम्म कायम रहेको पत्रमा उल्लेख गरिएको छ । जुन कुरा नेपाल सरकार (म.प.) को मिति ०६८/२/२७ को निर्णयअनुसार लामालाई दिइएको नियुक्तिपत्रमा बाँकी कार्यकालका लागि भनेर कहीँ उल्लेख गरिएको छैन ।
पत्रमा मन्त्री पौडेलले दफा ६ को २ अन्तर्गत नियुक्ति भएको जानकारी गराए पनि सदस्यसचिव र बोर्ड सदस्यहरूकोे नियुक्तिमा दफा ३ को उपदफा २ ख मा चार वर्षका लागि नियुक्ति हुने व्यवस्था प्रस्ट रूपमा लेखिएको छ । सोअनुरूप लामा र अन्य सदस्यहरूको नियुक्ति भएको मन्त्रालयले प्रदान गरेको नियुक्तिपत्रको आधारबाट प्रस्ट रूपमा थाहा पाउन सकिन्छ । जानकारीका लागि यसको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खेलकुदको निजी सचिव र राष्ट्रिय खेलकुद परिषद्मा पठाइन्छ । तर, कानुनी रूपमा निकै कमजोर रूपमा प्रस्तुत भएका मन्त्री पौडेलले यसलाई राजनीतिक रङ्ग दिने दुस्साहस गरेका छन् । उनले लामासहितको नियुक्तिलाई गलत ढङ्गले व्याख्या गर्दै, सत्यतथ्यमाथि पर्दा हाल्ने असफल कोसिस गरेका छन् । उल्टै मन्त्री पौडेलले दफा ६ को २ लाई उच्च प्राथमिकतामा राख्दै यसैलाई सही अथ्र्याएर खेलकुदमा भाँडभैलो मच्चाउने कुप्रयास गर्दै धमिलोपानीमा माछा मार्ने कोसिस गरेका छन् । यहाँ मन्त्री पौडेलले उल्लेख गरेको दफाअनुसार नियुक्ति भएको भए मात्र बाँकी पदावधि भनेर बुझिन्थ्यो । खेलकुदमन्त्री भएको तीन महिनासम्म कानमा तेल हालेर बस्ने अहिले ऐनमै भएको र हरिबाबु चौधरीको नियुक्तिसँगै लामाको नियुक्तिलाई जोडेर मन्त्रीले खेलकुदमा आफ्नो शक्तिको दुरुपयोग गर्दै नाङ्गो नाचको प्रदर्शन गरेका छन् । जसले अहिले खेलकुदमा नकारात्मक प्रभाव पर्नुका साथै एमालेले खेलकुदमा गर्न खोजेको ताण्डवको समेत पर्दाफास भएको छ ।
खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालेदेखि नै लामालाई हटाउने कसरतमा लागेका मन्त्री पौडेल अहिले पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठको जालमा नराम्रोसँग फसेका छन् । श्रेष्ठको उक्साहटमा लागेर ऐन–कानुनको मर्मलाई समेत बुटले कुल्चिएका पौडेलको अदालतको फैसलासँगै हरिविजोग हुने पक्का भएको छ । मन्त्रिपरिषद्को अपहेलना गर्दै नितान्त राजनीतिक सोचको उपजको रूपमा लामालाई खेलकुदबाट बहिर्गमन गराएका मन्त्री पौडेलले अब यसको ब्याजसहित भर्पाइ गर्नुपर्नेछ । नियम–कानुनविपरीत लामामाथि एकोहोरो खनिएर खेलकुदमा अराजकता र द्वन्द्व फैलाउन क्रियाशील मन्त्री पौडेललाई लामाले चुनौती दिँदै भने, ‘तपाईंले गैरकानुनी कार्य गर्नुभएको छ, यसरी खेलकुद चलाउन सक्नुहुन्न, म दाबाका साथ भन्छु यसरी खेलकुद चलाउन पनि दिँदैनौ ।’ लामाको यो गर्जनपछि विगत ३५ महिनादेखि शान्त खेलकुदमा पुनः अराजकता भित्रिने निश्चित भएको छ । साथै लामाले मन्त्री पौडेलले गैरकानुनी र अराजक कार्य गरे पनि आफूले कुनै पनि किसिमको अराजक कार्य नगर्ने र निमय–कानुनसम्मत अगाडि बढ्ने प्रस्ट पारेका छन् । लामाले आफूलाई न्यायालयप्रति पूर्ण विश्वास भएको र आफूले न्याय पाउने कुरामा ढुक्क भएकोसमेत बताए । उनले यसअघिका पूर्वसदस्यसचिव रुक्मशमशेर राणा र पूर्वउपाध्यक्ष पीताम्बर तिम्सिनाको नजिरको उदारहण दिँदै न्यायालयले आफूलाई न्याय दिने बताए ।
लामा अदालतमा
युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सदस्यसचिव युवराज लामाको पदावधि सकिएको भन्दै लामालाई पदमुक्त गरेपछि निवर्तमान राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामा कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेका छन् । खेलकुद मन्त्रालयले गत शुक्रबार लामालाई पदावधि समाप्त भएको जानकारी गराउँदै पदमुक्त गराए पनि आइतबार मात्र पत्र थमाएको थियो । आफूलाई पदमुक्त गरिएको पत्र प्राप्त गर्नासाथ लामाले परिषद्मा पत्रकार सम्मेलनको आयोजना गरी यो गैरकानुनी हर्कतविरुद्ध आफू कानुनी लडाइँ लड्न अदालत जाने जानकारी दिएका थिए । सोहीअनुरूप लामाले आइतबार नै आफ्नो दलबलसहित सर्वोच्चमा पुनर्वहालीको माग राख्दै रिट दायर गरेका छन् । उक्त रिटमा लामाले पदावधि सकिएर भर्खरै निवर्तमान भएका ६ जना सदस्यको पुनर्वहालीको माग राख्दै रिट दायर गरेका छन् । रिटमा युवा तथा खेलकुद मन्त्रालय र खेलकुदमन्त्री पौडेललाई विपक्षी बनाइएको छ । लामालाई मन्त्री पौडेलले पदावधि सकिएको भन्दै पदमुक्त गरे पनि लामालाई ०६८ साल जेठ २७ गते राखेपमा नियुक्ति गरिएकाले उनले कार्यकाल आगामी ०७२ जेठ २६ गतेसम्म रहेको छ ।
षड्यन्त्रकारी जीवनरामको सुसाइट गोल
मन्त्रीजस्तो गरिमामय पदमा बसेर खेलकुद विकास ऐन २०४८ को राम्रोसँग अध्ययन, विश्लेषण र सुझाव नलिईकन राजनीतिक प्रतिशोधको भावनाले ओतप्रोत भई खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले गरेको निर्णयले खेलकुदको गरिमाको साथसाथै एमालेजस्तो राजनीतिक उचाइ भएको पार्टीको तेजोबध भएको छ । यस्तो घिनौनो र गैरकानुनी कार्य गर्न र गराउनमा पूर्वसदस्यसचिव तथा अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठको प्रमुख भूमिका रहेको छ । यो खेलकुदको लडाइँ अहिले महाभारतको लडाइँभन्दा कम भएको छैन । यसमा सकुनीको भूमिका जीवनरामले निभाएका छन् । खेलकुद ऐन २०४८ लागू भइसकेपछि वर्तमान अवस्थासम्म आइपुग्दा बागमतीमा पानी धेरै बगिसकेको छ । यस्तो अवस्थामा हचुवाको भरमा मन्त्री पौडेलको काँधमा बन्दुक राखेर जीवनरामले सदस्यसचिव युवराज लामालाई निशाना साँधे पनि त्यो गोल नभई उल्टै सुसाइट गोल हुने खतरा बढेको छ । श्रेष्ठको यो गैरकानुनी निर्णयको प्रभाव अहिले नकारात्मक देखिनुका साथै एमाले पार्टीलाई समेत कठघरामा खडा गरेको छ । जीवनरामले यहाँ एमालेलाई माछा–माछा देखाउन खोजे पनि भ्यागुतो मात्र हात लाग्ने प्रस्ट रूपमा देखिएको छ ।
