सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री

सरकारको ‘एक्स्प्रेस’ गाडी गन्तव्यमा पुगेर मात्र रोकिन्छ : प्रधानमन्त्री


प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले वर्तमान सरकार ‘एक्स्प्रेस’ गाडी भएकाले गन्तव्यमा पुगेपछि मात्रै राकिने बताएका छन् । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार (७ असार) चितवनको भरतपुरमा सम्बोधन गर्दै उनले भने, ‘हाम्रो सरकार ‘एक्स्प्रेस वे’मा गुडिरहेको गाडी हो, यो गन्तव्यमा पुगेर ब्रेक लाग्छ, अनियन्त्रित छैन ।’

महाधिवशेनको उद्घाटन सत्रमा शुभकामना दिने क्रममा केही राजनीतिक दलका नेताले दिएको सुझावलाई पार्टीले गम्भीर रुपले लिएको जनाउँदै प्रधानमन्त्री साहले अहिलेको जनमतलाई स्वीकार गर्न आग्रह गरे । रास्वपा विकासवादी पार्टी भएको जिकीर गर्दै उनले भने, ‘रास्वपा काम गर्ने पार्टी हो, प्रतिशोध साध्ने पार्टी होइन, पुराना कुरालाई लिएर निहुँ खोज्ने पार्टी होइन ।’

सरकारी सम्पत्ति र रकम दोहन भएको अवस्थामा विद्यमान सरकार कठोर ढङ्गबाट प्रस्तुत हुने उनको भनाइ थियो । ‘सरकारले नियमकानुन मिच्दैन, नियममै बसेर काम गर्छ, नियमभन्दा बाहिर जाँदैन, हामी निहुँ खोज्ने पार्टी होइन’, प्रधानमन्त्री साहले भने ।

यस्तै, कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको दाबीका साथ प्रधानमन्त्री साहले ती भूभाग नेपालकै भएको प्रमाण सरकारसँग रहेको जिकीर गरे ।

‘हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ, तर ब्रिटिसकालीन शासनका समयमा यससम्बन्धी कुनै प्रमाण छ भने सहयोग लिन खोजेका हौँ, हामी छिमेकीसँग आफैँ कुरा गरेर सीमासम्बन्धी विषय मिलाउँछौँ, हामीसँग हाम्रो भूभाग रहेको प्रमाण छ । त्यसमा आशङ्का लिनु पर्दैन’, प्रधानमन्त्री साहको भनाइ थियो ।

‘हामीले यही कार्यकालमा सुकुमबासी र सहकारी ठगीसम्बन्धी समस्या समाधान गर्छौं । आगामी चुनावमा यही ‘एजेण्डा’ बोकेर जाँदैनौँ, अब नयाँ एजेण्डा लिएर जान्छौँ’, प्रधानमन्त्रीले भने ।

photo: rss