मुआब्जा वितरण ढिलाइले रेलमार्गको काम रोकियो

मुआब्जा वितरण ढिलाइले रेलमार्गको काम रोकियो


विराटनगर जोडिने रेलमार्गको भारतमा पर्ने खण्ड निर्माण भइरहे पनि नेपालतर्फ भने काम अघि बढेको छैन । जग्गा अधिग्रहण र मुआब्जा वितरणमा ढिलाइ हुँदा नेपालतर्फ काम रोकिएको हो ।

रेलमार्ग बनाइरहेको भारतीय निर्माण कम्पनी इरकोणका अनुसार नेपालतर्फको १३ किमिमध्ये अहिले तीन किमि मात्र बनाइएको छ । भारततर्फ भने पाँच किमि रेलमार्ग र दुईवटा स्टेसन बनिसकेका छन् । नेपालतर्फ पर्ने १० किमि क्षेत्रको अझै जग्गा अधिग्रहण हुन सकेको छैन ।

मुआब्जा कम भएको भन्दै स्थानीयले सर्वोच्चमा मुद्दा हालेका थिए । सर्वोच्चले गत २० भदौमा फैसला गरे पनि जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छैन । रेल विभागका प्रवक्ता विश्व केसीले जग्गा अधिग्रहण प्रक्रिया चाँडै सुरु गर्ने बताए ।

उनका अनुसार नेपालतर्फ रेलमार्ग र स्टेसन बनिसक्न अझै तीन वर्ष लाग्छ । तीन किमि रेलमार्ग बने पनि उत्तरतर्फ अझै १० किमि र कटहरीमा एक स्टेसन निर्माण हुन बाँकी छ ।

नेपालको पूर्वदेखि पश्चिमसम्मका पाँच नाका र औद्योगिक करिडोरअन्तर्गत हुलाकी मार्गलाई जोडने गरी रेलमार्ग निर्माण गर्न लागिएको खबर आजको नयाँ पत्रिकाले छापेको छ ।

प्रतिकट्ठा २५ लाख मुआब्जा
अहिलेसम्म अधिग्रहण गरिएको तीन किमि क्षेत्रमा ५३ करोड मुआब्जा वितरण भएको छ । रेल विभागले प्रभावितलाई प्रतिकट्ठा २५ लाखका दरले मुआब्जा बाँडेको हो । अझै १० किमि क्षेत्रको अधिग्रहण बाँकी छ । कुल पाँच सय ६५ जग्गाधनीको एक सय १९ बिघा जग्गा अधिग्रहण हुनेछ ।