स्याललाई डेन्टिङ–पेन्टिङ गरेर बाघ बनाएर पठाएपछि एमालेको यस्तो हविगत हुनु स्वाभाविकै थियो । यसको उदाहरण अहिले खुद मन्त्री पौडेल भएका छन् । यस सम्बन्धमा एमालेको उच्च तहबाट पार्टी र पार्टीको भविष्यको सम्बन्धमा गम्भीर छलफल र सोचविचार गर्नुपर्ने देखिएको छ । अन्यथा भीडबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्ने अवस्थाचाहिँ रहँदैन । स्यालको सिकार गर्न जाँदा बाघ मार्ने तयारी गरेर जानुपर्ने ठाउँमा बाघ मार्न जाँदा फट्याङ्ग्रो मार्नेसमेत तयारी नगरेकाले अहिले एमालेको रणनीति घर न घाटको देखिएको छ । अर्थात् ओठमुख सुकाएर नीलो पारेको अवस्था छ । खेलकुदमा अक्षम सावित भएका र आफ्नो भूमिका निर्वाह गर्न पूर्ण रूपमा असफल भएका खेलकुदमन्त्री पौडेललाई अब निजगढमा बन्ने फास्ट ट्रयाक र एयरपोर्टको जिम्मा दिएमा मात्र एमालेलाई राजनीतिक फाइदा हुने देखिन्छ । अन्यथा भोलि पनि जीवनरामको इसारामा मन्त्री पौडेलले अर्को अराजक हर्कत नगर्लान् भन्न सकिँदैन ।
खेल अन्तरवार्ता
मलाई न्यायालयप्रति पूर्ण विश्वास छ ः युवराज लामा
० खेलकुदमन्त्रीले तपाईंलाई पदावधि सकिएको भनेर राखेपको सदस्यसचिवबाट हटाएका छन्, के तपाईंको पदावधि सकिएकै हो त ?
– मन्त्रीज्यू आफ्नो अधिकार प्रयोग गर्न पूर्ण रूपमा स्वतन्त्र हुनुहुन्छ, यसमा मेरो भन्नु केही छैन । तर, उहाँले झुटको सहारा लिँदै जसरी गैरकानुनी रूपमा भ्रमको खेती गर्नुभो त्यसमा मेरो घोर आपत्ति छ । यो मलाई बदनाम गर्ने स्टन्ट मात्रै हो, हिन्दी फिल्मको प्रचारजस्तै । म कानुनसम्मत चल्ने मान्छे, मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार मेरो पदावधि सकिएको छैन, मेरो नियुक्तिपत्रमा मन्त्रीले भनेजस्तो कहीँ पनि उल्लेख गरिएको छैन । मेरो अवधि अझै १३ महिना बाँकी छ ।
० त्यसो भए मन्त्री पौडेलले किन यस्तो निर्णय गरेका होलान् त ?
– त्यो मलाई उहाँको अल्पज्ञानको उपजजस्तै लाग्छ । अन्यथा उहाँले यस्तो गैरकानुनी निर्णय कदापि लिनुहुन्थेन होला । उहाँले अहिलेको मन्त्रिमण्डललाई बदनाम गर्न कानुनी राज्यको बर्खिलाप अधिकार प्रयोग गर्नुभएको छ । जसलाई म मन्त्रीले स्वेच्छाचारी रूपमा गरेको निर्णय हो भन्न चाहन्छु । यसले भविष्यमा ऐन–कानुनलाई धक्का पुग्न सक्छ । यो एमालेभित्रकै एक गुटको बद्नियतले खेलकुदलाई छिन्नभिन्न र विभाजन गरी आफ्नो निहित स्वार्थ प्राप्तिका लागि गरिएको गैरकानुनी निर्णय हो ।
० यो निर्णयलाई तपार्इंले राजनीतिक रङ्ग दिन खोज्नुभो, के यसमा राजनीति घुसेकै छ त ?
