काङ्ग्रेस आन्तरिक सुधारमा केन्द्रित, विजय गच्छदार उपसभापति बन्दै

काङ्ग्रेस आन्तरिक सुधारमा केन्द्रित, विजय गच्छदार उपसभापति बन्दै


विपक्षी भूमिकामा चिसो देखिएको नेपाली काङ्ग्रेस आन्तरिक गृहकार्यमा रुमल्लिएका कारण भूमिकाहीनझैँ देखिन पुगेको छ । काङ्ग्रेस यतिबेला पार्टीको विधान परिमार्जन गर्ने र महासमितिको बैठक आयोजना गर्ने तयारीमा जुटेको छ ।

आगामी मङ्सिरको ५ देखि ९ गतेसम्म हुने महासमिति बैठक काठमाडौंको भृकुटीमण्डपमा गर्ने निर्णय गरिएकोमा त्यसको ठोस तयारी भइसकेको छैन । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले विधानको खाका तयार गरिसकेको भए पनि कतिपय प्रावधानमा प्रमुख नेताहरूबीच सहमति भएपछि मात्र विधानले अन्तिम रूप लिने बताइएको छ । नेताहरू जुट्न नसकेकोले विधानलाई अन्तिम रूप दिने कार्यले गति लिन सकेको छैन । तर, यसै साता नेताहरू जुट्ने र खासखास विषयहरूमा सहमति बन्ने विश्वास गरिएको छ ।

विधान समितिले तिहारअघि नै विधानलाई अन्तिम रूप दिने योजना बनाएको छ र, त्यसपछि मात्र काङ्ग्रेस महासमिति बैठकको अन्तिम तयारीमा लाग्ने बताइएको छ । तथापि, कतिपयले महासमिति बैठक पुनः सार्ने षड्यन्त्र भइरहेको आशङ्का गरेका छन् । महासमिति बैठकले विधान पारित गर्ने र नयाँ विधानअनुरूप साङ्गठनिक संरचना तयार गरिने बुझिएको छ ।

नयाँ विधानमा पदाधिकारीहरूको सङ्ख्या बढाइने भएको छ । उपसभापतिको सङ्ख्या कम्तीमा दुईदेखि बढीमा तीनसम्म पुऱ्याउने सोच काङ्ग्रेस नेतृत्वले बनाएको छ । उपसभापतिको सङ्ख्या बढाउने निर्णयसँगै नेता विजयकुमार गच्छदारलाई उपसभापतिमा नियुक्त गरिने निश्चित भएको छ । गच्छदारले आफ्नो समूहलाई काङ्ग्रेसमा विलय गराउने निर्णय गरेकै बेला उनलाई उपसभापति बनाउने सहमति उच्च तहमा बनेको थियो । तीन उपसभापति रहने व्यवस्था भएमा गोपालमान श्रेष्ठले समेत उपसभापतिको जिम्मेवारी पाउन सक्ने बताइएको छ । त्यस्तै, हाल काङ्ग्रेसमा पचासीजनाको कार्यसमिति रहेकोमा त्यसलाई पनि बढाएर कम्तीमा डेढ सयको हाराहारीमा पुऱ्याउने सोच काङ्ग्रेस नेतृत्वले बनाएको छ ।

यसरी नयाँ विधान र विधानबमोजिम नयाँ साङ्गठनिक संरचना बनाउन लागिएको भए पनि वैचारिक सुधार गर्ने मामिलामा भने उदास रहेको छ । नेतृत्वले वैचारिक सुधारको कुनै सङ्केत अहिलेसम्म दिएका छैनन् र, अन्य नेताहरूले पनि वैचारिक सुधारका निम्ति कुनै तत्परता लिएका छैनन् । त्यसैले विधान नयाँ आए पनि काङ्ग्रेसले नयाँ दिशा स्पष्ट गर्ने र गति बढाउने सम्भावना देखिएको छैन ।