– राजन घिमिरे, सिड्नी
नेपाल रहँदा कलाकारितामार्फत दर्शकबाट राम्रै प्रशंसा कमाएका थिए नितेशराज पन्तले । विशेष गरेर यूवा दर्शकमाझ शान–मान कमाइरहेका उनी एक्कासी प्रवासतर्फ लागे ।
‘हिजोआजका कुरा’मार्फत कलाकारितामा जमेका नितेश दुई ठूलोपर्दाका चलचित्र ‘भन्नै सकिनँ’ र ‘आँखा लोभी मन पापी’मा नायक पनि भए । निकै लामो समय भयो नितेश विदेशिएको । १२ वर्ष अगाडि अष्ट्रेलिया हानिएका नितेशले प्रवासी जीवनमा पनि आफ्नो क्षमता र दक्षतालाई देखाइ नै रहे । यही निरन्तरताको फलस्वरूप उनि अष्ट्रेलियाली सरकारबाट सम्मानित भएका छन् ।
करिव एक दशकदेखि नर्दन टेरीटोरी डार्विनको बहुसांस्कृतिक समुदायमा योगदान गरेबापत नेपाली युवा नितेशराज पन्तलाई अष्ट्रेलियामा सम्मान गरिएको छ ।
२२ अक्टोबरका दिन नर्दन टेरीटोरी पार्लियामेन्ट हाउसमा आयोजित विशेष समारोहमा राज्य सरकारको बहुसांस्कृतिक मामिलामन्त्री डेल वेकफिलडले पन्तलाई बहुसांस्कृतिक पुरस्कार प्रदान गरेकी हुन् ।
डार्विनमा समावेसी र समतापूर्ण बहुसांस्कृतिक समुदाय निमार्ण गर्न पन्तले पुर्याएको योगदानलाई कदर गर्दै बहुसांस्कृतिक काउन्सिल अफ नर्दन टेरिटोरीले यो सम्मान गरेको हो ।
नितेशले सन् २०१० देखि २०१४ सम्म बहुसांस्कृतिक काउन्सिल अफ नर्दन टेरिटोरीमा काम गरेका थिए । त्यो समयमा उनले विभिन्न नवआप्रवासी समुदायलाई अस्ट्रेलियामा सहज बसोवास गर्न मद्दत गर्ने ‘पासपोर्ट टु ड्राइभ’ कार्यक्रम सञ्चालन गरेका थिए ।
यस्तै, पन्तले नै शुरु गरेको ‘माइग्रेन्ट फोर माइग्रेन्ट’ कार्यक्रमले मल्टिमिडिया प्लेटफममार्फत बहुसांस्कृतिक समुदायलाई नजिक ल्याउन सघाएको थियो ।
नवआप्रवासी समुदायलाई सवारी चालक अनुमतिपत्र पाउन सहयोग गर्ने उद्देश्यले ड्राइभिङ थ्योरी प्रोगाम पनि उनले सञ्चालनमाल्याएका थिए ।
उनी अहिले पनि ‘फ्यूजन लाइफस्टाइल शो’ परियोजनामा काम गर्दैछन् । यो कार्यक्रमअन्तर्गत उत्पादन भएको भिडियो कार्यक्रम अस्ट्रेलियाका विभिन्न सामुदायिक टिभिमा प्रसारण हुन्छ ।
२५ वर्षभन्दा माथि उमेरका ब्यक्तिगत समूहमा पन्तले यो अवार्ड प्राप्त गरेका हुन् ।
प्रतिक्रिया