– खेलकुदलाई राजनीतीकरण गर्ने उद्देश्यले गरिएको यो नितान्त राजनीतिक निर्णय हो, यसमा कुनै शङ्का छैन । यसले अब खेलकुदमा अराजकता मात्रै भित्याउनेछ । तर, म दाबाका साथ भन्छु, चुनौती दिन्छु, यसरी खेलकुद चलाउन सक्नुहुन्न । हामी यसरी खेलकुद चलाउन दिँदैनौँ ।
० उसो भए तपाईंहरूको साँढे भिडन्तमा अब कहिलेसम्म चल्छ त ?
– यो विवाद हामीले निकालेका होइनौँ । र पनि, उहाँ अराजक बने पनि हामी अराजक बन्ने पक्षमा छैनाँै । हामी मन्त्रीको यो गैरकानुनी कदमप्रति अदालत गइसकेका छौँ । मलाई न्यायालयप्रति पूर्ण विश्वास छ ।
० न्याय पाउने कुरामा कत्तिको विश्वस्त हुनुहुन्छ ?
– न्याय पाउने कुरामा म आशावादी होइन, पूर्ण विश्वस्त छु । सर्वोच्चको फुलबेन्चले ०६८ चैत १७ गते तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीले गरेको निर्णयलाई अदालतले कदापि उल्टाउने छैन । यो निर्णयले अन्य सबै नियुक्तिको रक्षा गरेको छ । यसर्थमा कि हामीले कुनै गैरकानुनी कार्य गरेका छैनौँ ।
० खेलकुदमन्त्रीले मन्त्रिपरिषद्को आदेशसमेत नमानी गैरकानुनी कदम उठाएको भन्नुभो, के अब खेलकुदमन्त्रीप्रति कारबाही होला त ?
– मन्त्रिपरिषद्को आदेशविपरीत कार्य गर्ने खेलकुदमन्त्रीलाई मन्त्रिपरिषद्का अध्यक्षले अब कारबाही गर्ने कि नगर्ने त्यो अदालतको फैसलापछिको कुरो हो । यदि उहाँको कदम अवैधानिक र गैरकानुनी ठहरिए अवश्य कारबाही हुनुपर्छ ।
खेल समाचार
पौडेलद्वारा पदबहाली
राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यसचिव चूडामणि पौडेलले पदबहाली गरेका छन् । त्रिपुरेश्वरस्थित राखेपमा रहेको सदस्यसचिवको कार्यकक्षमा पौडेलले पदबहाली गरेका हुन् । पौडेललाई शुक्रबार सदस्यसचिवको जिम्मेवारी दिइएको थियो । उनी युवा तथा खेलकुद मन्त्रालयका सहसचिव हुन् । पदबहालीपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव पौडेलले तत्काललाई अन्तरिम भनिए पनि अर्को व्यवस्था नहुन्जेलसम्म आफूले कार्य गर्ने बताए । उनले खेलकुदको विकास र विस्तारका लागि पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता र प्रोत्साहन गर्ने नीतिलाई जोड दिने बताउँदै यी कुरालाई ध्यानमा नराख्ने हो भने अपेक्षाकृत नतिजा हासिल गर्न नसकिने बताएका थिए । सदस्यसचिव पौडेलले परिषद्को पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याउँदै एउटा व्यक्तिले मात्र सबै काम सम्भव नहुने हुँदा टिम स्पिरिटको भावनाअनुसार अगाडि बढ्ने बताए । उनले खेलक्षेत्रका लागि राज्यको कुल बजेटमध्ये १ प्रतिशत बजेट छुट्याउन सम्बन्धित विभिन्न संस्थाले पनि लबिङ गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । त्यसअघि सदस्यसचिव पौडेललाई परिषद्अन्तर्गत विभिन्न विभागका प्रमुख, शाखा प्रमुख, कर्मचारीलगायतले स्वागत गरेका थिए ।
