रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने बताएका छन् । चितवनको भरतपुरमा आयोजित पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीले प्राप्त गरेको जनमतलाई आत्मसात गरी कसैप्रति पनि प्रतिशोध नसाध्ने बताए । उनले राजनीतिक दलहरुबीच भएका वैमनस्यता पनि यहीँबाट अन्त्य गरी सहयोग र सहकार्यका साथ देश र जनताको पक्षमा काम गर्ने उल्लेख गरे ।
‘रास्वपा लड्यो भने आफ्नै घुँडामा अल्झेर लड्छ, रास्वपालाई लडाउने अरू कसैको तागत छैन’ भन्दै उनले गुट र उपगुटले दिने फल विषालु हुने र त्यस्तो फल फल्यो भने वृक्ष नै काट्नुपर्ने अवस्था आउने उल्लेख गरे ।
सभापति लामिछानेले पूर्वसहमति अनुसार नै सरकार अघि बढेको भन्दै प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारले लक्ष्यअनुसार काम गरिरहेको धारणा राखे । ‘सरकार सञ्चालन गर्ने पूर्वसहमति अनुसार रास्वपाका वरिष्ठ नेता बालेन साहको खुट्टामा बल पुगेको छ । गोल हान्ने जिम्मा उहाँलाई नै छ । झुक्किएर मेरो खुट्टामा बल आएछ भने पनि पास गरेर उहाँको खुट्टामा पुर्याउने जिम्मा मेरो हो’, लामिछानेले भने ।
photo: rss
प्रतिक्रिया