सन् १८५० को दशकबाट विस्कॉन्सिन (Wisconsin)मा बेल्जिकहरुले पहिलो आप्रवासन गरे । त्यो बेला बेल्जियमको वालोनिया (Wallonia) क्षेत्रबाट १० वटा आप्रवाशी परिवार उज्ज्वल भविष्यको खोजीमा उत्तर अमेरिकाको उर्वर भूमिमा पुगे र भावनात्मक सम्बन्धको कारण आफु बसेको ठाउँको नाम नै ब्रसेल्स राखे । त्यहीँबाट अमेरिकामा ब्रसेल्सको इतिहासको आधार बन्यो र सन् १८५३ मा नामाकरणबाट यसको सुरु भयो ।
✍ डिल्ली अम्माई

अन्तर्राष्ट्रिय कूटनीति र मानव बसाइँसराइको इतिहासमा भूगोल र सिमानाहरू परिवर्तनशील हुन्छन्, तर संस्कृति र पहिचान अक्षुण्ण रहन्छन् । यसको एउटा ज्वलन्त र जीवन्त उदाहरण संयुक्त राज्य अमेरिकाको विस्कॉन्सिन (Wisconsin) राज्यस्थित डोर काउन्टी (Door County) मा अवस्थित ‘मिनी बेल्जियम’ (Little Belgium) हो । ग्रीन बे (Green Bay) बाट मात्र ३० मिनेटको दूरीमा रहेको ब्रसेल्स (Brussels, WI) र यसको वरपरको ग्रामीण इलाका उत्तर अमेरिकाकै सबैभन्दा ठूलो र सघन बेल्जिक-अमेरिकी (Belgian-American) ग्रामीण बस्ती हो । वर्तमान विश्वमा जब हामी युरोपको मुटु ब्रसेल्समा कूटनीतिक र बहुपक्षीय सम्बन्धका नयाँ आयामहरू खोजिरहेका छौं, ठीक त्यही समयमा अमेरिकाको मध्यपश्चिम (Midwest) मा अवस्थित ब्रसेल्स शहरले आफ्नो शताब्दीयौँ पुरानो युरोपेली जरा, वास्तुकला र रैथाने ‘वालोन’ (Wallon) संस्कृतिलाई जीवन्त राख्दै भू-सांस्कृतिक संवर्द्धनको एक अद्वितीय मानक प्रस्तुत गरेको छ ।
ऐतिहासिक पृष्ठभूमि :
सन् १८५० को दशकबाट विस्कॉन्सिन (Wisconsin)मा बेल्जिकहरुले पहिलो आप्रवासन गरे । त्यो बेला बेल्जियमको वालोनिया (Wallonia) क्षेत्रबाट १० वटा आप्रवाशी परिवारहरू उज्ज्वल भविष्यको खोजीमा उत्तर अमेरिकाको यस उर्वर भूमिमा आइपुगे र आफ्नो भावनात्मक सम्बन्धको कारण आफु बसेको ठाउँको नाम नै ब्रसेल्स राखे । त्यहीँबाट अमेरिकामा ब्रसेल्सको इतिहासको आधार बन्यो र सन् १८५३ मा नामाकरणबाट यसको सुरु भयो । तिनीहरूले आफ्नो मातृभूमिमा भोगेको आर्थिक मन्दी र अनिकाललाई बिर्सेर विस्कॉन्सिनको घना जङ्गल फँडानी गरी कृषि क्रान्तिको जग बसालेका थिए । आफ्नो ‘जरा’प्रतिको अगाध प्रेमका कारण उनीहरूले यस क्षेत्रका अन्य नयाँ गाउँहरूको नाम बेल्जियमकै शहरहरूको सम्झनामा ब्रसेल्स (Brussels), नामुर (Namur), रोजिएर (Rosiere) र वाल्हेन (Walhain) राखे । यो बसाइँसराइ केवल मानिसहरूको स्थानान्तरण मात्र थिएन; यो त भाषा, लिपि, धार्मिक विश्वास र एउटा सिङ्गो युरोपेली जीवनशैलीको आप्रवासन थियो, जसले आज झण्डै १,२०० को जनसंख्या भएको ब्रसेल्स र डोर काउन्टीमा ११.९% (करिब ३,३०० भन्दा बढी) बेल्जिक वंशजहरूको बलियो उपस्थिति स्थापित गरेको छ ।
