नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १२ दिन लामो तीर्थयात्रा सकेर काठमाडौं फर्किएका छन् । नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउन विशेष भूमिका निर्वाह गर्ने पौडेलले बाह्र दिनमा नेपाल र भारतका महत्वपूर्ण तीर्थस्थलहरूको भ्रमण गरेका छन् ।
पौडेलले पशुपतिनाथ र मुक्तिनाथबाट लगेको जल गयामा चढाउँदै पितृ तर्पण दिएका थिए । उनले भारत उत्तराखण्डमा अवस्थित प्रसिद्ध तीर्थस्थल केदारनाथ र बद्रीनाथमा पनि पितृ तर्पण दिएका छन् ।
तीर्थयात्राका क्रममा नेता पौडेलले योगगुरु रामदेव र आचार्य बालकृष्णसँग छुट्टाछुट्टै भेट गरेका थिए । उनी मंगलबार (कात्तिक १२ गते) काठमाडौं फर्किएका छन् । पौडेलसँगै उनकी धर्मपत्नी सविता पौडेल र सुपुत्र चिन्तन पौडेल पनि स्वदेश फर्किएका छन् ।
काङ्ग्रेसमा समाजवादी चिन्तकका रूपमा समेत चिनिने पौडेल धर्म–परम्पराप्रति निरपेक्ष मानिन्थे । पचहत्तर वर्ष उमेर पुगेसँगै पौडेल तीर्थयात्रामा जानुले पनि धार्मिक व्यवहारतर्फ ढल्कन थालेको सङ्केत दिएको छ ।
प्रतिक्रिया