क्रिकेट फ्यान्सद्वारा टिसर्ट सार्वजनिक
क्रिकेटको विकास र विस्तारमा सहयोग पु¥याउने उद्देश्यले खोलिएको नेपाली क्रिकेट फ्यान्स पेजले टिसर्ट सार्वजनिक गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य मनबहादुर न्यौपाने र खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख कमल खनालले एक कार्यक्रमबीच टिसर्ट सार्वजनिक गरेका थिए । टिसर्टको मूल्य तीन सय ७५ रुपैयाँ तोकिएको छ । उक्त पेज प्रणिल खनाल, विजयजंग कार्की, रोशन पोखरेल, सञ्जीव खनाल र सीमा भण्डारीले खोलेका हुन् । निकट भविष्यमा यू–१६ क्रिकेट प्रतियोगिता आयोजना गर्ने योजना रहेको प्रणिलले जानकारी गराए छन् ।
साबामा भारतको उत्कृष्ट प्रदर्शन
पहिलो संस्करणको विजेता भारतले तेस्रो दक्षिण एसियाली बास्केटबल च्याम्पियनसिप (साबा) को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भारतले आफ्नो चौथो तथा अन्तिम खेलमा माल्दिभ्सलाई १०८–३२ ले पराजित ग¥यो । भारतको जितमा प्रकाश मिश्रले १६ अङ्क योगदान गरे भने माल्दिभ्सका इब्राहिम औशानेले १२ अङ्क जोडका थिए । चौथो क्वार्टर १३–१३ को बराबरीमा सकिएको थियो भने बाँकीका सबै क्वार्टरमा भारत हावी रहेको थियो । भारतले पहिलोमा ३५–१०, दोस्रोमा २९–६ र तेस्रोमा ३१–३ स्कोर गरेको थियो । प्रतियोगितामा भारत मात्र एक अपराजित टिम रह्यो । राउन्ड रोबिन लिगका आधारमा भएको पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारतले यसअघि बंगलादेश, श्रीलंका र नेपाललाई हराएको थियो ।
प्रतियोगिताको अन्तिम तथा १०औँ खेलमा साविक विजेता बंगलादेशले नेपाललाई ८०–७३ ले हराउँदै दोस्रो स्थान सुरक्षित गरेकोे थियो । बंगलादेश विजेता भएको संस्करणमा भारत सहभागी थिएन । बंगलादेशले तीन खेल जित्दै दोस्रो स्थान सुरक्षित गरेको हो । बंगलादेशले श्रीलंका, माल्दिभ्स र नेपाललाई पराजित गरेको थियो भने भारतसँग पराजित भएको थियो ।
बंगलादेशले पहिलो क्वार्टरमा २२–१३ को अग्रता लियो भने दोस्रोमा १५–१५ को बराबरीमा रोकियो । तेस्रो क्वार्टर भारतले १८–१५ ले आफ्नो पक्षमा पा¥यो । चौथोमा नेपालले ३०–२५ को अग्रता लिए पनि जित हात पार्न सकेन । बंगलादेशका रसिड उज्जामामले १९ अङ्क जोडे । नेपालका विनोद महर्जनले २७ स्कोर गरे पनि जितका लागि पर्याप्त भएन । नेपाल र माल्दिभ्सलाई हराएको श्रीलंकाले तेस्रो स्थानमा यात्रा टुङ्ग्यायो । भारत र बंगलादेशविरुद्धको खेल श्रीलंकाले गुमाएको थियो । माल्दिभ्सलाई पन्छाएर प्रतियोगितामा एक जित मात्र निकालेको नेपाल चौथोमा सीमित भयो । जितविहीन माल्दिभ्स पुछारबाट पहिलो स्थानमा रहेको थियो । विजेतालाई पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरेका थिए । नेपाल बास्केटबल सङ्घको आयोजनामा गत सातादेखि सुरु भएको प्रतियोगितामा जम्मा १० खेल भएका थिए । आयोजकका अनुसार नेपालमा पहिलोपटक बास्केटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता भएको हो ।