सन् १८७१ को महाडढेलो र ‘रातो इँटा’ को वास्तुकलागत पुनरुत्थान :
यस मिनी बेल्जियमको इतिहासमा सन् १८७१ को ‘पेस्टिगो महाडढेलो’ (Peshtigo Fire) एउटा कालो अध्यायले ठुलो काम गरेको छ । त्यो बेलाको विनाशकारी आगोले आप्रवासीहरूले बनाएका पुराना काठका घर, गोठ र चर्चहरू क्षणभरमै खरानी बनाइदियो । तर, बेल्जिक आप्रवासीहरूको दृढ इच्छाशक्ति र कडा परिश्रमले यस विपत्तिलाई वास्तुकलाको नयाँ मोडमा बदल्यो । आगोबाट बच्न र पुस्तौंसम्म टिकाउनका लागि उनीहरूले स्थानीय रातो इँटा र ढुङ्गा प्रयोग गरेर भवनहरू बनाउन थाले । यसको सर्वोत्कृष्ट उदाहरण शहरबाट एक माइल बाहिर अवस्थित सेन्ट फ्रान्सिस र सेन्ट मेरी क्याथोलिक चर्च (St. Francis and St. Mary Catholic Church) हो । यो आकर्षक रातो इँटाको क्याथोलिक चर्च र यसको आसपास रहेका ऐतिहासिक फार्मस्टेडहरू (Historic Farmsteads), रोटी पकाउने बाहिरी चुलो (Outdoor Bread Ovens), र सडक छेउमा बनाइएका साना प्रार्थना घरहरू (Roadside Chapels) ले आज पनि अमेरिकाको ‘नेशनल रजिस्टर अफ हिस्टोरिक प्लेसेज’ मा स्थान पाएका छन्। यो वास्तुकला हुबहु बेल्जियमको ग्रामीण इलाकाको झल्को दिने जीवित टेपेस्ट्री हो ।
अमूर्त सांस्कृतिक सम्पदा (Culinary & Linguistic Heritage) :
विस्कॉन्सिनको ब्रसेल्स केवल आँखाहरूका लागि दृश्य मात्र होइन, यो मानव इन्द्रियहरूका लागि एउटा भव्य भोज हो। यहाँका बासिन्दाहरूले आफ्नो अमूर्त सांस्कृतिक सम्पदालाई यसरी संरक्षण गरेका छन् कि यसले ‘ब्याजर राज्य’ (Badger State) मा युरोपको साँचो स्वाद प्रदान गर्दछ। यसको ज्वलन्त उदाहरण ग्यास्ट्रो-संस्कृति (Gastro-Culture) पनि हो । यहाँ पुग्ने यात्रुहरूले प्रामाणिक बेल्जियम पाई (Belgian Pies – चामलको खीर वा कस्टर्ड र प्रुन भरिएको), विशेष बेल्जिक ससेज ‘ट्रिप’ (Trippe), र सामूहिक रूपमा पकाइने चिकन-तरकारीको परम्परागत स्ट्यु ‘बू-याह’ (Boo-Jah) को स्वाद लिन सक्छन् ।
केर्मिस उत्सव (Kermis Festival) पनि बेल्जियमलाई बिर्साउने एक सांस्कृतिक पर्व हो । हरेक वर्षको फसल भित्र्याएपछि मनाइने यो परम्परागत बेल्जिक मेलामा शताब्दीयौँ पुराना संगीत, नृत्य र खानाको माध्यमबाट सामुदायिक एकता र सांस्कृतिक गौरव मनाइन्छ । त्यस्तै विस्कॉन्सिन वालोन भाषा स्थानिय रुपमा अझै बोलिँदै छ । बेल्जियममा समेत लोप हुन लागेको ‘वालोन फ्रेन्च’ (Walloon French) भाषाको एउटा विशेष रूप यहाँका ८० वर्ष कटेका पाका पुस्ताहरूले अझै पनि बोल्ने गर्छन् । ‘विस्कॉन्सिन वालोन’ भनिने यो भाषा आज भाषाविद्हरूका लागि अनुसन्धानको एउटा महत्वपूर्ण विषय बनेको छ । त्यस्तै, सुगर क्रिक काउन्टी पार्कको पारिस्थितिकी मिनी बेल्जियम केवल ऐतिहासिक भवनहरूमा मात्र सीमित छैन; यसको प्राकृतिक भूगोल पनि उत्तिकै समृद्ध छ । मिशिगन तालको ग्रीन बे (Green Bay) को किनारमा अवस्थित सुगर क्रिक काउन्टी पार्क (Sugar Creek County Park) यसको उत्कृष्ट उदाहरण हो । ४० एकड क्षेत्रफल र १,०५० फिट लामो वाटरफ्रन्ट भएको यो पार्क पैदल यात्रा (Hiking Trails), प्याडलिङ र विशेषगरी चरा अवलोकन (Bird Watching) का लागि प्रसिद्ध छ । बसाइँसराइ गरि आउने रंगीचंगी चराहरू र आकाशमा उड्ने बलियो बाज (Bald Eagles) को उपस्थिति र यहाँको पर्यावरणमैत्री वातावरणले मानव र प्रकृतिबीचको गहिरो एकात्मतालाई झल्काउँछ ।
उत्तर अमेरिकाको विस्कॉन्सिनको ब्रसेल्स ‘मिनी बेल्जियम’ र युरोपको वास्तविक राजधानी ‘ब्रसेल्स’ बीच एउटा सुन्दर कूटनीतिक र वैचारिक समानता (Parallel) भेटिन्छ । एकातर्फ, अमेरिकाको ब्रसेल्सले आफ्नो १९१४ को ‘ब्रसेल्स हाउस’ को इतिहास र बेल्जिक मूलको उत्सव मनाउँदै जनस्तरको सम्बन्ध (People-to-People Connect) लाई बलियो बनाएको छ ।
विस्कॉन्सिन जस्तै अमेरिकाको इलिनोइ राज्यमा पनि ‘बेल्जियम’ नामकै एउटा सानो शहर छ । सन् १९०० को दशकमा फ्रान्स र बेल्जियमका कोइला खानी मजदुरहरू (Coal Miners) यहाँ आएर बसेका थिए । यहाँको स्थानीय संस्कृति र वास्तुकलामा अझै पनि बेल्जिक छाप देख्न सकिन्छ ।

विस्कॉन्सिनमै ‘बेल्जियम’ नाम गरेको अर्को एउटा गाउँ (Ozaukee County) पनि छ । तर सन् १८५७ मा हुलाक कार्यालयको एउटा ‘क्लर्क’ को गल्तीका कारण लक्जेमबर्गवासी बस्ने ठाउँको नाम ‘बेल्जियम’ र बेल्जिक अमेरिकन बस्ने ठाउँको नाम “लक्जेमबर्ग” हुन पुगेको इतिहास छ ।
अमेरिकामा अर्को मिनी बेल्जियम लङ आइल्याण्ड (Long Island) :
आधिकारिक जनगणना र कूटनीतिक तथ्याङ्क अनुसार, लङ आइल्याण्ड (Long Island) समेत समेटिएको न्युयोर्क महानगर क्षेत्र (New York Metropolitan Area) मा करिब १५,००० देखि २०,००० को हाराहारीमा बेल्जिक-अमेरिकीहरू (Belgians) बसोबास गर्छन् । यदि समग्र न्युयोर्क राज्य (New York State) भरिको कुरा गर्ने हो भने, यो संख्या ३३,००० भन्दा बढी छ, जसमध्ये एक उल्लेखनीय हिस्सा लङ आइल्याण्डका नासौ (Nassau) र सफोक (Suffolk) काउन्टीहरूमा बस्छन् ।
अमेरिकाको लङ आइल्याण्ड (Long Island, New York) मा बेल्जिकहरू (विशेष गरी वालोन र फ्लेमिसहरू) को बसोबासको इतिहास अत्यन्तै पुरानो र रोचक छ। तिनीहरू आधुनिक अमेरिका स्थापना हुनुभन्दा धेरै अघि, अर्थात् सन् १६२४ देखि नै त्यहाँ बस्न थालेका हुन् । लङ आइल्याण्डको पश्चिमी छेउ (हालको ब्रुकलिन क्षेत्र) मा वालोनहरूले आफ्नो कृषि बस्ती बसाले । डच भाषामा यो ठाउँलाई Waal-bocht भनियो, जसको अर्थ ‘वालोनहरूको खाडी’ (Walloon’s Bay) हुन्छ । यही ठाउँ पछि परिमार्जित हुँदै ‘वालाबुट’ (Wallabout) बन्यो । उनीहरूले लङ आइल्याण्डको उर्वर भूमिमा फलफूलका बगैँचा र सुर्ती खेती सुरु गरे।सुरुवाती खेतीपातीपछि, १८०० र १९०० को दशकमा बेल्जियमबाट दोस्रो लहरका आप्रवासीहरू न्यूयोर्क र लङ आइल्याण्ड क्षेत्रमा बढे । तिनीहरू कोइला खानी, हस्तकला, काठका काम (Carpenters) र सिसा उद्योग (Glass blowers) का दक्ष कालिगढ थिए । सन् १९५० पछि र हालका वर्षहरूमा लङ आइल्याण्ड न्यूयोर्कको एउटा प्रमुख धनाढ्य र व्यावसायिक हब बनेको छ। हाल यहाँ बस्ने बेल्जिकहरू मुख्य रूपमा विश्वविद्यालयका प्राध्यापक, वैज्ञानिक, फेसन डिजाइनर र बहुराष्ट्रिय कम्पनीका कर्पोरेट प्रतिनिधिहरू हुन् ।
धेरैलाई न्यूयोर्क शहर डचहरूले मात्र बसालेको भ्रम छ, तर न्यूयोर्कको पहिलो गर्भनर पिटर मिनुइट (Pierre Minuit), जसले सन् १६२६ मा रैथाने रेड इन्डियनहरूबाट म्यानहटन टापु खरिद गरेका थिए, उनी आफैं पनि बेल्जिक वालोन वंशजका थिए । लङ आइल्याण्डमा बेल्जिकहरूको बसोबास १६२४ को धार्मिक शरणार्थीका रूपमा सुरु भएर आज आधुनिक न्यूयोर्कको व्यापार, संस्कृति र कूटनीतिक नेटवर्क (जस्तै BelCham संजाल) सम्म जोडिन पुगेको छ ।
ऐतिहासिक स्मारक र स्थलचिन्हहरू (Historical Monuments) :
लङ आइल्याण्डको ठीक छेउमा रहेको म्यानहटनको ब्याट्री पार्क (Battery Park) मा एउटा ठूलो ढुङ्गाको स्मारक स्तम्भ छ । सन् १९२४ मा न्यूयोर्क स्थापनाको ३०० वर्ष पुगेको अवसरमा बेल्जियमको ‘प्रान्त अफ हेनाट’ (Province of Hainaut) ले यो न्यूयोर्क शहरलाई उपहार दिएको थियो । यसले सन् १६२४ मा जहाज चढेर न्यूयोर्क र लङ आइल्याण्ड क्षेत्रमा पहिलो बस्ती बसाल्ने बेल्जिक वालोन परिवारहरूको योगदानलाई चिनाउँछ । त्यस्तै, लङ आइल्याण्डको भौगोलिक हिस्सा रहेको ब्रुकलिन नेभी यार्ड (Brooklyn Navy Yard) को क्षेत्र नै ऐतिहासिक ‘वालाबुट’ हो । डच भाषामा यसको अर्थ ‘वालोनहरूको खाडी’ (Walloon’s Bay) हुन्छ । यो ठाउँले अमेरिकाको इतिहासमै पहिलो पटक बेल्जिकहरू स्थायी रूपमा बसेको भूभागलाई चिनाउँछ । न्यूयोर्कको पहिलो गर्भनर र म्यानहटन टापु खरिद गर्ने बेल्जिक वंशज पिटर मिनुइटको सम्मानमा ब्याट्री पार्कको सबवे स्टेशन बाहिर पिटर मिनुइट प्लाजा (Peter Minuit Plaza) प्लाजा बनाइएको छ, जसले बेल्जियमको राजनीतिक जरा चिनाउँछ ।
त्यस्तै, अमेरिकामा युरोपका अन्य देशबाट आएका आप्रवाशिले पनि आफ्नो देश,सम्पदा र संस्कृति नबिर्सियोस् भनेर निकै मेहनत गरेका छन् । लुनेनबर्ग, नोभा स्कोटिया एक युनेस्को विश्व सम्पदा क्षेत्र (UNESCO World Heritage Site) हो । सन् १७०० को दशकमा यहाँ जर्मन, स्विस र फ्रेन्च प्रोटेस्टेन्टहरू बसोबास गरेका थिए । यहाँका रंगीन काठका घरहरू र युरोपेली औपनिवेशिक वास्तुकला क्यानाडामै अद्वितीय मानिन्छ । अनि क्युबेक सिटी (Quebec City, Quebec) उत्तर अमेरिकाकै यस्तो एकमात्र शहर हो जहाँ पुरानो युरोपेली शैलीको किल्ला (Fortified Walls) अझै सुरक्षित छ । यहाँका ढुङ्गा छापिएका सडक, फ्रेन्च भाषा, र वास्तुकलाले तपाईंलाई पेरिस वा फ्रान्सको कुनै ऐतिहासिक शहरमा भ्रमण गरिरहेको महसुस गराउँछ । ब्लु रिज पहाडको बीचमा अवस्थित हेलेन, जर्जिया (Helen, Georgia) शहरलाई जर्मनीको ‘बवेरियन गाउँ’ (Bavarian Alpine Village) को रूपमा पुनर्जीवित गरिएको छ । यहाँका घरका बुट्टाहरू, जर्मन कटेजहरू, र अक्टोबरफेस्ट (Oktoberfest) उत्सवले जर्मनीको झल्को दिन्छ । त्यस्तै,अमेरिकाको मध्यपश्चिममै रहेको न्यू आल्म, मिनेसोटा (New Ulm, Minnesota) शहरमा ४५ फिट अग्लो ‘ग्लोकेन्सपिल’ (Glockenspiel – विशेष घण्टी टावर) र अगस्ट शेल बियर उद्योग छ । यहाँको जनजीवनमा जर्मन संस्कृति गहिरो गरी जोडिएको छ ।
सोल्भाङ, क्यालिफोर्निया शहर पुग्दा सिधै डेनमार्क (Denmark) पुगेको अनुभूति हुन्छ। यहाँका सडक, विन्डमिल (हावाबाट चल्ने मिल), ड्यानिस वास्तुकला र बेकरीहरू पूर्ण रूपमा डेनमार्कको जस्तै छन् । यहाँको ड्यानिस पेस्ट्री विश्वप्रसिद्ध छ ।
क्यानाडाको दिल्ली, ओन्टारियो (Delhi, Ontario) क्षेत्रलाई ‘क्यानाडाको बेल्जियम मुटु’ भनिन्छ । सन् १९२० को दशकमा सुर्ती (Tobacco) खेतीका लागि ठूलो संख्यामा बेल्जियमका आप्रवासीहरू यहाँ आएका थिए । यहाँ रहेको Delhi Belgian Club ले आज पनि बेल्जियमको परम्परागत खाना, बियर, र विशेष तीरन्दाजी (Belgian Archery/Popinjay) खेलको परम्परा जीवित राखेको छ ।
अन्त्यमा, बेल्जिक-अमेरिकी समुदायमा करिब ३,००,००० व्यक्तिहरू रहेका छन्, जसको ऐतिहासिक जरा मुख्य रूपमा ग्रेट लेक्स (Great Lakes) क्षेत्र र प्रमुख सहरी व्यापारिक केन्द्रहरूमा फैलिएको छ । सबैभन्दा ठूलो ग्रामीण बेल्जिक क्षेत्र (Enclave) उत्तर-पूर्वी विस्कॉन्सिनमा अवस्थित छ, भने ‘बेल्चाम’ (BelCham) जस्ता संस्थाहरूले अमेरिकाका प्रमुख शहरहरूमा व्यापार र नेटवर्किङ (सम्बन्ध विस्तार) लाई बढावा दिइरहेका छन् । भनिन्छ,आफ्नो सभ्यता, संस्कृति र माटोको स्मृति कहिल्यै मेटिँदैन ।त्यसैले उनीहरु जहाँ पुगेपनि आफ्नो पूर्वस्मृति र सभ्याताको तिर्सना मेट्न अनेक उपाएहरु गरिरहेका हुन्छन् । जसले अन्तमा एक तर फरक आत्मिय सम्झनामा नयाँ सभ्यताको चित्र कोर्दछ ।
प्रतिक्रिया