पुर्खाको इच्छामरणले जो ‘देवपुत्र’ बने

पुर्खाको इच्छामरणले जो ‘देवपुत्र’ बने


muktiव्यक्तिचित्र– मुक्तिनाथ भुसाल
आफ्नो शासनकालमा श्री ३ जंगबहादुर राणा करिब पचासजना सहयोगीका साथ सिकार खेल्ने सिलसिलामा घुम्दै प्युठान बिजुवार पुगेका रहेछन् । स्थानीय क्षेत्रमा प्रचलित कहावतअनुसार जंगबहादुरले आफ्नो सिङ्गै टोलीलाई बिहानको खाना बन्दोबस्त गरिदिन स्थानीय गाउँवासीलाई आग्रह गरेछन् । तर, त्यत्रो फौजलाई एकै भान्सामा खाना खुवाउने हैसियत गाउँलेसँग थिएन, उनीहरूले जंगबहादुरसमक्ष हात जोड्दै ‘भूपेन्द्र कक्षपति नामका साहुकहाँ गए खानाको प्रबन्ध हुने’ सुझाव दिए । यसपछि जंगबहादुरको टोली भूपेन्द्र साहुकै घरतिर लाग्यो । नभन्दै श्री ३ राणाको पचासजनाको टोलीलाई काँसको थाल–कचौरामा भनेजस्तो खाना खुवाएर कक्षपति साहुले तृप्त पारिदिएछन् । खाना खाएपछि जंगबहादुरले ‘खानाको कति पैसा लाग्यो ?’ भनी कक्षपतिसँग सोधेछन् । तर कक्षपतिले बडो रोवका साथ ‘यहाँदेखि नेपाल (काठमाडौं) सम्मको बाटोभरि पाइलैपिच्छे पैसा राख्दै गए पनि पुग्ने पैसा छ, यति मात्र होइन, सामुन्नेको झिम्रुक खोला पैसा नै पैसाको बाँध बाँधेर एकक्षण थुन्न सक्ने हैसियत छ, गाउँमा पाहुना बनेर आउनुभएका तपाईंहरूसँग एकछाक भातको के पैसा लिने ?’ भन्ने जवाफ दिएछन् ।
जंगबहादुर पनि जिद्दी गर्न कहलिएका ! उनले केही न केही त रकम लिनैपर्छ भनी अडान लिएपछि जंगबहादुरबाट भूपेन्द्रले बिजुवारमा रहेको भीमसेनथान र नारायणथान मन्दिरका लागि गुठीका रूपमा खेत र पाखो जमिन उपलब्ध गराएछन् । हालसम्म पनि गुठीको सो खेत बटैया गर्नेहरूले मन्दिरलाई वार्षिक ३५ देखि ४० मुरी धान उपलब्ध गराइरहेकै छन् ।
यसरी जंगबहादुरकै पालादेखि कहलिएका कक्षपतिका पुर्खाचाहिँ मल्ल राजाहरूबाट आजित भएर भक्तपुरबाट बसाइँ सरेर प्युठानको बिजुवार आई बसोबास गरेका रहेछन् । पारिवारिक सदस्य बढ्ने क्रममा कक्षपति परिवारका केही सदस्य बिजुवारबाट कुटिचौर पुगे पनि वि.सं. १९९६ मा चन्द्रप्रसाद कक्षपति प्युठानको धर्मावती– १ बागदुला पुग्नुभएछ । उहाँ पेसाले वैद्य हुनुहुन्थ्यो र दैनिक बिहानको समयमा एकान्त स्थानमा गई कर्म गर्ने उहाँको नित्य नियम थियो । उहाँका तीन भाइ छोरा लङ्कप्रसाद, हीरालाल र तेजप्रसाद कक्षपतिमध्ये जेठो छोरा लङ्कप्रसादले वि.सं. २००३ सालदेखि बाग्दुलामा दोकान सुरु गर्नुभयो । माइला हिरालालले भारत गई सरकारी जागिर खाए भने कान्छा तेजप्रसाद कक्षपति बाग्दुलामै रहनुभयो । प्रायः घर नबस्ने चन्द्रप्रसाद दोकानको सामान झिकेर गाउँमा गई वैद्य काम गर्थे, तर पसलको सामान लगेबापत पैसा भने कहिल्यै घरमा ल्याउँदैनथे । तापनि छोराहरू केही भन्दैनथे, उहाँलाई सबै कुरामा छोराहरूबाट छुटकारा थियो ।
उनै चन्द्रप्रसाद कक्षपतिले ०२६ सालको हरिशयनी एकादशीका दिन अकस्मात् एउटा घोषणा गर्नुभएछ, ‘आजको ठीक एक वर्ष बितेको दिन म स्वेच्छाले देहत्याग गर्दै छु ।’ उहाँको उक्त भनाइलाई कसैले पनि गम्भीरतापूर्वक लिएन । हुन पनि कसैले आफूले चाहेकै दिन मर्छु भन्दैमा पत्याउने कुरा पनि आउँदैन । कसैले विश्वास गरेनन् । तर, चन्द्रप्रसादको मानवचोलामा देवत्वले नै बास गरेको रहेछ भन्छन् स्थानीयहरू । वर्ष दिन पूरा हुने ‘अब एकादशीका दिन देहत्याग गर्ने हो’ भन्दै स्वर्गद्वारी मन्दिरमा पुग्नुभएका कक्षपतिले देहत्याग गर्ने अघिल्लो दिन ‘अत्रु सन्न्यास’ माग्नुभएछ । तर, भनेकै दिन देहत्याग गर्ने कुरा विश्वासलाग्दो नभएको कारणले उहाँले परिवार तथा आफन्तजनबाट सन्न्यास पाउनुभएन । त्यसपछि उहाँले ‘भैगो, एकादशीको दिन नभए द्वादशीका दिन अवश्य देहत्याग गर्छु’ भनी प्रण गर्नुभएछ । तैपनि कक्षपतिको सो अभिव्यक्तिप्रति कसैले गम्भीरता दर्शाएनछन् । अन्ततः एकादशीको दिन एक कप कालो चिया खाई रातभर जागा बस्नुभएका कक्षपति ०२७ सालको द्वादशीका बिहान रुद्राक्षको माला लगाई स्वर्गद्वारीमा रहेको प्रभुको समाधिअगाडि ध्यानमुद्रामा बस्नुभएछ र सोही दिन उहाँले इच्छामरण पाउनुभएछ । यस्तो दुर्लभ घटनाबारे अहिलेसम्म उहाँका सन्ततिहरूले पनि खासै प्रकाशमा ल्याउने काम नगर्नुलाई विडम्बना नै मान्नुपर्छ ।
बताइएअनुसार उहाँको इच्छामरणपश्चात् स्वर्गद्वारीको पल्लो क्षेत्रमा रहेको धरमपानी खोलामा सद्गत समाप्त हुनासाथ एक्कासि खोलो बढेर आई बगाएर लगेको घटनालाई पनि अहिलेसम्म रहस्यमयी नै मानिएको छ । कक्षपतिको इच्छामरण भएलगत्तै उहाँका तीन भाइ छोरालाई स्थानीय बूढापाका र धार्मिक अगुवाहरूले ‘देवपुत्र’को विशेषण दिएकाले हालसम्म जीवित चन्द्रप्रसादका कान्छा सुपुत्र तेजप्रसाद कक्षपतिलाई ‘देवपुत्र’ नै भनिन्छ । स्थानीय भेकका चर्चित व्यवसायी तथा समाजसेवी तेजप्रसाद कक्षपति स्वर्गवासी दाजु लङ्कप्रसादको कर्म र इच्छामरणधारी बाबाको धर्मका कारण परिवारलाई प्रशस्तै सफलता मिलेको दाबी गर्छन् । नुनदेखि सुनसम्म प्राप्त गर्न सकिने बाग्दुला बजारमा रहेको कक्षपति ट्रेडर्समा प्युठान, गुल्मी, अर्घाखाँची र रोल्पासम्मका ग्राहकको ओइरो लाग्ने गर्छ । नगद र सामान जे चाहिए पनि ‘लङ्के साहु’लाई सम्झनेहरू बढ्दो मात्रामा अद्यापि छन् ।
बहुचर्चित व्यापारी लङ्कप्रसाद कक्षपतिको ०६३ सालमा देहान्त भएको भए पनि उनको थालनीलाई मेघराज, केदारमान र रविन्सन नामक छोराहरूले संयुक्त रूपमा सम्हालेका छन् । लङ्कप्रसादका माइला भाइ हीरालालको देहान्त भइसके पनि एक मात्र छोरा घनश्याम कक्षपति सफल व्यवसायीका रूपमा परिचित छन् । तिनै लङ्कप्रसादका कान्छो भाइ तेजप्रसाद कक्षपतिले आफ्नै खुट्टामा उभिने सोचका साथ ०३१ सालमा कपिलवस्तुको पत्थरकोटमा आई व्यवसाय सुरु गरेका थिए । कुनै सन्तान नजन्मिँदै धर्मपत्नी देवकुमारी कक्षपतिको निधन भएकाले व्यवसाय नै परित्याग गरी आफू दाजुकै परिवारमा सामेल भएको उनको कथन छ ।
देवपुत्रको रूपमा सुपरिचित तेजप्रसाद कक्षपति एउटा सफल व्यापारी मात्र नभई समाजसेवी तथा दानवीरको रूपमा पनि परिचित हुनुहुन्छ । कक्षपति परिवारको सहयोगमा ०२७ सालमा स्वर्गद्वारी मन्दिरमा पुस्तकालय भवनको निर्माण, स्वर्गद्वारी क्याम्पसमा एककोठे पक्की भवन, बाग्दुलाको शिवालय मन्दिरभित्र पक्की प्रतीक्षालय, जनता उमावि बाग्दुलामा दुईकोठे पक्की भवन, झिमरुक बहुमुखी क्याम्पस बाग्दुलामा १५ लाख मूल्यको घर र नगद ६ लाख, गंगाज्योति मावि महेन्द्रकोटमा अक्षयकोष रकमसहित कक्षाकोठाको निर्माणलगायतका थुप्रै सामाजिक कार्य भएको छ । सत्रजनाको संयुक्त परिवारको उठबससँगै सञ्चालनमा आएको व्यवसायबाट दैनिक करिब एक सय ५० जनाले रोजगार पाएका छन् ।
गरिब र निमुखालाई सहयोग गर्नुपर्छ भन्ने धार्मिक भाव कक्षपतिको नसा–नसामा बगेको आभास हुन्छ । पैसा कमाउनेले सामाजिक कार्यमा हात नबढाए कमाउनुको कुनै तुक रहन्न भन्ने धारणा छ उहाँको । सरल र शान्त स्वभावका समाजसेवी देवपुत्र तेजप्रसाद कक्षपति समाजसेवामा लाग्न चाहने व्यक्तिका लागि एक अजस्र प्रेरणाका स्रोत हुन् र उनको यो सेवाभावमा अझै बढोत्तरी आओस् भन्ने कामना गर्नु सान्दर्भिक ठहरिएला ।