विकासलाई स्नुकर उपाधि
एक्सक्लुसिभ स्नुकर क्लब, सुन्धाराका विकास श्रेष्ठले प्रथम आर एन्ड आर स्नुकर प्रतियोगिताको उपाधि जितेका छन् । बल्खुस्थित आर एन्ड आर स्नुकर हाउसद्वारा आयोजित प्रतियोगिताको ‘बेस्ट अफ नाइन’को फाइनलमा विकासले थ्री स्टार स्नुकर क्लब, कालिमाटीका सुजेन शाहीलाई ५५–४५, ८९–२८, ९०–१८, ४२–६६ र ७४–३६ ले पराजित गरेका थिए । उपाधिसँगै विकासले १० हजार नगद पुरस्कारसहित गिफ्टह्याम्पर पाए । सुजेनले पाँच हजार नगद पुरस्कार र गिफ्टह्याम्पर प्राप्त गरे । विकास प्रतियोगिताको सर्वाधिक ब्रेककर्ता पनि बने । उनले माउन्ट एभरेस्टका सलमान श्रेष्ठविरुद्धको सेमिफाइनलमा सर्वाधिक ४२ अङ्कको ब्रेक गरेका थिए । यसका लागि उनले छुट्टै तीन हजार नगद पुरस्कार र गिफ्टह्याम्पर हासिल गरे । विकास कीर्तिमानी ब्रेक गर्ने नेपाली खेलाडी पनि हुन् । उनको नाममा सर्वाधिक एक सय २९ अङ्क ब्रेक गरेको कीर्तिमान छ ।
भक्तपुरका नीरज सिंखवाल ‘प्लेयर विथ पोटेन्सियल’ चुनिए । त्यसबापत उनले एक हजार नगद पुरस्कार हात पारे । फ्रेन्डसिपका गोकर्ण सापकोटा ‘अन एक्सपेक्टेड प्लेयर’ घोषित भए । उनले ‘क्यु स्टिक’ पाए । त्यस्तै प्रतियोगिताकै कान्छा खेलाडी १५ वर्षे टंकेश्वर स्नुकर हाउसका विजय तामाङलाई पनि प्रोत्साहनस्वरूप ‘क्यु स्टिक’ प्रदान गरिएको थियो । विजेतालाई पूर्वस्नुकरच्याम्पियन सरोजकुमार मुल्मीले पुरस्कृत गरे । वैशाख २० गतेदेखि सुरु भएको प्रतियोगितामा ६४ पुरुष खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक ओम कार्कीले जनाएका छन् ।
केन्द्रीय डोजोद्वारा उपाधि रक्षा
साविक विजेता आयोजक नेपाल सितोरियो कराते डो सङ्घ, केन्द्रीय डोजोले दोस्रो उपत्यकाव्यापी कराते तथा किकबक्सिङ प्रतियोगिताको उपाधि जितेको छ । केन्द्रीय डोजोले १२ स्वर्ण जित्दै उपाधि रक्षा गरेकोे थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा भएको प्रतियोगितामा आनन्दनगर डोजो पाँच स्वर्णसाथ दोस्रो र केन्द्रीय सोबुकानले चार स्वर्ण जित्दै तेस्रो स्थानमा चित्त बुझाएका थिए ।
कुमुतेतर्फ पुरुषमा लैनचौर डोजोका राजकुमार लामा र महिलामा आनन्दनगरकी कोपिला बुढाथोकी उत्कृष्ट खेलाडी घोषित भए । किकबक्सिङको पुरुषमा लनगखेल डोजोका महेश माझी र महिलामा आयोजककी मनीषा थारू उत्कृष्ट खेलाडी चुनिए । विजेतालाई नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङलगायतले पुरस्कार प्रदान गरेका थिए । दुईदिने प्रतियोगितामा पाँच सय ५० खेलाडीले कुमुते र किकबक्सिङमा जम्मा ३८ स्वर्णका लागि प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया