सुदूरको साङ्गीतिक क्षेत्रमा ‘शाह दम्पती’को वर्चश्व

सुदूरको साङ्गीतिक क्षेत्रमा ‘शाह दम्पती’को वर्चश्व


‘… डडेल्धुरा भेटौँला, धनगढीमा घुम्न जाउँला मनका तिर्खा मेटौँला’ बोलको सुदूरपश्चिमको संस्कृति र पहिचान झल्किने देउडा गीत दुई वर्षअघि बजारमा आयो । कन्चनपुरका रचनाकार एवं संगीतकार राजेन्द्र शाह ‘बिपी’ को गीतले निकै चर्चा पायो ।

दुई वर्षअघि बजारमा आए पनि उक्त देउडा गीत सुदूरपश्चिममा अझै गुञ्जिरहेको छ । देउडा गायिका सङ्गीता शाह र गायक खुमन अधिकारीको स्वर रहेको गीत सुदूरपश्चिमकै सेरोफेरोमा छायाङ्कन भएको एल्बम हो ।

बाजुरा बुढीगङ्गा नगरपालिका–४ ओलीसैनबाट स्कूले जीवनमै सुदूरपश्चिमको साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका राजेन्द्र शाह विगत दुई दशकदेखि यहाँको देउडा गीत बनाइ बजारमा ल्याउन निकै सक्रिय छन् । ६०० भन्दा बढी गीत रचना गर्नुका साथै ५०० गीतमा सङ्गीत दिइसकेका शाहले सुदूरपश्चिमकै मौलिकता झल्किने देउडा गीत शब्द सङ्कलनमै ९० प्रतिशत समय खर्चिएको बताउँछन् ।

‘धनगढीमा घुम्न जाउँला’ एल्बम निकै चल्यो । उनले भने, ‘युवापुस्ताले पनि यो गीत निकै मन पराएको छ ।’ उक्त गीतमा शाहकै पत्नी देउडा गायिका सङ्गीता शाह र गायक खुमन अधिकारीले स्वर दिएका छन् ।

गीत÷सङ्गीतबाट परिचय बनाएका शाह जोडीले विसं २०६१ मा परिचयलाई विवाहमा परिणत गरेका हुन् । “सङ्गीतासँग एल्बम निकाल्ने क्रममा भीमदत्तनगरमा भेट भएको थियो, खप्तड मालिका’ एल्बममा उनले स्वर दिएकी थिइन्,’ शाहले भने ।

२०५७ सालदेखि देउडा गायनमा आएकी गायिका सङ्गीता शाह लामो समयदेखि चल्तीकी देउडा गायिकामा अग्रस्थानमै आउँछिन् ।

‘भीमदत्तनगरमा भएको पहिलो महोत्सवमा मैले स्टेज प्रस्तुति राखेको थिएँ ।अहिले भारतलगायत मुलुकका विभिन्न क्षेत्रमा हुने साङ्गीतिक कार्यक्रममा बोलावट हुन्छ,’ उनले विगत सम्झिँदै भनिन् ।

हालसम्म पाँच सयभन्दा बढी सुदूरपश्चिमका देउडा गीतमा स्वर दिइसकेकी गायिका शाहले एक सयभन्दा बढी आफ्नै श्रीमानले रचना-सङ्गीत दिएका गीतमा स्वर दिएको बताइन् ।

खप्तड डिजिटल म्युजिक प्रालि सञ्चालन गरेर तीन वर्षयता देउडामा सघन रूपमै व्यस्त रहेको बताउँदै शाहले दुई वर्षमै दुई सयभन्दा बढी गीत बजारमा ल्याएको दाबी गरिन् ।

दुई वर्षअघि नै बजारमा आएको उनको गीत÷सङ्गीत रहेको ‘यो अछामी बड्डो’ बोलको एल्बमले पनि सुुदूरपश्चिमको देउडामा इतिहास नै बनायो । युट्युवमा समेत १७ लाख ८५ हजारभन्दा बढीले हेरेको उक्त गीतमा सुदूरपश्चिमको देउडा गायक लालबहादुर धामी र गायिका टीका पुनले स्वर दिएका छन् ।

‘चैत काफ्ल झड्डो, फागुन असिनो पड्डो,
यो अछामी बड्डो, आइगयो बड्डीका खोज,
खेत कुनिया नाई धान काट्याका निन हाल्याका
देश दुनियाँ नाइ यो जोवन सम्हाली सक्न्या’

‘अझै दर्जनौँ गीत बजारमा आउने तयारीमा छौ’, शाहले भने, ‘नयाँ प्रविधिसँगै गीतमा पनि नयाँपन ल्याउन खोज्दैछौँ ।’ बजार प्रवद्र्धन पहिले सहज रहे पनि केही वर्षयता प्रविधिमा भएको पहुँचले दर्शक, स्रोतामाझ गीत पस्किन सजिलो भएको उनको बुझाइ छ ।