सहचालकले ट्रक चलाउँदा तीन पैदलयात्रीको गयो ज्यान !

सहचालकले ट्रक चलाउँदा तीन पैदलयात्रीको गयो ज्यान !


सहचालकले चलाएको ट्रकले शुक्रबार बिहान १० बजे काठमाडौंको तारकेश्वर नगरपालिका–५ बोहोराटारमा तीन पैदलयात्रीको मृत्यु भएको छ ।

लोलाङ माइक्रोपार्कनजिकैको मेट्रो ट्रेडर्समा सिमेन्ट झारेर फर्कने क्रममा ना६ख ७८२६ नम्बरको १२ पांग्रे ट्रकले सडक पेटीबाट पैदल हिँडिरहेका तीनजनालाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुईजनाको अस्पतालमा मृत्यु भएको राजधानी दैनिकमा खबर छ ।

गोर्खा भीमसेन गाउँपालिका स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–५ बोहोराटार बस्दै आएकी ७० वर्षीया तिलकुमारी तिवारीको घटना स्थलमै मृत्यु भएको थियो । ट्रकले उनको टाउकोदेखि छातीसम्म किचेको थियो ।

त्यस्तै, उनको ४ वर्षीय नाति आशिष तिवारीको काठमाडौँको धापासीस्थित ग्रिनसिटी अस्पताल पुर्याउने क्रममा मृत्यु भएको थियो । यसैगरी, काठमाडौँको तारकेश्वर–४ लोलाङ बोहोराटार बस्ने ६० वर्षीया सावित्री पुडासैनीको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बालाजु प्रहरीले जनाएको छ ।