राष्ट्रिय खेलकुद परिषद् खेलकुद विज्ञान प्रतिष्ठान नेपालको आयोजनामा १० दिने विशेष युथ खेलाडी प्रशिक्षण कार्यक्रम काठमाडौंमा शुरु भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नतिजामूलक उपलब्धि हासिल गर्ने र युथ खेलाडीहरूको क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा २०७२, ७३ र ७४ सालमा केन्द्रीय राष्ट्रपति रनिङ सिल्डमा स्वर्ण पदक प्राप्त गर्न सफल व्यक्तिगत विधा तेक्वान्दो, कराते, उसु र एथलेटिक्सका ९० खेलाडीहरूलाई विशेष प्रशिक्षण प्रदान गर्न लागिएको हो ।
कार्यक्रमको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै सदस्यसचिव विष्टले स्कुलदेखि राष्ट्रिय प्रतियोगिता हुँदै दक्षिण एसियाली खेलकुदसम्म खेलाडीहरूले नतिजामूलक उपलब्धि हासिल गरून् भनी यस कार्यक्रमको सुरुवात गरिएको बताए ।
विष्टले उपलब्धिमूलक नतिजाका लागि खेलाडीहरूलाई सबैखाले सहयोग गर्न राष्ट्रिय खेलकुद परिषद् सदा तत्पर रहेको बताए । सदस्यसचिव विष्टले अबका दिनमा प्रशिक्षकहरूको मूल्याङ्कन पनि नतिजाको आधारमा गरिने बताए । यसका साथै यस कार्यक्रममा उत्कृष्ट हुने चारै विधाका एक महिला र एक पुरुष खेलाडीलाई नगद पुरस्कारले सम्मान गरिनेसमेत कार्यक्रममा घोषणा गरे ।
प्रशिक्षण कार्यक्रम कात्तिक १० देखि १९ गतेसम्म तेक्वान्दो र उसु त्रिपुरेश्वर राखेप कभर्डहलमा, कराते सातदोबाटो कराते प्रशिक्षण केन्द्रमा तथा एथलेटिक्स मूलपानीस्थित क्रिकेट मैदानमा हुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया