तिहारमा सकेजति बत्ति बाल्न पाइने

तिहारमा सकेजति बत्ति बाल्न पाइने


– छविलाल बगाले

यसपटकको तिहारमा विद्युत् उपभोग भरपूर गर्न पाइने भएको छ । नेपाल विद्युत् प्राधिकरणले पर्याप्त विद्युत् रहेकाले उपयोग बढाउन आग्रह गरेको हो । तीन वर्षअघिसम्म १८ घन्टासम्म लोडसेडिङको मार खेप्न बाध्य नेपालीका लागि यसपटक भने पर्याप्त विद्युत् उपयोग गर्न प्राधिकरणले नै आग्रह गरेको छ । प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका लागि १ हजार २ सय ५० मेगावाट विद्युत् तयारी अवस्थामा राखेको छ ।

प्राधिकरणले तिहारमा १ हजार २ सय मेगावाटसम्म विद्युत् खपत हुने अनुमान गरेको छ । त्यसका लागि प्राधिकरणले १२ सय ५० मेगावाट तयारी अवस्थामा राखेको छ । गत वर्ष मात्र १ हजार १ सय ६५ मेगावाट विद्युत् खपत भएको थियो । बितेको तीन वर्षमा विद्युत् आपूर्तिमा धेरै सुधार आएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीको भनाइ छ । ‘केही वर्ष अघिसम्म झिलिमिलीको पर्व तिहार अन्धकारजस्तै हुने गर्दथ्यो ।’ उनले भने, ‘विगत तीन वर्षयता नेपालीको तिहार झिलिमिली भएको छ ।’

त्यसो त नेपालमा अहिले करिब १ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुन्छ । यसमध्ये नेपाल विद्युत् प्राधिकरणसँग ५ सय ८ मेगावाट, निजी क्षेत्रका प्रवद्र्धकले उत्पादन गरेको ५ सय १२ मेगावाट विद्युत् छ । कुल मागको केही अंश नपुगेपछि सरकारले भारतबाट पनि ३ सय ५० मेगावाट विद्युत् आयात गर्दै आएको छ । ‘हामीसँग भएको विद्युत्ले आन्तरिक उत्पादन धान्नेछ,’ प्रवक्ता अधिकारीले भने, ‘तिहारमा हामी उद्योगहरूलाई पनि विद्युत् उपलब्ध गराउनेछौँ ।’

तिहारका बेला विद्युत् परिपथमा कुनै पनि समस्या आउन नदिन प्राधिकरण तैनाथी अवस्थामा रहेको छ । गत वर्ष लक्ष्मीपूजाका दिनमा भक्तपुर सबस्टेसनमा आएको समस्यालाई मध्यनजर गर्दैै प्राधिकरणले ट्रान्सफर्मरको मर्मतसम्भार, सबस्टेसनको मर्मतदेखि अधिक क्षमता भएका स्थानमा लोड व्यवस्थापनसम्मका काम अघि बढाएको छ ।

प्राधिकरणले तिहारलाई झिलिमिली बनाउनका लागि ओभरलोडेड फिडरलाई सार्ने, ट्रान्सफर्मरको मर्मतसम्भार, बुस कटिङ गर्नेजस्ता काम थालेको छ । प्राधिकरणका अनुसार गत वर्षदेखि नै बन्द अवस्थामा रहेको चपलीदेखि महाराजगञ्जसम्मको ११ केभी अन्डरग्राउन्ड डबल सर्किट विद्युतीय लाइनलाई सञ्चालन गर्ने र बढी लोड भएको भक्तपुर सबस्टेसनमा कप्लर चालू गर्ने जनाएको छ । यसका साथै सबैतिर विद्युत् पुऱ्याउनका लागि वैकल्पिक उपायको तयारीमा समेत प्राधिकरण छ ।

लैनचौर फिडरलाई बालाजु र न्यू चाबेलसँग जोड्ने, हेटौँडास्थित १४ मेगावाटको डिजेल प्लान्ट र दुहबीको ३९ मेगावाटको मल्टिफ्युल प्लान्टलाई तयारी अवस्थामा राख्ने र आवश्यक परे भारतबाट थप विद्युत् ल्याउने तयारीका साथ पूर्वाधार निर्माण गर्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभरका कर्मचारीहरूलाई निर्देशनसमेत दिइसकेका छन् ।

तिहारको समयमा देशभर विद्युत् कटौतीको समस्या नआओस् भन्दै प्राधिकरणले देशका सबै नो लाइट केन्द्रलाई तयारी अवस्थामा राखेको छ । अघिल्ला वर्षमा तिहारका बेला उद्योगधन्दामा लोडसेडिङ भए पनि यसपटक भने आवश्यक परेको बेला उद्योग चलाउन सकिने भएको छ ।