बडादशैँको टीका आज पनि जारी, प्रधानमन्त्रीलाई भ्याइनभ्याई

बडादशैँको टीका आज पनि जारी, प्रधानमन्त्रीलाई भ्याइनभ्याई


विजया दशमीको तेश्रो दिन आज । मान्यजनबाट आशिर्वाद लिने क्रम पनि जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको टीका तथा जमरा ग्रहण गर्ने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने गर्दछ ।

देशका केही भागमा भने टीकाको दिन मात्र टीका लगाउने चलन पनि छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा दसैं मनाउने चलन छ ।

घटस्थापनादेखि नौ दिनसम्म घरमा दुर्गा भवानीको पुजा आराधाना गरी राखिएको जमरासहितको टीका वियजादशमीदेखि लगाउने परम्परागत चलन हो । आज बिहानैदेखि टीका लगाउन आफन्तकहाँ जानेहरुका कारण राजधानीमा गाडीको चहपहल बढ्दै गएको छ ।

बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भ्याइनभ्याइ
यता, प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारण र शुभेच्छुकलाई टीका लगाइदिन भ्याइनभ्याई छ । शनिबार बालुवाटारमा एचआइभी संक्रमित बालबालिकासँगै अन्य सर्वसाधारण टीका लगाउन पुगेका थिए । पार्टीका कार्यकर्ताहरु तथा सर्वसाधारण टीका ग्रहण गर्न प्रधानमन्त्री निवास बालुवाटार धाउने क्रम जारी नै छ । सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले कोजाग्रत पूर्णिमासम्म नै सर्वसाधारण, शुभेच्छुक र कार्यकर्तालाई टीका लगाइदिने कार्यक्रम छ ।

शिक्षा सदन किर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकालाई शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सामुहिक टिका लगाइदिएको सचिवालयले जनाएको छ । सो अवसरमा बालबालिकाले गायन लगायत विभिन्न विधाका कला प्रस्तुत गरेका थिए ।