ज्वालामुखी गाउँपालिकाको ५७ करोड बढी बजेट, पूर्वाधार र सामाजिक विकासमा जोड

ज्वालामुखी गाउँपालिकाको ५७ करोड बढी बजेट, पूर्वाधार र सामाजिक विकासमा जोड


  • विकाश रौनियार, धादिङ

धादिङको ज्वालामुखी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५७ करोड १० लाख ५२ हजार २ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको गाउँसभामा उपाध्यक्ष धर्म आर्यालले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट प्रस्तुत गरेका हुन् ।

सार्वजनिक बजेटअनुसार चालुतर्फ ४३ करोड ७५ लाख २ हजार २ सय रुपैयाँ र पुँजीगततर्फ १४ करोड १५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको छ। पूर्वाधार विकासतर्फ १४ करोड १५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ भने सामाजिक विकास क्षेत्रका लागि ५ करोड १० लाख २३ हजार २ सय रुपैयाँ छुट्याइएको छ। यस्तै आर्थिक विकासतर्फ ११ लाख ५० हजार रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ५६ लाख रुपैयाँ तथा कार्य सञ्चालन र प्रशासनिक खर्चका लागि ८ करोड १५ लाख ७९ हजार रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष आर्यालले जानकारी दिए ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा संघीय सरकारबाट समानीकरण अनुदान १२ करोड ११ लाख रुपैयाँ, सशर्त अनुदान २२ करोड १६ लाख रुपैयाँ, विशेष अनुदान १ करोड ३१ लाख रुपैयाँ तथा समपूरक अनुदान ५० लाख रुपैयाँ गरी कुल ३७ करोड ६८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ।

त्यसैगरी बागमती प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड ११ लाख ६६ हजार रुपैयाँ, सशर्त अनुदान २ करोड १ लाख ७७ हजार १ सय रुपैयाँ, विशेष अनुदान ७० लाख रुपैयाँ तथा समपूरक अनुदान २ करोड रुपैयाँ गरी कुल ६ करोड ८३ लाख ४५ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।

गाउँपालिका अध्यक्ष यामनाथ दनैले स्थानीय आवश्यकता र जनचाहनालाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको बताए। उनका अनुसार बजेटले भौतिक पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक क्षेत्रको सुदृढीकरणसँगै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत स्थानीय आर्थिक गतिविधि प्रवर्द्धन, रोजगारी सिर्जना तथा समग्र विकासलाई गति दिने अपेक्षा गरेको छ। साथै विकास निर्माणका योजनालाई परिणाममुखी बनाउँदै सुशासन, पारदर्शिता र उत्तरदायी सेवा प्रवाहमा विशेष जोड दिइएको जनाएको छ।