अस्पताल भवन बनाउन कार्कीको दौड

अस्पताल भवन बनाउन कार्कीको दौड


दुर्गम स्थानमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले धावक रामसुन्दर कार्की खुर्कोटदेखि सिन्धुलीगढीसम्म दौडने भएका छन् । खुर्कोटदेखि सिन्धुलीगढीसम्म करिब २५ किलोमिटर दूरीको दौड कार्कीले कात्तिक २४ गते दौडने भएका हुन् ।

‘दुर्गमको कुन ठाउँमा अस्पताल बनाउन सहयोग गर्ने भन्ने विषयमा साथीभाइहरूसँग सल्लाह भइरहेको छ । साथीभाइहरूकै सल्लाहबमोजिम उचित ठाउँमा अस्पताल बनाउन खर्च कटाएर दौडबाट उठेको रकम सहयोग गर्छु,’ कार्कीले दौडको उद्देश्य प्रकाश पार्दै भने । कार्कीको दौडलाई रुसलानले मुख्य प्रायोजन गर्ने भएको छ भने अन्य प्रायोजकसँग पनि कुराकानी भइरहेको जानकारी दिए ।

यसअघि ०६४ मा १ सय १ दिन दौडेर ७५ जिल्ला पुगिसकेका ललितपुरको गोदावारीस्थित गोदामचौरनिवासी कार्कीले जानकारी दिए । कार्कीले काठमाडौंदेखि सिन्धुलीगढी २ पटक, काठमाडौंदेखि लुम्बिनी ६ पटक, काठमाडौंदेखि दोलखा ३ पटक र काठमाडौंदेखि पोखरा १ पटक दौडिसकेका छन् । त्यस्तै, कार्कीले काठमाडौंदेखि भारतको उत्तर प्रदेश र भुटानको सिमाना फुन्चुलिङ पनि दौडेर पुगेको जानकारी दिए ।